नितिन श्रीवास्तव
- सम्पादक, बीबीसी हिन्दी
एप्रिल २२ तरिखमा पहलगाम आक्रमणपछि भारत र पाकिस्तानबीच तनाव बढ्दै गएको छ। यो आक्रमणमा परेर २६ जनाको मृत्यु भएको थियो।
प्रतिक्रिया स्वरूप भारतले पाकिस्तान र पाकिस्तान प्रशासित कश्मीरमा हवाई हमला गर्यो। त्यहाँ रहेका आतङ्कवादी अड्डाहरूविरुद्ध आक्रमण गरिएको दाबी भारतले गरेको छ।
भारतले यस पटक जस्तो तरिकाले आक्रमण गरेको छ त्यस बारेमा धेरै छलफल भइरहेको छ। विज्ञहरू भनिरहेका छन् कि यस पटक 'भारतले अमेरिका र इजरेलको जस्तो रणनीति अपनाएको छ।'
के भारतको रणनीति परिवर्तन भएको हो?

विगतमा भएका अतिवादी आक्रमणहरूपछि भारतले सामान्यतया कूटनीतिक स्तरमा कारबाही गर्ने प्रयास गर्ने गर्दथ्यो। भारतले सन् २००८ को २६ नोभेम्बरमा भएको मुम्बई आक्रमणको लागि लश्कर-ए-तैयबालाई पनि आरोप लगाएको थियो। भारतले यस विषयमा धेरै प्रमाणहरू पनि प्रस्तुत गरेको थियो।
१० जना हतियारधारी अतिवादीहरूले मुम्बईका धेरै ठाउँहरू र प्रतिष्ठित भवनहरूमा आक्रमण गरे जुन चार दिनसम्म चल्यो। मुम्बई आक्रमणमा १६० भन्दा बढी मानिस मारिएका थिए।
मुम्बईमा भएको २६/११ आक्रमणका अभियुक्त तहव्वुर रानालाई हालै अमेरिकाबाट भारत सुपुर्दगी गरिएको छ।
तर यस्ता आक्रमणहरू पछि के भारतको रणनीति परिवर्तन भएको छ?
जवाहरलाल नेहरू विश्वविद्यालयका प्राध्यापक ह्यापीमोन जेकब भन्छन्, "मलाई लाग्छ 'अपरेसन सिन्दूर' जसको माध्यमबाट भारतले पाकिस्तानविरुद्ध बदला लिएको छ त्यसमा एउटा नयाँ नीति अपनाइएको देखिन्छ।
"सन् २००१ मा संसद् भवनमा आक्रमण भयो, त्यसपछि सन् २००८ को नोभेम्बर महिनामा मुम्बईमा भएको आक्रमणपछि पनि भारत सरकारले बदलामा कुनै विशेष कदम चालेन।"
उनी भन्छन्, "पाकिस्तानसँग परमाणु अस्त्र छ भन्ने डर सधैँ थियो। यदि हामीले परम्परागत सैन्य माध्यमबाट उनीहरूमाथि आक्रमण गर्यौँ भने उनीहरूले परमाणु अस्त्र प्रयोग गर्न सक्छन्। यो डर भारत सरकारको मनमा थियो र भारतीय रणनीतिक विचारकहरूको पनि यही विचार थियो।"
तर सन् २०१६ मा उरीमा आफ्ना १९ सैनिकको मृत्युपछि भारतले नियन्त्रण रेखा पारेर अतिवादीहरूको शिविरमा 'सर्जिकल स्ट्राइक' गरेको थियो।
सन् २०१९ मा पुलवामामा एउटा विस्फोट भएको थियो जसमा भारतीय अर्धसैनिक बलका ४० जना सैनिक मारिएका थिए। यसपछि, भारतले बालाकोटमा भित्रैसम्म हवाई आक्रमण गर्यो।
ह्यापीमोन जेकब भन्छन्, "मलाई लाग्छ कि केही दिनअघि भएका तीन वटै हमलाहरूमा एउटा नयाँ नीति अपनाइएको छ जस अन्तर्गत जब पनि पाकिस्तानले भारतलाई सब-कन्भेन्शनल तरिकाले अर्थात् आतङ्कवादी आक्रमण गर्छ तब भारतले परम्परागत तरिकाले अथवा सेना प्रयोग गरेर बदला लिनेछ।"
उनलाई लाग्छ, "यसको महत्त्वपूर्ण निष्कर्ष के हो भने जब उनीहरूको तर्फबाट कुनै पनि आतङ्कवादी सङ्गठनले भारतमा आक्रमण गर्छ भारतले निश्चित रूपमा त्यसको जवाफ दिन्छ भन्ने पाकिस्तानलाई थाहा हुनेछ।"
'भारतको नीति अमेरिका-इजरेलको जस्तै'

छिल्लो समयमा भारतले जुन आक्रमणहरू गर्यो त्यसपछि भारतमा के के भएको थियो भनेर प्रमाणहरू प्रस्तुत गर्दै र त्यसको बदलामा भारतले आक्रमण गरेको हो भनेर बताइयो।
भारतले कुनै पनि अन्तर्राष्ट्रिय मञ्चमा कुनै पनि आतङ्कवादी हमलाविरुद्ध आवाज उठाएन जुन पहिले सामान्यतया हुने गर्थ्यो।
यो भारतको विदेश नीतिमा यति आधारभूत परिवर्तन हो जसले भनिरहेको छ, "हामी इच्छा अनुसार प्रहार गर्नेछौँ।" के यो त्यस्तो रणनीति हो जुन मनोवैज्ञानिक दबाब सिर्जना गर्नुभन्दा बाहिर जान्छ?
प्राध्यापक ह्यापीमोन जेकब भन्छन्, "जब अमेरिकामा आक्रमण हुन्छ अमेरिका कुनै पनि विश्वव्यापी मञ्चमा जाँदैन। इजरेलको पनि त्यस्तै नीति छ। उ पनि कुनै पनि मञ्चमा गएर हामीमाथि आक्रमण भएको बताउँदैन हामीले के गर्नुपर्छ भनेर।"
"भारतले पनि यही रणनीति अपनाएको छ र यदि हाम्रा मानिसहरू मारिएका छन् भने हामी कारबाही गर्नेछौँ भन्ने सन्देश दिएको छ। यो कुरा अन्तर्राष्ट्रिय मञ्चमा पुग्यो भने त्यहाँ पनि भारतको पक्षमा समर्थन देखिने निश्चित छ।"
ह्यापीमोन जेकब भन्छन्, "मलाई लाग्छ अहिले हामीले प्रमाणको रूपमा भन्न गइरहेका छौँ कि पाकिस्तानमा आधारित आतङ्कवादी सङ्गठन 'टीआरएए द रेजिस्टेन्स फ्रान्ट' ले यसको जिम्मेवारी लिएको छ। जुन लश्कर-ए-तैयबासँग सम्बन्धित छ। र, लश्कर-ए-तैयबाको मुख्यालय मुरिदकेमा छ। त्यसैले यो प्रमाण पर्याप्त छ।"
ह्यापीमोन जेकब भन्छन्, "पाकिस्तानले धेरै वर्षदेखि यसमाथि कुनै कारबाही गरेको छैन र पाकिस्तानले धेरै वर्षदेखि यो आतङ्कवादी सङ्गठनलाई जीवित राखेको छ। यो विश्वको अगाडि प्रमाण हो र यसैको आधारमा यो आतङ्कवादी सङ्गठनलाई क्षति पुर्याउने योजना बनाइएको छ। यो 'अपरेसन सिन्दूर हो।'
"जहाँसम्म मनोवैज्ञानिक असरको सवाल छ म यसलाई फरक तरिकाले हेर्न चाहन्छु। सन् २००१ वा सन् २००८ मा आक्रमण हुँदा अमेरिका एक शक्तिशाली देश थियो। यो आज पनि शक्तिशाली छ तर त्यति बेला अमेरिकाले विश्व प्रहरी जस्तै व्यवहार गर्थ्यो। तर आज अमेरिका विश्वव्यापी मुद्दाहरूमा त्यति चासो राख्दैन र भारत पहिलाभन्दा धेरै शक्तिशाली भएको छ।"
प्राध्यापक ह्यापीमोन जेकब भन्छन्, "भारतले बुझेको छ कि छिमेकी देशहरू वा अन्तर्राष्ट्रिय संस्थाहरूले के भन्नेछन् भन्ने कुरामा धेरै ध्यान दिनु आवश्यक छैन। यदि हामीलाई थाहा भयो कि हामीविरुद्ध आतङ्कवादी हमला भएको छ र हामीलाई थाहा छ कि यो कसैले गरेको छ भने हामी कारबाही गर्नेछौँ।"
विश्वका धेरै देशहरूले भारतको 'अपरेसन सिन्दूर' प्रति चिन्ता व्यक्त गरेका छन्। तर धेरैजसो देशहरूले यसको खुलेर विरोध पनि गरेका छैनन्।
दुई परमाणु शक्ति बीचको सङ्घर्ष कति गम्भीर
स्वीडेनको थिङ्क ट्याङ्क स्टकहोम इन्टरनेशनल पीस रिसर्च इन्स्टिट्यूट (सिपरी)को सन् २०२४ को रिपोर्ट अनुसार भारतसँग १७२ र पाकिस्तानसँग १७० परमाणु युद्ध शीर्ष (वार हेड) छन्।
यी दुवै देशसँग परमाणु शक्ति भएका कारण एक अर्का विरुद्ध कहिल्यै हमला गर्दैनन् भन्ने मान्यता रहँदै आएको थियो तर हालैका सङ्घर्षपछि केयो मान्यता बदलिएको भन्न सकिन्छ?
प्रोफेसर ह्यापीमोन जेकब भन्छन्, "सैद्धान्तिक तवरमा भन्दा परमाणु हतियारले तपाईँलाई हमलाबाट बचाउँछ तर यसले न आतङ्कवादी हमला रोक्न सक्छ न पारम्परिक हमला नै रोक्न सक्छ। त्यसैले परमाणु शक्ति सम्पन्न हुनुले एक सीमित स्तरसम्म मात्रै सुरक्षा दिन्छ भन्नु उचित हुन्छ।"
उनी भन्छन्, "पाकिस्तानको एअरफोर्स धेरै सक्षम छ भन्ने गरिन्छ। तर मलाई लाग्छ यदि पाकिस्तानको पारम्परिक तागत राम्रो छ भने उ परमाणु हतियारतर्फ लाग्दैन। यदि परम्परागत तवरको युद्ध भयो भने सेना र अर्थ व्यवस्था दुवै हिसाबले भारत धेरै बलियो छ।"
के यो कुनै सन्देश दिने कोसिस हो?

भारत र पाकिस्तान दुई यस्ता छिमेकी देश हुन् जसका बीचमा सधैँ तनावको अवस्था छ। दुई देशबीच कैयौँ पटक युद्ध पनि भइसकेको छ।
आम रूपमा दुई देशबीच यस्तो तनावको स्थिति शान्त पार्न तेस्रो देशको सक्रियता देखिन्छ। तर यस पटक भारतले तेस्रो देशको मध्यस्थतालाई महत्त्व दिएको छैन।
प्रोफेसर ह्यापीमोन जेकब भन्छन्, "पाकिस्तान सन् १९४७ देखि नै हरेक पटक चाहन्छ - कोही तेस्रो पक्ष ल्याइयोस् र मध्यस्थता गरोस्। पाकिस्तानीहरूले जम्मू र कश्मीरमा हमला गरे अनि संयुक्त राष्ट्रसङ्घलाई बीचमा ल्याइयो। सन् १९६५ मा सोभियत युनियनलाई बीचमा ल्याइयो।"
"तर सन् १९७१ मा भारतले कुनै तेस्रो पार्टी ल्याउन चाहेन र जे हुन्छ हाम्रैबीच हुनु पर्छ भन्यो।"
ह्यापीमोन जेकब भन्छन्, "यो पटक भारतको रणनीति कुनै अन्तर्राष्ट्रिय विचारको पर्बाह नगरीकन जबाफ दिनुपर्छ भन्ने रहेको छ किनभने हमला भारतमाथि भएको छ। यसैले उसलाई लागेको छ कि प्रतिकार गर्नु भारतको अधिकारको कुरा हो र उ त्यसै गरिरहेको छ।
हालको भारत- पाकिस्तान सङ्घर्षमा भारतले पाकिस्तान प्रशासित कश्मीरमा मात्रै नभएर पाकिस्तानको अन्य इलाकामा पनि हमला गरेको छ। के यसबाट भारत पाकिस्तानलाई कुनै सन्देश दिन चाहन्छ?
प्रोफेसर जेकब भन्छन्, "मलाई लाग्छ यसको सन्देश के हुन सक्छ भने – सबभन्दा पहिला सन् २०१६ मा भारतले सर्जिकल स्ट्राइक गर्दा त्यो लाइन अफ कन्ट्रोल पारि गरिएको एक परीक्षण थियो। त्यसपछि सन् २०१९ मा त्यसलाई अलिकति अगाडि बढाइयो र खैबर पख्तूनख्वा प्रान्तमा आक्रमण गरियो।"
र प्रोफेसर जेकब अनुसार "अहिले जुन आक्रमण भएको छ त्यो पाकिस्तानमा पन्जाबभित्र अर्थात् पाकिस्तानको हार्टल्याण्डमा भएको छ। यसको अर्थ हो भारतसँग कैयौँ विकल्प छन्। यदि भविष्यमा भारतमाथि आतङ्कवादी हमला भयो भने मलाई लाग्छ भारतसँग बदला लिनका लागि कैयौँ विकल्प हुने छन्।"