- खगेन्द्र संग्रौला
आफ्नै मति र कर्मले सिंहासन ढाल्नु र आफैं आफूलाई सिंहासनमा फर्काइमाग्नु, यो कस्तो विडम्बना π यो विडम्बनामा पूर्वराजा ज्ञानेन्द्रको असीम दुःख छ । उथलपुथलकारी समयको र व्यवस्थाको प्रगतिको चेत नहुनु पूर्वराजा र निजका भक्तगणको दुःख हो । अविराम समय वंशतन्त्रलाई इतिहासको मसानघाटमा थन्क्याएर लोकतन्त्र हुँदै गणतन्त्रमा पुगिसक्यो, पूर्वराजा ज्ञानेन्द्र र भक्तगण मृत वंशतन्त्रको शवमै अड्किए ।
वंशतन्त्रको सडित शवमा अड्किँदा तिनको सोचमा लेउ लाग्यो, तिनको मति भ्रमित भयो र तिनको संवेदना जड भयो । पूर्वराजा र भक्तगण मिथ्या श्रेष्ठतासूचक ‘माथि’ को भ्रममा लठ्ठ भए । अहिले यी त्यही ‘माथि’ को राग अलापिरहेछन्— ‘भुइँमान्छेभन्दा ‘माथि विष्णुका औतार‘, ‘व्यवस्थाभन्दा ‘माथि देश’, ‘कानुनभन्दा ‘माथि तीनकुने विध्वंशका अग्रदूत ।’ यो अहंकारमय ‘माथि’ मा पूर्वराजा र भक्तगणको अथाह दुःख छ ।
पूर्वराजा कहिले आफ्नो व्यापारिक लाभको आंकलन गर्दै थिए, कहिले आफ्नै चिया बगानमा चुरोटको सर्कोसँग हावा खाँदै थिए, कहिले नागार्जुन दरबारमा आनन्दी मुद्रामा कालिजको मासु र मदिरा ज्युनार गर्दै थिए । ख्वामितको दर्शन गर्न आएको एक भक्तले बिन्ती चढायो, ‘महाराज ! वार कि पारको मौका आयो ।
सिंहासन कि यसपाला फर्किन्छ कि कहिल्यै फर्किँदैन । अगाडि लागिबक्स्योस् प्रभु, हामी भक्तगण पछाडि छौं ।’ सिंहासन फर्किने आस मरिसकेको पूर्वराजाको चित्तमा हठात् प्रलोभन जाग्यो, अहंकारले शिर उठायो र निरंकुशताको नसा बौरियो । पूर्वराजाले भने— ‘मैले बुझेँ । ठीक छ, मैले गर्नुपर्ने म गर्छु, तिमीहरूले गर्नुपर्ने तिमीहरू गर । जो लाग्ने खर्चको चिन्ता नगर ।’
जब पूर्वराजा देशको दशा र जनताको अवस्थाउपर गम खान थाले, निजको हृदय धुरुधुरु रोयो । यो रुवाइ पूर्वराजाको मौसमी नाटकीय अभिनय हो । पूर्वराजाका भक्तगणले सिंहासन फर्काउने डिङ हाकेको सोह्र वर्ष भयो । पूर्वराजा यसैगरी रोएको पनि सोह्रै वर्ष भयो ।
सम्चारे भक्त भनेर गयो— ‘यसपाला कि वार कि पार, महाराज’ पूर्वराजालाई झ्याट्ट तुलसी गिरीको आद आयो । अफसोच, असल नोकर गिरी गइहाले ! गिरी नहुँदाको रिक्त स्थानमा नवराज सुवेदी खडा भए । खुँखार पञ्च नवराज पूर्वराजाका परामर्शदाता भए, जण्ड दुर्गा प्रसार्इं जनकमान्डर भए । अघोषित उप–जनकमान्डर भए मिस्टर रवीन्द्र मिश्र । सुरु भयो अब पूर्वराजालाई विलुप्त सिंहासनमा फर्काउने विध्वंश ।
दुर्गाले प्रहरीजनलाई गाडीले कुल्चिने नाटक मञ्चन गरे । रवीन्द्रले माइकमा कुर्लिँदै भीडलाई अघि बढ्न उक्साए । दुर्गाको करिबन कुल्चाइ र रवीन्द्रको उत्तेजक उक्साइले विध्वंशको नाटकमा चमत्कार गर्यो । उक्त चमत्कारमा तोडफोड, आगजनी र लुटको जगजगी भयो । तीनकुनेको विध्वंशमय जगजगीको सिर्जनामा नेपथ्यमा कसकसको हात हुँदो हो, म जान्दिनँ । यो विध्वंशमा दुर्गा र रवीन्द्रको भयावह योगदानको प्रमाण भएर भिडियो रेकर्डको दृश्य र गर्जन लोकसामु प्रत्यक्ष छ ।
तीनकुने विध्वंशका नाइके जब पक्राउ परे, अर्को दुःख सुन्नमा आयो । दुःखको मुहान श्रेष्ठता र अहंकारसूचक उही ‘माथि’ हो । आफ्नो कृत्यद्वारा आमन्त्रित दुर्नियति स्वीकार गरेर होला, फौजदारी कसुरमा पक्रिइएका दुर्गा हतकडी लाएर शान्त र मौन रहे । तर उही कसुरमा पक्रिइएका रवीन्द्रका हातको हतकडी रवीन्द्र स्वयं र पूर्व राजाका भक्तगणमाझ कोकोहोलोको विषय बन्यो ।
फौजदारी अपराधको कसुरमा पक्राउ पर्ने जोकोहीलाई हतकडी लाइन्छ, हैन र ? अभियुक्तको मनोवृत्ति र परिस्थिति हेरी हतकडी लाउने–नलाउने निर्णय फाँटवाला प्रहरी अधिकृतको हुन्छ, हैन र ? हो भने फौजदारी अपराधको अभियोगमा पक्राउ परेका रवीन्द्रका हातको हतकडीलाई ज्यादती मानिनु किन ? विध्वंशको प्रेरक राजभक्त कानुनभन्दा ‘माथि’ हुन्छ ?
अभिव्यक्ति स्वतन्त्रताको अर्थ विध्वंश स्वतन्त्रता किमार्थ होइन ? कुनै पनि राजनीतिक व्यवस्थाले आफ्नो विनाश हेतु उठ्ने हातमा निःसन्देह हतकडी लाउँछ । आफूले ध्वंश गर्न खोजेको व्यवस्थासँग ध्वंशकले प्रेमिल व्यवहारको आस गर्नु कति उचित हो ? गणतन्त्रको विनाशमा हात उठाउनु र त्यही गणतन्त्रबाट करुणाको अपेक्षा गर्नु आफूलाई भुइँमान्छेभन्दा ‘माथि’ को ठान्ने राजभक्तको दुःख हो ।
पूर्वराजा र राजभक्तहरूमा आत्मविरोधी विचारहरूको गन्जागोल छ । एक मुखले यी गणतन्त्रको विनाश र वंशतन्त्रको पुनःस्थापन भन्दै कुर्लिन्छन् । उही मुखले उही बेला यी सत्तासीन शासकका नाउँ काडेर ‘फलानो चोर देश छोड’ भन्छन् । अनि उही मुखले उही बेला यी संविधानमा राजा अटाउने ठाउँ बनाइपाऊँ भनी उनै ‘चोर’ सँग बिन्ती गर्छन् ।
पीडनको घटना पीडकले छिटै बिर्सन्छ, पीडितले पीडनको पीडा जीवनभरि सम्झिरहन्छ । आफ्नो निरंकुश फौजी शासनमा टेलिफोन लाइन विच्छेद गरी यी ‘चोर’ लाई घरघरै थुन्ने यिनै पूर्वराजा हुन् । अखबारका सम्पादकीय टेबुल कब्जा गरी मिसिनगनले सम्पादकीय लेखाउने यिनै पूर्वराजा हुन् ।
नागरिकको मनोबल चुरचुर पारेर आतंकको शासन चलाउन सडकमा ट्यांक कुदाउने यिनै पूर्वराजा हुन् । पूर्वराजाद्वारा पीडित यी ‘चोर’ ले संविधानमा उनै पीडक पूर्वराजा अटाउने ठाउँ बनाइदेलान् र ? ठाउँ बनाइदेओ भनी बित्थामा हात पसार्नु ‘पूर्व राजा र निजका भक्तगणको अपार दुःख हो ।
पूर्वराजाका भक्तका धाकधक्कु सुन्दा मलाई उदेक लाग्छ । धाकधक्कुको लबजमा यी भन्छन्— ‘निर्मल निवासदेखि नारायणहिटी दरबार टाढा छैन । चलाइदिउँ त मौसुफ ज्ञानेन्द्रको सवारी ?’ यस्तो लाग्छ मानौं निर्मल निवासबाट पूर्वराजाको सवारी चलाएर नारायणहिटी दरबार बाहिरी गेटमा पुर्याएपछि मृत वंशतन्त्र सिंहासनमा स्वतः फर्किन्छ । डर लाग्छ, बालबत् बुद्धि भएका भक्तले पूर्वराजालाई नारायणहिटीको गेटबाहिर कुर्सीमा आसीन गराएर एक्लै छाडिदिए भने...! लन्ठ भक्तहरूका सिंहासनप्रेमी वृद्ध ख्वाामित् यो बर्खामास असिना र पानीले साफ गोदिने पो हुन्
कि ! पूर्वराजाका भक्तहरू विवेकद्वारा होइन, सनक, लहड र दम्भद्वारा सञ्चालित छन् । यी भक्तहरू लक्ष्यविहीन लक्ष्य, निशानाविहीन तारो र विचारविहीन विचारका पछाडि भौंतारिइरहेछन् । वर्तमानबोधी र भविष्यदर्शी विचारमा टाट पल्टिनु पूर्वराजा र भक्तहरूको भयंकर दुःख हो ।
पूर्वराजा स्वयं कत्तिको निष्ठावान् राजगद्दीभक्त हुन्, म जान्दिनँ । तर राजभक्तिको स्पर्धामा राजाको पाउ स्पर्श गर्न तँछाडमछाड गर्ने कोही पनि निष्ठावान् राजभक्तजस्तो लाग्दैन । यिनका लागि राजा र हिन्दुत्व केवल भर्याङ हुन् । यिनको दाउ हो, त्यो भर्याङ उक्लेर लाभदायी कुर्सीमा थपक्क आसीन हुनु । पूर्वराजाले पत्याएका पत्रु पञ्च नवराज सुवेदीको मनोकांक्षा नयाँ सन्दर्भमा पुरानो तुलसी गिरी बन्नु त होला ।
नत्र यो जर्जर बुढेसकालमा किन पूर्वराजाको पुच्छर भएर हल्लिरहेका ? अरू दुई/चार वृद्ध राजभक्त छन् । विचार र चरित्रका दृष्टिले यी छिप्पट शाही पञ्च हुन् । राजशाहीमा भोग गरेको सत्तास्वादको सम्झना यिनका चित्तमा ताजै होला ।
त्यसैले यिनमा नयाँ सन्दर्भमा पुरानो तुलसी गिरी वा कीर्तिनिधि बन्ने आकांक्षा कसो नहोला ? मध्यमवयी राजभक्तहरूमा ख्वामित्का टीकेमन्त्री बन्ने तीव्र तृष्णा कसो नहोला ? मनचिन्ते कल्पनामै सही सिंहासनमा वंशतन्त्र फर्किए के होला ? यी वृद्ध र अर्धवृद्ध राजभक्तहरूमाझ सत्ताका लाभका पद हत्याउने झिंगेदाउमा मारामार पो होला कि ?
लाग्छ, सबैजसो राजभक्त राजा र हिन्दुत्वको घन्ट बजाउने निहित स्वार्थका सिकारी हुन् । राजभक्त महलमा मण्डले हुँदै खारिएका दुई दह्रा सिकारी छन् । यिनमा राजाको कृपापात्र बन्ने उग्र होडबाजी चलिरहन्छ । यी सिकारी वंशतन्त्र फर्किहाले सत्ताको दह्रो आसन हत्याउने दूरदर्शी दाउमा छन् । यी दुई खग्रास सिकारी हुन्– कमल थापा र राजेन्द्र लिङ्देन ।
सत्तामुखी अवसरवादको कलामा यिनले विशारद प्राप्त गरेका छन् । वंशतन्त्रको चर्चा चुलिएको वर्तमानमा यी दुई पात्र भयंकर राजभक्त प्रतीत हुन्छन् । मानौं कि यिनलाई गणतन्त्रको सरकारमा छिर्ने छिद्र प्राप्त भयो । अब यी के गर्लान् ? एक थान मन्त्री पदको अगाडि ‘उप’ को पगरी गाँसिए राजभक्तिलाई इक्षुमतीमा सेलाएर सत्ताको तर मार्न यिनले गणतन्त्रको ध्वजामुनि सभक्ति शपथ खानेछन् ।
नजिर आँखै अगाडि छ त ! जन्ड राजवादी मानिएका शूरवीरको राजभक्तिको दशा यस्तो छ भने ठिनेमिने भक्तको राजभक्तिका के कुरा गर्नु ? पूर्वराजालाई लाग्दो हो, अहिले जनजनका नजरमा मप्रतिको आकर्षण बढ्दो छ । समस्त जगत्का दृष्टि ममाथि केन्द्रित छन् । पूर्वराजालाई यस्तो लाग्नु अस्वाभाविक होइन । रेस्टुराँ, नाइट क्लब, डान्स बार, सिनेमा हल वा मठमन्दिरमा गयो, निहुरिएर आफूसँग सेल्फी खिच्न मन गर्नेहरू वरिपरि झुम्मिन्छन् ।
पूर्वराजाप्रतिको यो आकर्षणका कारण निजको बौद्धिक सामर्थ्य र नैतिक सद्गुण, उदारता र परोपकारिता किमार्थ होइन । ज्ञानेन्द्र शाह अपुताली राजा नै भए पनि आखिर राजा भएका त हुन् कि ! राजा पीडित प्रजाका डरले दरबार वरिपरि गगनचुम्बी पर्खाल खडा गरी अनेक सुरक्षा घेराभित्र गुप्तबास गर्ने रहस्यमय जीव हो । यो रहस्यको कारण राजाप्रति आम जनमानसमा स्वाभाविक कतूहल पैदा हुन्छ । रहस्यको दुलोबाट राजा फुत्त प्रकट हुँदा कुतूहल मेट्न राजाका वरिपरि मानिस झुम्मिनु कुन नयाँ कुरा हो र ?
पूर्वराजाका वरिपरि मानिस झुम्मिनुको कारण अर्को पनि छ । गणतन्त्रको मौलो गाड्ने संग्राममा अहंभूमिका खेल्ने नेता कालान्तरमा सत्तासीन भए । सडकमा छँदा ती भुइँमान्छेका हितैषी साथी थिए, सत्तारोहरणपछि ती शनैःशनैः टोपीधारी राजामा रूपान्तरित भए ।
फलतः जनदृष्टिमा ती निकै अलोकप्रिय र अनाकर्षक दृष्टिगोचर भए । पूर्वराजा र भक्तगणका भ्रमित दृष्टिमा गणतन्त्रका शासकको अलोकप्रियता स्वतः राजाको लोकप्रियता हुन गयो, गणतन्त्रका शासकप्रतिको जनविकर्षण स्वतः राजाप्रतिको आकर्षण हुन गयो ।
पूर्वराजाको यो मिथ्या लोकप्रियता र जनआकर्षणबाट अर्को विराट् भ्रम पैदा भयो । गणतन्त्रका नेताहरू बद्नाम भए, पूर्वराजाको यत्रतत्र नामैनाम भयो । तसर्थ गणतन्त्रलाई ढालेर वंशतन्त्रलाई फर्काउने ऐन मौका यही हो । नतिजा स्वरूप तीनकुनेमा विध्वंशको भयावह नाटक मञ्चन गरियो । र, उक्त विध्वंशको ऐनामा वंशतन्त्रको कुरूप अनुहार छर्लङ्गै प्रतिविम्बित भयो ।
...
अहिले राजभक्त महलका साइबर सेनाको बिगबिगी र जगजगी छ । साइबर सेना वास्तवमा भाँड मनोवृत्तिद्वारा सिर्जित भाँड सेना हुन् । यिनमा केही थोरै स्वतःस्फूर्त र स्वयंसेवी होलान्, बाँकी सबै प्रायोजित र ज्यालादारी होलान् । साइबर सेनाको काम आफ्ना ख्वामित्को भक्तिभजन नगाउने जोकोही माथि अरिङ्गालको गोलोझैं खनिनु हो ।
राजभक्त साइबर सेना अन्य पक्षको अनर्गल निन्दा गर्छ, निजको चरित्रहत्याको चेष्टा गर्छ, कुट्ने–काट्ने ध्वाँस दिएर निजको तेजोवध गर्छ, मुख थुन्छ र समाजमा सांस्कृतिक प्रदूषण प्रवाहित गर्छ । अभद्र, अशिष्ट, अमर्यादित र दुच्छर भाषाको प्रयोगमा राजभक्त साइबर सेनाले भयानक कीर्तिमान कायम गरेको छ । यसको ताजा उदाहरण अभिनेत्री सुरक्षा पन्त हुन् । अभिनेत्री पन्तले पारसपुत्र हृदयेन्द्रबारे गरेको टिप्पणीमा अमर्यादा र अपमान लेसमात्र पनि ध्वनित हुँदैन ।
सुरक्षा पन्तका दुई टिप्पणी हुन्– ‘हृदयेन्द्रले कला क्षेत्रमा आउनु राम्रो हुन्छ’, ‘राजा बनाउने व्यवस्था संविधानले स्वीकार गरेको छैन’ । राजभक्तगणले सुरक्षाका मुखबाट सुन्न चाहेको हुँदो हो— ‘हृदयेन्द्र राजा बन्न सर्वथा लायक छन् । राजतन्त्रको जय होस्’ सुरक्षाले यसो नभन्दा राजभक्त साइबर सेना उनीमाथि यसरी खनिए कि तिनका वचनमा प्रकट भएको अभद्रता, अशिष्टता, अमर्यादा र अपमान शब्दातीत छ ।
नागरिकको रोजाइ, स्वतन्त्र अभिव्यक्ति र भिन्न मत राजभक्तहरूका परम शत्रु हुन् । राजभक्तहरू अहिल्यै यति क्षुद्र, दुष्ट र असहिष्णु छन् । कदाचित राजतन्त्र फर्किहाले यी कति क्षुद्र, दुष्ट र असहिष्णु होलान् ? राजभक्त अरिङ्गाल सेनाको मति र कर्मको ऐनामा पूर्वराजाको अनुहार राम्रो देखिएन ।
...
तीनकुने विध्वंशपछि राजभक्त महलका सर्वाधिक सशक्त र अभद्र दुर्गा प्रसाईं हिरासतमा प्याकिस भए । दुर्गावरिपरि झुम्मिएको झल्ला भीड घर फर्क्यो । राजभक्तको गोलो साँगुरियो, दम सुस्त भयो, र अब यो विसर्जनतर्फ उन्मुख छ । वास्तवमा तीनकुनेको वीभत्स विध्वंशकै क्षणमा राजभक्तको आन्दोलन तुरिएको थियो । त्यसपछिको लुरे लखरखलर केवल अवसानपछिको कर्मकाण्ड हो ।
...
मेरो यो लेखनीको मनसाय पूर्वराजा ज्ञानेन्द्रका दुःख बढाउनु होइन, सके घटाउनु हो । पूर्वमौसुफलाई मेरो सविनय सल्लाह छ— इतिहासको मसानघाटमा सेलाइएको वंशतन्त्र फर्किनु वीरबलको खिचडी पाक्नुजस्तै हो । दश वर्षको छँदा मैले कथामा वर्णित वीरबलको पकाउन रूखमा झुन्ड्याइएको खिचडीको कसौंडी देखेको थिएँ । अहिले ८० वर्षको उमेरमा यसो हेर्छु, कसौंडी रूखमा झुन्डिएको झुन्डियै छ । खिचडी नपाकेर थकित र आजीत वीरवल रूखको फेदबाट गायब भएका छन् । वंशतन्त्रको दुःख पनि त्यस्तै हो । यो पाक्दैन, मान्यवर !
पूर्वराजाको सिंहासनको अतृप्त तृष्णाबाट निसृत दुःखहरूले मलाई चीनका अन्तिम बादशाह पू यीको सम्झना गरायो । बादशाह पू यी जब सत्ताच्युत भए, तिनको अर्को औतार सुरु भयो । त्यो नागरिकतर्फ रूपान्तरणको औतार हो । पू यीले यो रूपान्तरणको कष्टकर र साथसाथै आनन्ददायी प्रक्रियाको अति रोचक वर्णन गरेका छन् । यो वर्णन पू यीको आत्मकथा ‘फ्रम इम्पेरर टु सिटिजन’ मा लिपिबद्ध छ ।
पूर्वराजालाई खान–लाउनको दुःख छैन । बरु सम्पत्तिको पौल कसरी सम्हाल्नुको दुःख होला । उमेर अवसानतिर ढल्किँदो छ । वंशतन्त्र फर्काउने वीरबलको किस्सालाई बिसाएर पूर्वराजाले पू यीले झैं आत्मकथा लेखे कति राम्रो हुन्थ्यो ! आत्मकथाको शीर्षक ‘फ्रम किङ टु सिटिजन’ राखे भएकै छ । पूर्वमौसुफको यो आत्मकथा पूर्वबादशाह पू यीको झैं आत्मस्वीकृतिको कथा होला । मरिजाने जुनीमा यो आत्मकथा पूर्वमौसुफको अमरत्वको कथा पनि त होला ।
पूर्वमौसुफ ज्ञानेन्द्र ! वंशतन्त्र नाउँको कहिल्यै नपाक्ने खिचडीको पछाडि लागेर आत्मपीडक भई आफूलाई कति सताउनु हुन्छ ? मेरो पुनः सविनय निवेदन छ— यावत् सांसारिक झैझमेला त्यागेर लागौं अब वानप्रस्थतिर !
(कान्तिपुरबाट)