रौतहट, ५ असोज। रौतहट प्रहरीले काउली बोकेको पिकअप भ्यानमा लुकाई छिपाई भारत तर्फ लैजाँदै गरेको अवस्थामा ठूलो परिमाणमा लागू औषध गाँजा बरामद गरेको छ। भारतीय सीमानासंग जोडिएको ईशनाथ नगरपालिका ८ मोतिपुर हुँदै सीमानातर्फ जाँदै गरेको पिकअप भ्यान प्रदेश ३–०१–०२२ च १८६१ बाट ३ सय ३४ केजी गाँजा बरामद गरिएको हो।
प्रहरी चौकी रामपुरका प्रमुख असई आमोद साफीको नेतृत्वमा खटिएको प्रहरी गस्ती टोलीले राति करिब ८ बजे चेकजाँचका क्रममा गाँजा फेला परेको जिल्ला प्रहरीका सूचना अधिकारी डीएसपी राजु कार्कीले जानकारी दिए।
मोतिपुरबाट जटहरातर्फ गइरहेको उक्त पिकअप गाडीमा माथिल्लो भागमा करिब २० पोका काउली लोड गरिएको थियो। कालिले छोपेर तल्लो भागमा २६ पोका गाँजा भेटिएको प्रहरीले जनाएको छ।
गाडी चालक भने प्रहरी देख्ने वित्तिकै फरार भएका कारण प्रहरीले प्रहरीले जनाएको छ। प्रहरीले गाडी नियन्त्रणमा लिएर चालकसहित कारोवारमा संलग्न अन्यको खोजी कार्य तीव्र पारेको प्रवक्ता कार्कीले जानकारी दिए।
हालैको जेन–जी आन्दोलनका कारण प्रहरी युनिटमा भएको जनधनको क्षतिपछि गस्तीमा कमी आउन थालेको मौका छोपी तस्करले गाँजा तस्करीमा सक्रिय भएको प्रहरीको बुझाई रहेको छ।