भोजपुर, दावाँ बजारको पुरानो बस्ती ।
- पूर्ण पी राई
कुनै वेला पूर्वी पहाडी बासिन्दाको काठमाडौं आउजाउ गर्ने मूल बाटो रहेको भोजपुरको दावाँ बजार पहिले द्वन्द्व, अहिले छेवैको सडकले बिरानो बनेको छ।

चिल्ला ढुंगा छापिएको फराकिलो बाटोको दुवैतिर इँटाको पर्खाल, झिंगटीका छाना रहेका तीन–चारतले घरको लस्कर। प्रत्येक घरमा लहरै ढिक अनि तिनका भित्र अनेक खालका पसल। ठाउँ ठाउँमा ढुंगेेधारा पनि थिए। कक्षा ४ मा पढ्दा पहिलो चोटि दावाँ पुगेको म त्यति धेरै अग्ला घर देखेर छक्क परेको थिएँ। बाटो–पसलभरि बटुवा र ग्राहकको घुइँचो थियो। त्यही बजार अचेल भने सुनसान छ। प्राचीन विरासत बोकेका धेरै घर भत्किसके। बचेखुचेकामा पनि झिंगटीलाई जस्तापाताले विस्थापन गरेको छ। तला घटेका छन्। धेरैजसो खाली छन्। केहीमा कुरुवा मात्र भेटिन्छन्।
दावाँ उति वेला पूर्वी पहाडका बासिन्दाहरू काठमाडौं आउजाउ गर्ने प्रमुख बाटो थियो। पशुपतिनाथका तीर्थयात्री, मुद्दा-मामिला र दरबारमा चाकरीका लागि जानेहरू यही बाटो हिंड्थे। थुनुवालाई यतैबाट लगिन्थ्यो। विसं १९५६ मा श्री ३ देवशमशेर सत्ताच्युत भएर लखेटिंदा दावाँकै बाटो धनकुटा गएका थिए। २०१३ सालमा तत्कालीन राजा महेन्द्र देश भ्रमणमा निस्कँदा पनि यही बाटो हिंडेका थिए।
काठमाडौं उपत्यका बाहिरका पुराना पहाडी बजारमध्ये पनि एक हो, दावाँ। पृथ्वीनारायण शाहको राज्यविस्तार अभियानकै क्रममा स्थापित यो बजार मुलुकमा दशवर्षे द्वन्द्वको आगो दन्किनुअघिसम्म पश्चिमी भोजपुर, उत्तर-पूर्वी खोटाङ र सोलुखुम्बुको प्रमुख बजार थियो। दावाँका पुराना व्यापारी ध्रुव उति वेलाको व्यापार सम्झेर अचम्म मान्छन्। “हाम्रो पसलमा मात्र दिनमा ४०–५० भारी माल झर्थ्यो। त्यति नै माल हाम्रोबाट दिक्तेल, ऐंसेलुखर्क र सोलुसम्म पुग्थ्यो। खुद्रा किन्नेको घुइँचो यति हुन्थ्यो कि चार-पाँच जनाले धान्न हम्मे पर्थ्यो। उँभौली र उँधौलीमा लुगाफाटो धेरै बिक्थ्यो,” हाल अस्ट्रेलियामा रहेका उनी भन्छन्।
उति वेला दावाँमा दुइटा बजार थिए– दोहोरी पसल र छोटी पसल। बाटोको दायाँबायाँ लहरै घर भएकोलाई दोहोरी पसल भनिन्थ्यो। एकातर्फी घरहरू मात्र रहेकोलाई चाहिं छोटी पसल जुन अलि सानो बजार थियो। वरिपरि गाउँका मानिस दावाँ नभनी पसल जाने भन्थे। लामो दूरीका बटुवाको वास बस्ने, खाजा खाने थलो पनि यही थियो। तिनकै लागि भनेर दोहोरी पसलमा दुई ठूल्ठूला पाटी थिए। ती उहिल्यै भत्किसके।
मुलुकमा द्वन्द्व बढेपछि पुराना व्यापारी क्रमशः राजधानीतिर लागे। बजार शिथिल बन्दै गयो। द्वन्द्व सकिएपछि देशमा सडक सञ्जाल फैलियो। तर दावाँका हकमा मध्यपहाडी लोकमार्ग बजारबाट नभई बाहिरबाट गइदियो। तब व्यापार पनि सडकतिर सर्यो। त्यतैतिर सानातिना बजार खुल्न थाले। मानिसहरू किनमेलका लागि दावाँ जानै परेन। दावाँको मूल बाटो हिंड्ने बटुवा अब सडकैसडक गाडीमा जान थाले।
दावाँको पूर्वी छेउमा स्मृति चोक नामको छुट्टै बजार बन्यो। गाडीहरू रोकिने भएकाले त्यही ठाउँमा नयाँ होटल, पसल खुले। सडककै कारण पश्चिमछेउको बलौटे बजार अझ फस्टायो, ठूला होलसेल पसल र राम्रा होटल खुले। तब दावाँको मुख्य बजारको रौनक इतिहासमा सीमित भयो। त्यहाँको सबैभन्दा ठूलो व्यापारिक घराना इलाचाका सन्तान करीब १०० वर्ष पुरानो व्यापार सधैंलाई ताला लगाएर काठमाडौं हिंडे।

सदरमुकामभन्दा जेठो
भोजपुरको दावाँ बजार जिल्ला सदरमुकाम भोजपुर बजारभन्दा पनि पुरानो हो। भोजपुर बजार विसं १९३६ मा राणा प्रधानमन्त्री रणोद्दीप सिंहका पालामा मालअड्डा स्थापना भएपछि मात्र बसेको हो। टक्सार बजार चाहिं दावाँभन्दा अघिको मानिन्छ, विसं १८७२ मा स्थापना भएको।
त्यस वेला दावाँमा जमीनदारका रूपमा रहेका पुँवार खड्का र व्यापारी नेवारहरूको राणाशासकसँग सीधा सम्बन्ध थियो। स्थानीय बूढापाकाले अघिल्लो पुस्ताबाट सुने अनुसार प्रशासनिक एकाइहरू विस्तार गर्ने क्रममा राणाहरूले सोही सम्बन्धका आधारमा यहाँका तत्कालीन ठालूहरूलाई मालअड्डा दावाँ लैजान प्रस्ताव गरेका थिए। तर उनीहरूले मालअड्डासँगै आउने सरकारी हाकिम आफूहरूभन्दा हाबी हुने र आफ्नो राइँदाइँ सकिने ठाने। त्यसैले आफ्नो गाउँमा मालअड्डाको हाकिमलाई बस्न सुहाउने ठाउँ नभएको भन्दै मालअड्डा अन्तै लैजान बिन्ती चढाए। स्थानीय स्तरमा चाहिं गाउँमा मालअड्डा बसे कसैका छोरी-बुहारी सुरक्षित नहुने हौवा पिटाए।
त्यसपछि मालअड्डा दुई-चार टहरा मात्र रहेको, त्यस वेलाको खिकामाछा भनिने भोजपुरमा बस्यो। क्रमशः अरू सरकारी कार्यालय पनि त्यतै बसे। दावाँमा जन्मिए-हुर्किएका पूर्व उपसचिव माधवप्रसाद श्रेष्ठले आत्मकथा मिरमिरे झझल्काहरूमा लेखेका छन्, ‘यहाँका पुर्खाहरूले यहाँ सदरमुकाम राख्ता छोरी-बुहारी भन्न नपाइने तर्क अगाडि सारी सदरमुकाम राख्न नरुचाएको कुरा सुन्नमा आयो। यही दावाँ बजारबाट सर्वप्रथम दोकानहरू भोजपुर सदरमुकाम लगेको भनी बूढापाकाहरू बताउँछन्।’
विसं २०२० को दशकमा दावाँ बजारमाथिको सिद्धटारमा विमानस्थल बनाउने प्रस्ताव पनि केन्द्रबाट आएको थियो। तर जिल्ला सदरमुकाम नै अन्त भएपछि विमानस्थल पनि उतै गयो। २०३५ सालमा भोजपुर बजारमुनि टक्सारमा विमानस्थल बन्यो। दावाँमा कुनै प्रशासनिक एकाइ स्थापना भएन। जता प्रशासन बस्यो, बजार पनि उतै मौलाउन थाल्यो।
सांस्कृतिक केन्द्र
दावाँमा भक्तपुर र पाटनबाट ३०० वर्षअघि नेवारहरू व्यापार गर्न आएको श्रेष्ठले उल्लेख गरेका छन्। उनीहरूले बसाइँसराइसँगै आफ्ना संस्कृति पनि ल्याए। दावाँ बजारको पहिचान नेवार संस्कृति हो। यहाँ हरेक वर्ष कृष्णाष्टमीका छेका पन्ध्र दिन चल्ने लाखे जात्रा काठमाडौं बाहिरको सबैभन्दा उत्कृष्ट लाखे मानिन्थ्यो। काठमाडौं, उपत्यका बाहिर पूर्वी भेगमा नेवार बस्ती अन्त पनि थिए, तर लाखे नाच दावाँ, टक्सार र चैनपुरमा मात्र थिए। दावाँको लाखे नाच टक्सार र चैनपुरका तुलनामा अलि ‘फास्ट बिट’ को छ। विगतमा जात्रा हेर्न टाढा टाढाका मानिस पनि दावाँ बजार ओइरिन्थे। तर अहिले हेर्न आउनेहरू घटेपछि भदौभर चल्ने जात्रा तीन दिनमा सकिने गरेको छ।
बजारमा आधुनिकीकरणसँगै मनोरञ्जनका अरू साधन भित्रिन थालेपछि जात्राको रौनक घट्दै गयो। व्यवस्थित प्रशिक्षण नहुँदा लाखे नाच्ने नयाँ पुस्ता उत्पादन हुन छाड्यो। त्यसैले पछिल्ला दिन औपचारिकता धान्ने काम मात्र हुने गरेको स्थानीय नेवार अगुवाहरू बताउँछन्। उनीहरूका अनुसार द्वन्द्वका वेला त नेवारहरू नै लाखेमा आएनन्। नेवार परम्परा अनुसार परिवार सदस्यको मृत्यु भए एक वर्षभित्र उक्त घरबाट गाईजात्रामा सपारु निकाल्नुपर्छ। अहिले त्यही सपारु बोक्ने र नाच्ने–बजाउने सामान्य काम मात्र हुन थाले। यद्यपि सदरमुकाममा हुने लाखे नाच प्रतियोगिता दावाँले नै जित्दै आएको छ।
जात्रा जोगाउन अहिले नेवार समुदायको हरेक घरबाट मानिसहरू सहभागी हुनै पर्ने, नत्र जरिवाना तिराउने नियम बसाइएको छ। गएर मात्रै हुँदैन, लाखेसँग हिंड्न पनि पर्छ। यसका लागि दिनमा तीन चोटि हाजिरी गर्नुपर्ने व्यवस्था गरिएको नेवार समाज दावाँका अध्यक्ष कमल श्रेष्ठ बताउँछन्। “उहिले आफू नाच्ने, हेर्ने अरू आउँथे। अहिले आफ्नो जात्रा आफैंले हेर्ने हो,” उनी भन्छन्।
माटाका भाँडा बनाउनु दावाँको संस्कृति र व्यापार दुवै थियो। वरिपरि किरात बस्ती छन्। किरात समुदायका जन्मदेखि मृत्युसम्मका कर्मकाण्डमा आवश्यक पर्ने माटाका भाँडा दावाँका प्रधान, कुमालहरूले बनाएर बेच्थे। उ वेला हिउँदका दिनमा जताततै माटाका भाँडा सुकाइएको देखिन्थ्यो। अब ती विस्मृत भइसके। त्यस भेगमा घर छाउने टायल र झिंगटी बनाउने कालिगड पनि दावाँली मात्रै थिए। त्यस वेला गरीबको खरको, मध्यम वर्गको टायल र हुनेखानेको घरको छाना झिंगटीको हुन्थ्यो। यहाँका कालिगड टायल र झिंगटी बनाउनकै लागि टाढा टाढासम्म पुग्थे। धनीमानीका घरका लागि पाकेको इँटा बनाउन पनि तिनैलाई खोजिन्थ्यो। जस्ताको छाना सस्तो र सजिलो हुन थालेपछि टायल र झिंगटीको जुग सकियो।
राणाशासन हट्नुअघि विसं २००५ मै दावाँमा विद्यालय स्थापना भइसकेको थियो। तर मूल बाटो भएकाले भित्रिएको व्यापार बाहेक कुनै सरकारी कार्यालय वा निकाय दावाँ बजार भित्रिएनन्। दावाँले आफूलाई चिनाउने कुनै विशेष कुरा देखाउन सकेन। गाउँ विकास समिति र उपस्वास्थ्य चौकीसम्म थाम्न सकेन। युवा पुस्तामा पनि दावाँको पुरानो साख फर्काउने जाँगर खासै देखिएको छैन। अहिले दावाँ बजारलाई धानेकै सिद्धेश्वर माविले हो। यहाँ करीब हजार विद्यार्थी हुन्छन्। तिनकै कारण यहाँ दिउँसोपख केही चहलपहल देखिन्छ। बिदाको दिन त बजार पूरै सुनसान हुन्छ।
बजारका रूपमा पहिलेको रौनक नभए पनि यसको ऐतिहासिक र सांस्कृतिक विरासत भने जोगाउन पहल भइरहेको भोजपुर नगरपालिका–४ का वडाध्यक्ष गिरेन्द्र खड्का बताउँछन्। उनका अनुसार दावाँ बजारका ऐतिहासिक पाटी, धारा आदि परम्परा झल्काउने सम्पदाको पुनर्निर्माण गर्ने तयारी भइरहेको छ। भीमसेनस्थान, स्मृति चोक, शिवालयको जीर्णोद्धार गरिंदै छ। सिद्धमहाराज मन्दिरको पुनर्निर्माण भइरहेको छ। “बालन भजन गाउने पुस्तै समाप्त हुन लागेकाले तिनको संरक्षण र पुस्तान्तरणका लागि पुराना गायक पहिचान गरी युवालाई प्रशिक्षण दिने योजना छ,” खड्का भन्छन्, “खेलकूद विकासका लागि सुविधासम्पन्न रंगशाला पनि निर्माण भइरहेको छ।”
(हिमालखवरबाट)