आशिष विश्वकर्मा
सिरहा, २५ साउन। विकासको नाममा खेत खेतमा पीच र ढलान बाटो पुगेको सिरहा बरियारपट्टी गाउँपालिका १ गडगम्माको महराटोलभने अझै आलीको बाटो भएर पुग्न पर्छ। राज्यसँग सिधा पहुँच नभएका यहाँका बासिन्दा स्थानीय सरकारको अक्रमण्यताका कारण बाटो विहिन भएको हो।
बस्तीको चारैतर्फका सडक आरसीसी ढलान भएका छन्। यहि दलित बस्तिमा भने विरामी पर्दा एम्वुलेन्स पुग्ने बाटो समेत छैन। दलितलाई भोटबैंकमात्र ठान्ने स्थानीय राजनीतिक दल, बाटो वरपर खेतभएका व्यक्तिको दलित प्रतिको हेपहा प्रवृतिलेगर्दा करिव २० घर दलित परिवार आजसम्म पनि ‘आलि’कोबाटो हिड्न बाध्य छन्।
कोही विराम भए गाउँसम्म एम्वुलेन्स समेत नपुग्ने स्थानीय ७० वर्षिय रतिलाल राम बताउँछन्। ‘यो चार पुस्ता पुरानो बस्ती र बाटो हो, यो भन्दा नयाँ बस्तीका बाटाहरु ढलान र कालोपत्रे भएका छन्। यहाँभने विरामी पर्दा एम्वुलेन्स छिर्ने ठाउँ समेत छैन; रामले भने, ‘केही दिन अघि गाउँकै बुहारीलाई सुत्केरी व्याथाले चाप्यो, एम्वुलेन्स बोलायौं, गाउँमा एम्वुलेन्स पस्न सकेन, दुई सयमिटर पर घिसार्दै लग्नु पर्यो, ‘यो हाम्रो वर्षौंदेखिको नियती हो।’
रामले भने, ‘हामीले बाटो विस्तारका लागि गाउँमै पटक पटक छलफल गरायौ, जनप्रतिनिधीलाई धेरैपटक गुहार्यौं, तर अझै बाटो बनेन, बन्ने छाटकाँट पनि छैन।’
बाटो नहुँदा विवाह, वर्तबन्द गर्दा, नयाँ घर बनाउन समस्या हुने गरेको बस्तीकै ३६ वर्षिय संजित महराले दुखेसो पोखे। निर्माण सामाग्री भन्दा भाडा महँगो पर्ने भएपछि हामीले घर बनाउने हिम्मत समेत गर्न सकिरहेका छौनौं। उनले भने, ‘हामी अझै पनि माटोकै घरमा बसिरहेका छौं। कसै–कसैले पक्की घर बनाउन खोजेपनि ढुवानीकै कारण घर बनाउन सक्ने अवस्था छैन।’
घर निर्माण सामाग्री बस्तीभन्दा दुई सय मिटर परै राखेर मानिसले टाउकोमा बोकेर ओसार्नु पर्दा खर्च बढीलाग्ने संजितले सुनाए। उनले भने, ‘हाम्रो घरसम्म चारचक्का आईपुग्ने बाटो छैन, अरुको घर अगाडी बाटोमा निर्माण सामग्रि झार्नु पर्छ, परबाट मानिसले ओसार्नु पर्दा ढुवानी खर्च नै बढी लाग्ने गरेको छ।’
उनले आफैले सामान्य शौचालय बनाउदामात्र ३ लाख भन्दा बढी खर्च लागेको बताए। घर निर्माणमात्र हैन विवाह बटुलगर्दा पनि दुलहा दुलहीलाई घरसम्म हिडाएर ल्याउनु र लैजानु पर्ने बाध्यता रहेको सुनाए।
बाटो निर्माणको लागि आफूहरुले धेरै पटक प्रयास गरेपनि कुनै शिप नचलेको स्थानिय ४३ वर्षिय शिबु महराले बताए। उनले गाउँपालिका अध्यक्ष सन्तोष कुमार महतो, वडाअध्यक्ष र पार्टीका नेताहरु गुहारेर थकीत्त भएको बताए। बाटो बन्ने आशा मारिसकेको भन्दै शिवुले निराशा व्यक्त गरे।
गाउँ प्रवेश गर्ने बाटोको दुवै तर्फ स्थानीय शैलेन्द्र र महेन्द्र यादवका जमिन छ। उनीहरु बाटोमा आफ्नो जमिन दिन तयार छैनन्।
पालिका पनि दलित बस्तीको बाटो निर्माणमा उदासिन रहेको स्थानीय बुद्धिजीविहरु बताउँछन्। उनीहरु भन्छन्, प्रत्यक नागरिकको घरसम्म बाटो, विजुली, पानी पुर्याउने राज्यको दायित्व हो। तर यहाँको स्थानीय सरकार दलित वस्तीको बाटो विस्तार गर्ने विषयमा गम्भिर छैन। गाउँपालिका अध्यक्ष सन्तोष कुमार महतोको दोस्रो कार्यकाल भएपनि यहाँको दलितहरुले बाटो नपाउनु दुखद विषय भएको बुद्धिजीविहरुको कथन छ।
पालिका अध्यक्ष महतोले सडक किनारका जग्गाधनी जग्गा दिन तउा नहुँदा बाटो विस्तारमा समस्या भएको भन्दै पन्छिए। उनले आफूले धेरै पटक बाटो विस्तारका विषयमा छलफल गरेपनि जग्गाधनीसँग सहमति हुन नसकेको बताए। उनले भने, ‘मैले बाटो विस्तारको विषयमा ३–४ पटक सामाजि स्तरमा छलफल राखें, जग्गाधनीहरु सहमत हुन नसक्दा बाटो विस्तार हुन सकेन।’
दुई दुई कार्यका अध्यक्ष हुनुभएका तपाईंले दलित बस्तीमा बाटो पुर्याउन चाँसो नदिएको हो? भन्ने प्रश्नमा अध्यक्ष महतोले आफूले प्रयास गरेपनि नसकेको सुनाए। उनले मैले व्यक्तिगत रुपमा प्रयास गरिरहेको छु। दलित बस्तीकाहरुले पनि पहल गर्नु पर्नेमा जोड दिए।