ज्ञान कुमार राय

गोलबजार, २५ बैशाख। सिरहाको गोलबजारस्थित जनता माध्यमिक (प्राविधिक) विद्यालयले पाठ्य पुस्तक खरिद प्रकृयामा अनियमिता गरेको पाइएको छ। खरिद नियमावली उलङ्घन गर्दै यस विद्यालयले व्यवसायीसँग आर्थिक चलखेलमा पुस्तक खरिद गरेको पाइएको हो।  

SHREEJANA SCHOOL GBR6

सिरहाको लहान नगरपालिका ४ स्थित मनिष पुस्तक पसलले एक महिना अघि नै पाठ्यपुस्तक विद्यालयमा पठाएको छ। विक्रेताले एक महिना अघि नै पुस्तक विद्यालयमा पठाएको भएपनि विद्यालयले भने गत शुक्रवारमात्र पाठ्य पुस्तक खरिद गर्ने निर्णय गरेको छ। यो निर्णय प्रकृयाले अनियमिताको सङ्केत गरेको छ। 

खरिद नियमावली अनुसार पाँच लाखभन्दा बढी मूल्यको समाग्री खरिद गर्दा प्रतिस्पर्धाबाट खरिद गर्नुपर्ने कानुनी व्यवस्था भएपनि विद्यालयले त्यस्तो प्रकृया नअपनाएको त्यहि कार्यरत एक शिक्षकले जानकारी दिए। नाम प्रकाशन नगर्ने सर्तमा ती शिक्षकले भने, ‘विद्यालयमा पहिला नै पुस्तक आई सकेको थियो। तर, गत शुक्रवारमात्र प्रधानाध्यापक वीरेन्द्र प्रसाद यादवले स्टाप बैठक गरेर पुस्तक खरिद निर्णय गरेको छ। यसले खरिद प्रकृयामा अनियमिता भएको हुन सक्छ।’ 

प्रधानाध्यापक यादवले आफू नयाँ भएकोले केही प्रकृयागत त्रृटिहरु भएको स्वीकार गरेपनि प्रतिस्पर्धाबाटै पुस्तक खरिद गरेको जिकिर गरे। उनले भने, ‘म नयाँ भएकोले केही त्रृटि भएको हुनसक्छ, तर मैले प्रतिस्पर्धाबाट नै पुस्तक खरिद गरेको हुँ।’

प्रतिस्पर्धाको आधारमा सवैभन्दा कम मूल्यमा विक्रिगर्ने विक्रेतासँग पुस्तक खरिद गरेको प्रधानाध्यापक यादवले जिकिर गरेको छ। तर उनले कति मूल्यमा खरिद गरेको हो? भन्ने प्रश्नको उत्तर दिनुभएन। 

विक्रेताले भने त्यस्तो कुनै प्रतिस्पर्धा नभएको जनाए। उनले भने, ‘त्यस्तो प्रतिस्पर्धा भन्ने केही होइन, हामी पुस्तक खरिद गर्ने विद्यालयलयलाई १–५ कक्षासम्म्मको पाठ्यपुस्तकमा १० देखि १२ प्रतिशत र ६–१० सम्मको पाठ्यपुस्तकमा ३ प्रतिशतसम्म रकम सहयोगको रुपमा फिर्ता दिन्छौं। कतिपय प्रधानाध्यापकहरुले नगदै लिनु हुन्छ। कतिपयले प्रधानाध्यापकले विद्यालयकै खातामा हाल्न लाउनु हुन्छ। हामीले पनि सहयोगको रुपमा दिन्छौं।’

अनि यो कसरी प्रतिस्पर्धा भयो? भनि पुस्तक व्यवसायी रंगलाल साहसँग पुनः प्रश्न गर्दा उनले भने, ‘हामीले उधारोमा पाठ्यपुस्तक दिन्छौं। अहिले नै यति छुट दिने भन्ने हुँदैन। उहाँहरुले असारमा पाठ्यपुस्तकको रकम दिनुहुन्छ। त्यसपछि हामीले विद्यालयलाई सहयोग स्वरुप रकम दिन्छौं। यहाँ यस्तै चलन छ।’

विद्यालयका प्रधानाध्यापक यादव र विक्रेताको भनाईले पनि पुस्तक खरिदमा आर्थिक चलखेलको संकेत गर्छ। यस विद्यालयमा करिव एक हजार चार सय विद्यार्थी अध्ययनरत छन्। ति विद्यार्थीका लागि १० लाखभन्दा बढी मूल्यको पाठ्यपुस्तक खरिद गर्नुपर्ने हुन्छ।