सिरहा, २४ भदौ । सम्पूर्ण मिथिला क्षेत्रकै पवित्र पर्व ‘जितिया’ आजबाट धार्मिक विधिअनुसार आरम्भ भएको छ । विशेष गरी सप्तरी, सिरहा, धनुषा, महोत्तरीलगायत मिथिलाञ्चल क्षेत्रमा आज नहा खा (नुहाएर खानु) विधिअनुसार सुरुहुन लागेको हो ।
व्रत बस्नुअघि आज महिलाहरुले नदी, पोखरी वा तलाउमा नुहाएर सोही ठाउँमा घिरौँलाको पातमा भगवान् जिमुतवाहन र दिवङ्गत पितृलाई चिउरा, दही, अमोट (आँपको रसलाई सुकाएर तयार पारिएको एक प्रकारको खाद्य पदार्थ) र खरी (पिना) प्रसादका रूपमा चढाई आफू पनि खाने र परिवारका सबै सदस्यलाई खुवाउने गर्दछन् ।

त्यसैगरी भोलि (बिहीबार) बिहान चार बजेदेखि उपवास (निराहार एवम् निर्जला) व्रत बसी पर्सि (शुक्रबार) बिहान व्रत सम्पन्न गर्ने परम्परा छ । बर्तालुहरु आफ्ना नजीकका पवित्र पोखरी, तलाउ, सरोवर र नदीमा स्नान गरेर जिमुतवाहनको कथा सुन्ने गर्दछन् । यस्तोमा पाकाले भन्ने र तन्नेरीले सुन्ने चलन छ ।
व्रत बस्नु अघिल्लो दिनमै (आज) बर्तालुले विभिन्न जलाशयमा स्नान गरी घिरौँलाको पातमा पिना, सक्खर र तोरीको तेल सहितका पदार्थ चढाउने थर्दछ । देवतालाई चढाएकै तेल मध्येबाट आ–आफना शाखा सन्तानलाई पनि लगाउन दिनुपर्ने लोकमान्यता रहेको छ ।

119059884_2463226083979745_675206809014912096_n

आज पूजापछि कोदोको रोटी, नुनीको साग र माछा खाने चलन छ जसलाई स्थानीय भाषामा ‘माछ मरुवा’ भनिन्छ । त्यसैगरी विधिअनुसार भोलि एकाबिहानै काग कराउनुभन्दा पहिल्यै व्रती महिलाहरु ओंगठन सम्पन्न गर्नुपर्छ अर्थात केही खानेकुरा ओठमा लगाउनुपर्छ तर यसपल्ट ओंगठन खाने साइत नरहेको बताइएको छ ।
यसपटक आज राति १० बजेभन्दा अगाडि नै व्रतीहरुले खानुपर्ने सबै खानेकुरा खाइसक्नुपर्छ र भोलि बिहान केहि खाँदैनन । प्रायः जसो महिलाले ओंगठनमा दही च्युरा खाने गरेको पाइन्छ । त्यसपछि शुरु हुन्छ कठिन उपवासको क्रम । आश्विन कृष्णपक्षको अष्टमीको दिन मनाइने यो व्रत विशेष कठिन रहेको व्रतालु शिवो देवी यादव बताउँछिन् ।
सन्तानको दीर्घ जीवन, पुत्र प्राप्ति तथा पारिवारिक सुख शान्तिका लागि मनाइने जितिया पर्वको धार्मिक सांस्कृतिक तथा तान्त्रिक महत्वसमेत रहेको व्रतालु यादबले बताइन ।

किन मनाइन्छ जितिया पर्व ? यस्ता छन् पौराणिक प्रसङ्ग

पितृ पक्षमा मनाइने पर्वमा महिलाले आफैँले दिवङ्गत पितृलाई पिण्ड चढाउँछन् । मिथिलाञ्चलमा मनाइने व्रतमध्ये जितिया व्रतलाई पवित्र व्रतको रूपमा मानिन्छ । उपवास बसेका दिन महिलाहरुले डकार गरे अथवा मुखले खकार वा जिब्रो टोके भने व्रत असफल भएको मानिन्छ । त्यसैले होला यस पर्वलाई खड् जितिया पनि भनिन्छ ।
फेरि एकपटक असफल भएकी वा बर्तवस्न छुटेकी व्रती आजीवन व्रत बस्न नपाउने मान्यता रहेको छ । राजा शालिवहानको राज्यमा एउटी महिलाका सात छोरालाई दैत्यले उठाएर लगेपछि राजाले सातै छोरालाई दैत्यबाट फिर्ता ल्याइदिएका कारण महिलाले त्यस दिन देखि शालिवहानलाई ‘जिमतुवाहन’ नामकरण गरी राजाको सम्झनामा उपवास बस्न थालेकाले यो व्रत शुरु भएको पौराणिक कथन छ ।

को हुन जिमूतवाहन ?

भविष्यपुराणमा उल्लेख गरिएअनुसार राजा शालिवानका पुत्र जिमूतवाहनमाथि महादेवको असिम कृपा थियो । महादेवले नै जिर्मूतवाहनलाई बरदान दिएकाले सन्तानको अकाल मृत्युबाट बचाउनका लागि जितिया पर्वमा जिर्मूतवाहनको पूजा गरिन्छ । हिन्दूधर्ममा विभिन्न जनाबर र चराको विशेष महत्व दिएर पूजापाठ गर्ने परम्परा छ । गाई, परेवा, काग, कुकुर, हाँस, बाघ र मुसो लगायतको पूजा गरिन्छ भने यस पर्वमा स्यालनी र चिलको पूजा गर्ने गरिएको हो ।

वर्त बसेको दिनमा वर्तालु महिला जलाशयमा स्नान गरी सूर्यदेवलाई अघ्र्य अर्पन गर्छन् । त्यसपछि, घर पुगेर डाली (टोकरी) भर्ने नियम रहेको छ । सो डालीमा फलपूmल, मिठाइ र नरिवल राखेर नयाँ बस्त्रले छोपेर पूजास्थलमा राख्ने गरिन्छ । पर्व सम्पन्न भएपछि नवमी तिथिमा पूजापाठ गरेर छोराछोरीबाट कपडा हटाएर प्रसादको रुपमा ग्रहण गरिन्छ ।

उपवासको दिन वर्तालुका साथै महिला एक ठाउँमा भेला भएर जितिया पर्वको कथा अनिवार्य रुपमा श्रवण गर्ने गरिन्छ । कथा श्रवण गरेर घर फर्केपछि आगनमा गाईको गोबरले लिपपोत गरी महादेवले पार्वतीलाई सुनाएको पूजाको विधिअनुरुप जिर्मूतवाहनको पूजा गर्छन् ।