गमक पोष्ट समाचारदाता / लहान, २२ बैशाख । राजा दशरथके चारु ललनमा,
हो आगंनमामे खेलै........
राजा लुटावे अनधन सोनमा
रानी लुटावै हाथके कंगनमा हो
आगंनमामे खेलै.......
यस्तै कर्ण प्रिय गीत गाउदै काधमा ठुलो झोला अनि हातमा ढोलक र झुनझुना (झाइल) लगायतका आफ्नै परमपरागत बाजाहरुको तालमा गीत गाउदै गाउँघर पुग्ने पमरिया पेशा संकटमा परेपछि धेशको पुरानो जाती पलायन हुन थालेका छन् । बच्चा जन्मेको थाहा पाउने बितिकै गीत गाँउदै बधाई दिन पुग्ने पमरियाहरुको पेशा संकटमा परेपछि उनीहरु पलायन हुन थालेका हुन् ।
पुस्तौ देखि निरन्तरता दिदै आएको पेशाबाट हातमुख जोर्न पनि धौधौ पर्न थालेपछि आफनो पेशाबाटै पलायन हुन थालेको पमरियाहरुले गुनासो छ । ‘परम्परागत पेशा गरेर पेट पाल्न सकिदैन, अरु रोजगार गर्नका लागि आवश्यक सिप र स्रोत साधन चाहिन्छ, ६५ वर्षिया इजराइल पमरियाले सुनाउदै भने, ‘कहाँ जाउ के गरुको अवस्था सृजना भएको छ, हाम्रो अस्तित्व नै मेटिने पो हो कि भन्ने चिन्ताले सताएको छ ।’
तराई मधेशको सिरहा, सप्तरी, धनुषा, महोतरीमा रहेका अल्पसंख्यक पमरियाहरु कसैको घरमा बच्चा जन्मे लगतै त्यहा पुगेर बच्चाको बाबु, आमा लगायतका आफन्तहरुलाई गीत संगीतको माध्यमले बधाई दिदै लोक गाथा सुनाउने गरेकोे बडियारपट्टीका कमलेश यादवले बताए । त्यस वापत घरमुलिले खुशि भएर दिने गरेको नगद, वस्त्र, गहना, अन्नपात र भँडाकुँडा नै उनीहरुको आम्दानी हुने गरेको छ ।
झण्डै एक दशक अघिसम्म घरमुली जसलाई स्थानिय भाषामा (गिरहत) को घरमा पुगेर गीत गाँउदा सुनचाँदी समेत पाइन्थ्थयो । ति पुराना दिनहरु सम्झिदै इजराइलले भने अचेल गहना त परै जाओस अन्नपात र लुगाफाटा पनि पाइदैन । अलिअलि अन्नपात र सधारण भाँडाकुँडामै चित बुझाउनु परेको छ । आफनो गाँउठाँउमा पेशा चल्न छाडेपछि अचेल भारतको कटिहार, दरभंगा, मधुवनी लगायत स्थानमा पुगेर गीत गाँउने गरेको अर्का पमरिया इद मोहमदले बताए । ‘हामीलाई पुख्यौली पेशा छाडने रहर छैन; उनले भने ‘तर के गर्नु यहाँ पेशा नै चल्दैन ती ठाउँहरु गएर गाँउने गरेका छौ ।’ बुढाहरु गाँउने पेशालाई चटक्कै नछाडेपनि युवाहरु भने रोजगारीका लागि भारतीय सहर दिल्ली, पञ्जाव जाने गरेको उनले बताए ।
प्राय भूमीहिन रहेका पमरियाको बैकल्पिक रोजगारीको व्यवस्था नभएका कारण उनीहरुलाई जीविकोर्पाजनमा समस्या परेको लहान स्थित रहेको लिटिल स्टार उच्च माविका प्रिन्सिपल जय प्रकाश चौधरीले बताए । पमरियाहरुको बारेमा चौधरी भन्छन् अधिराज्य मै सबै भन्दा बढि पमरियाको बसोबास सप्तरीको पकरीमा छ तर रोजगारको अवसर नभएका कारण उनीहरु विस्तारै हुदै गएका छन् ।
सुविधा र पहिचानबाट समेत वञ्चित पमरिया समुदायबाट एक जना पनि हाल सम्म एक जना पनि प्रवेशिका परिक्षा उर्तिण गर्न सकेका छैन । गाँउगाँउ चहारेर बधैया, कवाली, सोहर, समदाओन, खेलौना, नटवा, दयालसिह लगायतका जस्ता लोकगाथा सुनाउदा पनि सन्तोषजनक आम्दानी हुन छाडेको अर्का पमरिया नजमसल खातुनले दुःखेसो पोखे । यो पेशाले पेट भर्न छाड्यो उनले भने हामीलाई पनि नेपाल सरकारले दलितहरु जस्तै छुटै बजेटको व्यवस्था गर्नु प¥यो । अल्पसंख्यक र फरक पेशा अंगाल्ने भएपनि अहिले सम्म छुटै पहिचान नभएकोमा समेत पमरिया समुदायि दुःखी छन् ।























