जनकपुरमा घर भए पनि घरभाडा बुझ्दै आएका सांसदहरू क्रमशः रामसरोज यादव, अञ्जन पण्डित, रत्नलाल गोइत, राम आषिश यादव, सुरिता साह र दीपेन्द्र ठाकुर।
मधेश प्रदेशको राजधानी जनकपुरधाममै घर भएका सांसदले पनि प्रदेश सभाबाट घरभाडा बापतको रकम लिइरहेका छन्।
मधेश प्रदेश सभा भवनबाट डेढ किलोमिटरको दूरीमा रहेको क्याम्पस चोकमा छ, सांसद रामसरोज यादवको घर। उनी २०७९ सालको निर्वाचनमा धनुषा ३ ‘क’ बाट प्रदेश सभा सदस्यमा निर्वाचित भएका थिए। प्रदेश राजधानी जनकपुरधाममै घर भए पनि उनी प्रदेश सभाबाट घरभाडा बापतको रकम बुझ्छन्।
प्रदेश सभा सचिवालयका अनुसार सांसद यादवले अहिलेसम्म नियमित रूपमा प्रतिमहीना १५ हजार रुपैयाँ घरभाडा बुझ्दै आएका छन्। उनी पूर्व मन्त्री पनि हुन्।
प्रदेश राजधानी जनकपुरधाममै घर भए पनि घरभाडा लिने नेपाली कांग्रेसका नेता यादव एक्ला भने होइनन्। जनकपुरमै घर भएका मधेश प्रदेश सभाका अन्य सदस्यले पनि घरभाडाको रकम लिने गरेका छन्।
मधेश प्रदेश सभामा नेकपा (एमाले)को संसदीय दलका उपनेता दीपेन्द्र ठाकुर जनकपुरधाममै बसोबास गर्छन्। ठाकुरको एउटा मात्रै होइन, तीन वटा घर छन्। स्थानीय बासिन्दाका अनुसार रामानन्द चोक र अग्निकुण्ड क्षेत्रमा उनका घर छन्।
तैपनि सांसद ठाकुरले प्रदेश सभाबाट मासिक १५ हजार रुपैयाँ घरभाडा बुझ्दै आएका छन्। उनी गत निर्वाचनमा धनुषा ३ ‘ख’ बाट प्रदेश सभा सदस्यमा निर्वाचित भएका थिए।
जनकपुरधाममा घर हुँदाहुँदै घरभाडा लिने सांसदको सूचीमा सुरिता साह पनि छन्। महोत्तरी २ ‘ख’ बाट निर्वाचित जनता समाजवादी पार्टी (जसपा), नेपालकी सांसद साहको जनकपुरधामस्थित भ्रमरपुरा चोकमै घर छ। त्यसलाई स्थानीय बासिन्दा ‘आलिशान महल’ भन्ने गर्छन्।
यसअघि सांसद साहले राजर्षिजनक विश्वविद्यालयलाई घर भाडामा लगाएकी थिइन्। आफ्नो घर भाडामा लगाए पनि उनले प्रदेश सभाबाट भने मासिक १५ हजार रुपैयाँ घरभाडा बुझ्दै आएकी छन्। जसपा नेपालकी कोषाध्यक्ष समेत रहेकी साह पूर्व मन्त्री पनि हुन्।
जसपा, नेपालकै प्रमुख सचेतक रामआशिष यादवले पनि जनकपुरधाममा घर हुँदाहुँदै प्रदेश सभाबाट घरभाडा लिने गरेका छन्। यादवको भानु चोक र सीता चोकको बीचमा घर छ। उनले मासिक २० हजार रुपैयाँ घरभाडा बुझ्ने गरेको प्रदेश सभा सचिवालयले जनाएको छ। उनी गत निर्वाचनमा धनुषा २ ‘ख’ बाट निर्वाचित भएका थिए।
घरभाडा बापत प्रदेश सभा सदस्यलाई मासिक १५ हजार र प्रमुख सचेतकलाई २० हजार रुपैयाँ दिने व्यवस्था छ।
राजधानीमा घर हुँदाहुँदै प्रदेश सभाबाट घरभाडा बुझ्ने सांसदको सूचीमा अञ्जना पण्डित पनि छन्। समानुपातिक कोटाबाट सांसद बनेकी पण्डितको त झन् जनकपुरधाममै दुइटा घर छन्। एउटा घरमा आफू बस्छिन् भने अर्को घर भाडामा लगाएकी छन्। कांग्रेसको मधेश प्रदेश कार्यालय उनकै घरमा छ। तैपनि सांसद पण्डित प्रदेश सभाबाट मासिक १५ हजार रुपैयाँ घरभाडा लिन्छिन्।
त्यस्तै, जनकपुरधाम उपमहानगरपालिकामै नेकपा (एकीकृत समाजवादी)का सांसद रत्नेश्वर गोइत यादवको घर छ। समानुपातिकबाट प्रदेश सभा सदस्य बनेका यादवले मासिक १८ हजार रुपैयाँ घरभाडा बुझ्ने गरेको प्रदेश सभा सचिवालयको अभिलेख छ। उनी प्रदेश मामिला समितिका सभापति हुन्। संसदीय समितिका सभापतिलाई घरभाडा बापत मासिक १८ हजार रुपैयाँ दिने व्यवस्था छ।
प्रदेश सभाका पदाधिकारी तथा सदस्यहरूको पारिश्रमिक र सुविधा सम्बन्धी ऐनको अनुसूचीमा सभामुखलाई आवास उपलब्ध गराउने उल्लेख छ। त्यस्तै, उपसभामुख, विपक्षी दलको नेता, सत्तापक्षको सचेतकलाई आवास बापत मासिक २० हजार रुपैयाँ दिने व्यवस्था छ।
यसैगरी, संसदीय दलको नेता, सत्तापक्षको प्रमुख सचेतक, विपक्षी दलको प्रमुख सचेतक र संसदीय समितिको सभापतिलाई १८ हजार रुपैयाँ आवास सुविधा दिने ऐनमा उल्लेख छ। अन्य दलका प्रमुख सचेतक र सचेतकलाई १६ हजार र सांसदलाई १५ हजार रुपैयाँ दिने व्यवस्था छ। मधेश प्रदेश सभा सचिवालयले उपसभामुखलाई पनि आवास उपलब्ध गराएको छ भने अन्य सांसदले घरभाडा लिने गरेका छन्।
राजधानी जनकपुरधाममा घर नभएका सांसदमध्ये थोरैले मात्र कोठा लिएका छन्। धेरैजसो सांसद प्रदेश सभाको अधिवेशन चलेको समयमा घरबाटै धाउने गर्छन्। प्रदेश सभाको बैठक नियमित सञ्चालन नहुने भएकाले अधिवेशनको वेला घरबाटै आउजाउ गर्ने गरेको केही सांसद बताउँछन्।
तथापि प्रदेश सभाका सबै सांसदले घरभाडा लिएका छन्। मधेश प्रदेश सभा सचिवालयले ऐन अनुसार सबै जिल्लाका ९२ जना सांसदलाई मासिक घरभाडा उपलब्ध गराउँदै आएको जनाएको छ।
मधेश प्रदेश सभामा १०७ सदस्य छन्। एक जना सांसद निलम्बनमा परेका छन् भने मुख्यमन्त्री र मन्त्री सहित १२ जनालाई आवास सुविधा दिइएको छ। उनीहरूले मुख्यमन्त्री तथा मन्त्रीहरूको पारिश्रमिक तथा सुविधा सम्बन्धी ऐन, २०७५ अनुसार आवास प्राप्त गरेका छन्।
प्रदेश सभा सचिवालयका प्रवक्ता विपिन ठाकुर सबै सांसदले घरभाडा शीर्षकमा रकम लिने गरेको बताउँछन्। प्रदेश सभा सदस्यहरूको सुविधाबारे कानूनमै उल्लेख भएकाले घरभाडा बापतको रकम दिने गरिएको ठाकुरको भनाइ छ। “जनकपुरमा घर भएका जुन सांसद छन्, उनीहरूले पनि घरभाडा लिन सक्छन्,” उनी भन्छन्।
पहिलो प्रदेश सभाको कार्यकालमा पनि सांसदले घरभाडा बापतको सुविधा लिएको उनको भनाइ छ। त्यति वेला सांसद केवल किशोरी साह कमलले मात्र त्यस्तो सुविधा फिर्ता गरेका थिए। अन्य सबै सदस्यले लिएका थिए।
जनकपुरमा आफ्नै घर भएकाहरूले घरभाडा लिन नमिल्ने भन्ने कतै व्यवस्था नभएकाले सुविधा लिइरहेको सांसदहरूको तर्क छ। सांसद रामआशिष यादव संघीय संसद्मा समेत यस्तै कानूनी व्यवस्था रहेको र प्रदेशमा पनि सांसदलाई सुविधा दिएकाले घरभाडा लिनु अनुचित नभएको जिकिर गर्छन्। “प्रदेश राजधानीमा आफ्नै घर हुनेहरूले लिनु हुँदैन भन्ने ऐनमा व्यवस्था भए अनुचित हुन्थ्यो। तर त्यस्तो व्यवस्था नरहेका कारण घर भएकाहरूले समेत लिने गरेका छौं,” यादव भन्छन्।
राजनीतिक विश्लेषक एवं अर्थशास्त्री डा. भोगेन्द्र झा भने मधेश प्रदेशको राजधानी जनकपुरधाममै घर हुनेहरूले समेत घरभाडा बापतको रकम लिनु नैतिक र कानूनी रूपमा पनि अनुचित रहेको बताउँछन्। “प्रदेश सभाका कोही पदाधिकारीले घरको मर्मत बापत केही रकम लिनुहुन्छ भने ठीक छ, तर घरभाडा बापत लिनुहुन्छ भने त्यो कानूनी र नैतिक दुवै दृष्टिबाट अनुचित छ,” झा भन्छन्।
राजधानीमा घर हुँदाहुँदै प्रदेश सभाबाट घरभाडाको रकम लिनु गैरकानूनी भएको राजनीतिक विश्लेषक रोशन जनकपुरी बताउँछन्। सांसदहरू जनताको भन्दा आफ्नो स्वार्थपूर्तिमा लाग्ने प्रवृति झाँगिंदै गएको उनको भनाइ छ। “सत्ता राजनीतिको चरित्र कमाउ भइसकेको छ। त्यसैले उनीहरूले जनताको हितमा सोच्ने कुरै छैन,” जनकपुरी भन्छन्, “जनकपुरधाममै रहेर खर्च लिनु अनैतिक मात्र नभई गैरकानूनी पनि हो।”
(हिमालखवरबाट)