राकेशप्रसाद चौधरी
भारतको उत्तर प्रदेशमा पर्ने धार्मिक एवं साँस्कृतिक ठाउँ हो वनारस । वनारसबाट नै नेपाली छापा पत्रकारिताको सुरुवात भएको थियो । नेपाली छापा पत्रकारितो मात्र होइन, मैथिलीको पनि सुरुवात यही ठाउँबाट भएको पाइन्छ । युवककवि मोतिराम भट्टको सक्रियतामा १९४८ सालमा यसै ठाउँबाट ‘गोर्खा भारत जीवन’ प्रकाशित भएको थियो । नेपालीपछि सबभन्दा बढी बोलिने मैथिली छापा पत्रकारिताको इतिहास खोतल्दा भारतको राजस्थानबाट सन् १९०५ मा ‘मैथिल हीत साधन’ र सन् १९०६ मा बनारसबाट ‘मिथिला मोद’ पत्रिका प्रकाशन भएको पाइन्छ । यी पत्रिकाहरू पनि साहित्यिक नै थिए ।
‘मिथिला मोद’का सम्पादक मुरलीधर झा र ‘मैथिल हीत साधन’ का सम्पादक मधुसुदन झा थिए । यी सम्पादकहरू नेपालका मैथिली भाषी थिए वा भारतीय यसबारे हालै प्रेस काउन्सिल नेपालले प्रकाशन गरेको नेपालीय मैथिली छापा पत्रकारिताको इतिहास ९वि।सं। २०१४–२०७७० मा उल्लेख भएको पाइँदैन । यसै वर्ष नेपाल प्रेस काउन्सिलले मैथिली भाषाको छापा पत्रकारिता इतिहास खोजेर बाहिर ल्याएको हो । यस पुस्तकका लेखक धर्मेन्द्र झा हुनुहुन्छ ।
पुस्तक लेख्ने क्रममा उहाँले मैथिली भाषाका क्रियाशील पत्रकार एवं इतिहासकारहरू सँगको साक्षात्कारमार्फत जानकारी सङ्कलन गर्नुभएको छ । मैथिली भाषाको अध्ययन गर्न धेरैले काठमाडौँ उपत्यका र यो भाषा जीवन्त रहेको क्षेत्र रोज्ने गर्छन् । मल्लकालीन समयमा उपत्यकाभित्र पनि मैथिली भाषाको प्रयोग हुन्थ्यो । त्यतिबेला यो भाषा सरकारी कामकाजको भाषा रहेको जानकारी धेरैलाई थाहा नहुन सक्छ । त्यतिबेलाका शासक जगतप्रकाश मल्ल, प्रताप मल्लहरूको मैथिली भाषाको रचना अझै पाइन्छ ।
प्रेस काउन्सिलले प्रकाशित गरेको यो पुस्तक नै नेपालको मैथिली भाषाको पत्रकारिताबारे लेखिएको सम्भवतः पहिलो पुस्तक हो । पुस्तकमा नेपालको मैथिली छापा पत्रकारिताको सुरुवात २०१४ सालमा भएको उल्लेख छ । त्रैभाषिक ९हिन्दी, मैथिली र नेपाली० ‘नवजागरण’को प्रकाशन महोत्तरी जिल्ला पुस्तकालय सङ्घबाट भएको थियो । महोत्तरी जिल्लाबाट केही भाग छुट्टयाएर २०१८ सालमा धनुषा जिल्लाको घोषणा भयो । त्यस अगाडिका गतिविधिहरूमा महोत्तरी नै उल्लेख छ । हुन त पुस्तकमै मैथिली भाषामा छापा पत्रकारिताको सुरुवात भित्ते पत्रिका किसलय र बालसखाबाट भएको उल्लेख छ । यसको कालखण्डबारेको अध्ययन हुन अझै बाँकी छ ।
‘नवजागरण’ त्रैभाषिक पत्रिका रहेकोले ‘फूलपात’लाई नेपालकै मैथिली छापाको पहिलो एकल पत्रिकाको रूपमा स्वीकार गरिएको छ । सन् १९४७ मा भारत अङ्ग्रेजबाट स्वतन्त्र भयो । यसको एक वर्षपछि समाचारमूलक मासिक पत्रिका ‘स्वदेश’ प्रकाशन हुन थाल्यो । यो पत्रिकाको चर्चा गर्नुको कारण के हो भने यस पत्रिकामा नेपालका मैथिली भाषी पत्रकारहरूले समाचार पठाउने गरेका थिए ।
‘स्वदेश’ पत्रिकाका लागि नेपालका मैथिली भाषाका पत्रकारहरूको समाचार यात्रा तीन महिनामै समाप्त भयो । समाचार लेख्ने र साहित्यिक रचना सम्प्रेषणको लत बसिसकेका पत्रकारहरूले नेपालमै मैथिली भाषाको पत्रिका निकाल्नेबारे योजना बनाउन थालेका थिए । फलस्वरूप २०१२ सालबाट नै आफ्नै मैथिली भाषाको पत्रिका सञ्चालनबारे बहस चल्यो । केही हस्तलिखित पत्रिकाहरू प्रकाशित भए । हुन त हस्तलिखित मैथिली भित्ते पत्रिकाहरूबारे अध्ययन हुन जरुरी छ । भारतीय मैथिली पत्रिका ‘स्वदेश’ बन्द भएको दुई वर्षपछि मात्र ‘नवजागरण’ प्रकाशनको जग तयार भएको थियो । महोत्तरीका पुराना पत्रकार दशरथ भण्डारीले ‘स्वदेश’ पत्रिकामा यस क्षेत्रका पत्रकारहरूले समाचार पठाउने गरेको सुनेको बताए पनि त्यतिबेलाका मैथिली भाषी पत्रकाहरूसँग सम्बन्धित जानकारी सङ्कलन गर्न नसकिएको बताउनुभयो ।
भारतबाट प्रकाशित पहिलो मैथिली भाषी पत्रिकाका सम्पादक वा प्रकाशक नेपालका मैथिली भाषी थिए वा थिएनन्, यस भाषाको पहिलो भित्ते पत्रिका निकाल्ने व्यक्ति को थिए, छापा माध्यमका लागि पहिलो पत्रकार को थिए लगायतका विषयबारे अगामी दिनमा खोजी अनुसन्धान गर्न ढोका चाहिँ यो पुस्तकाले खोलेको छ । गोरखापत्र अनलाईनबाट