काठमाडौं, २५ भदौ। राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद अमरेशकुमार सिंह फेरि एकपटक प्रधानमन्त्री बालेन्द्र शाहप्रति खनिएका छन्। बालेन सरकार बनेयता निरन्तर विरोध गर्दै आएका उनले बिहीबार प्रतिनिधिसभा बैठकमा बालेनको सत्तालाई ‘तासको घर’ को संज्ञा दिए।
सिंहले सरकारको केन्द्र सिंहदरबार नभएर ज्वागल भइरहेको आरोप लगाएका छन्। उनले संविधानअनुसार, सरकार नचलेको बताए। ‘संविधानअनुसार सरकार चलिरहेको छैन। हामीले अहिले अर्को संविधानको कल्पना पनि गरेका छैनौँ,’ उनले भने।
सल्लाहकारका कारण सरकारको केन्द्र अन्तै भइरहेको उनको भनाइ थियो। ‘उहाँको सल्लाहकार हार्वर्ड, अक्सफोर्ड र क्याम्ब्रिज पढेको होइन होला,’ सिंहले भने, ‘सरकारका केन्द्र मैले सिंहदरबार हुन्छ भन्ने बुझेको छु। तर सरकारका केन्द्र ज्वागल बनेको छ। हुकुमी शासन चलिराछ।’
प्रधानमन्त्री शाहका प्रमुख राजनीतिक सल्लाहकार कुमार बेनलाई इंगित गर्दै उनले सरकार बदनाम भइरहेको बताए। बेन ललितपुरको ज्वागलमा बस्छन्। सिंहले बेन केही समयअघि नयाँदिल्ली पुगेर लिजा होटलमा बसेको पनि रहस्य खोले।
सरकारले संविधानका आधारभूत स्तम्भमाथि आक्रमण गरिरहेको उनको आरोप छ। ‘चुनावी मैदानमा जाँदा र हामी संविधान बदल्छौँ त्यो भनेका थिएनौँ,’ उनले भने, ‘सरकारले गणतन्त्र, संघीयता, समावेशिता, धर्मनिरपेक्षतामाथि प्रहार गरिरहेको छ।’
(न्यूज कारखानाबाट)






















