भारत सरकारको गृह मन्त्रालयले सबै राज्य तथा केन्द्रशासित प्रदेशहरूलाई मे ७ का दिन पूर्वाभ्यास (मक ड्रिल) गर्न निर्देशन दिएको छ।
पहलगाममा भएको हमलापछि भारत र पाकिस्तानबीच लगातार बढिरहेको तनावबीच यसलाई असाध्यै महत्त्वपूर्ण मानिएको छ।
बीबीसीसँग गृह मन्त्रालयको जेनरल फायर सर्भिस, सिभिल डिफेन्स एन्ड होम गार्ड र सिभिल डिफेन्स महानिर्देशनालयका तर्फबाट ५ मेमा दिइएको निर्देशनको प्रतिलिपि प्राप्त भएको छ। यो निर्देशन सबै राज्य र केन्द्रशासित प्रदेशका मुख्य सचिवलाई पठाइएको छ।
त्यसमा सरकारले देशभरका २४४ सूचीबद्ध जिल्लामा 'सिभिल डिफेन्स'को अभ्यास र 'रिहर्सल' गर्न निर्देशन दिइएको छ।
'सिभिल डिफेन्स'को कानुनअनुसार गृह मन्त्रालयसँग राज्यहरूलाई यस प्रकारको पूर्वाभ्यासको निर्देशन दिने अधिकार रहन्छ।
पूर्वाभ्यासमा के हुन्छ?

खासमा पूर्वाभ्यासमा कुनै आपत्कालीन स्थितिमा मानिसहरूको प्रतिक्रिया कस्तो हुन्छ भन्ने जाँच्न खोजिन्छ। यसका लागि छानिएका मानिसहरू र स्वयंसेवकलाई तालिम पनि दिइन्छ।
आम तवरमा कुनै हमला, घटना या आगजनीजस्तो आपत्कालीन स्थितिका लागि कस्तो तयारी छ, त्यो जान्नका लागि पूर्वाभ्यास गरिन्छ।
गृह मन्त्रालयको पत्रअनुसार ७ मेको पूर्वाभ्यास सहरदेखि ग्रामीण स्तरसम्म हुनेछ।
यो पूर्वाभ्यासमा अनेक तरहका अभ्यास गरिने छन्। यसमा हवाई हमलाको चेतावनी कति प्रभावकारी छ त्यो जान्ने, 'कन्ट्रोल रूम'को कामकाज कस्तो छ हेर्ने र आम सर्वसाधारण तथा युवाहरूलाई हमलाका दौरान गर्नुपर्ने कामको तालिम दिने कुरा पनि सामेल छ।
यसै दौरानमा केही समयका लागि मानिसहरूका घर वा संस्थानका सबैखाले बत्ती पूर्ण रूपमा बन्द राख्न निर्देशन दिन सकिन्छ।
यो पूर्वाभ्यासमा यदि बिजुली पूर्ण रूपमा बन्द भयो भने त्यो स्थितिमा के उपाय गर्न सकिन्छ भन्ने पनि हेर्ने गरिन्छ।
यसको साथै यसमा आपत्कालीन स्थितिमा सिभिल डिफेन्सको प्रतिक्रिया, कुनै विशेष स्थानबाट मानिसहरूलाई सुरक्षित बाहिर निकाल्ने कसरी गर्ने भन्ने तालिम पनि सामेल हुन्छ।
यो निर्देशनका अनुसार पूर्वाभ्यासमा 'डिस्ट्रिक्ट कन्ट्रोलर', जिल्लाका अलगअलग अधिकारी, सिभिल डिफेन्सका स्वयंसेवकहरू, होम गार्ड, एनसीसी, राष्ट्रिय सेवा योजना (एनएसएस)का स्वयंसेवकहरू, नेहरू युवा केन्द्र सङ्गठन र स्कूल-कलेजका विद्यार्थीको सहभागिताको अपेक्षा राखिन्छ।
भारत र पाकिस्तानबीच बढ्दो तनाव

पहलगाम हमलामा २६ जनाको मृत्युपछि भारत र पाकिस्तानबीच तनाव चरम बिन्दुमा पुगेको छ। यसैबीच यी दुई देशका राजनीतिक नेताहरूबाट एकपछि अर्को वक्तव्य आइरहेका छन्।
भारतका रक्षामन्त्री राजनाथ सिंहले आइतवार साँझ "देशमाथि आँखा उठाउनेलाई सेनासँग मिलेर कडा जबाफ दिने" आफ्नो जिम्मेदारी भएको बताएका थिए।
यसका साथै रक्षामन्त्रीले अर्को एक कार्यक्रममा दर्शकहरूसँग "प्रधानमन्त्री मोदीको नेतृत्वमा तपाईँ जे चाहनुहुन्छ, त्यस्तै हुन्छ" पनि भने।
दिल्लीमा आइतवार साँझ सनातन संस्कृति जागरण महोत्सवको कार्यक्रममा राजनाथ सिंहले भाषण गरेका थिए। त्यसै बेला उनले न पहलगाम हमला, न पाकिस्तानको नाम लिए। तर सङ्केत गरेरै कैयौँ कुरा भने।
पाकिस्तानका रक्षामन्त्रीलगायत कैयौँ नेताले भारततर्फबाट कारबाही हुने आशङ्का गरेका छन्। भारतमा पनि लगातार पाकिस्तानविरुद्ध कडा कारबाही गर्नका लागि माग भइरहेको छ।
गत साता पाकिस्तानका रक्षामन्त्री ख्वाजा आसिफले एक निजी समाचार च्यानललाई दिएको अन्तर्वार्तामा भनेका थिए, "यदि भारतले पाकिस्तानको पानी रोक्ने या त्यसको दिशा बदल्नका लागि केही ढाँचा या निर्माण गर्यो भने त्यसलाई नष्ट गरिदिइने छ।"
अहिलेसम्म उठाइएको कदम

पहलगाम हमलापछि भारतले पाकिस्तानविरुद्ध कैयौँ निर्णय लिएको छ। सिन्धु सम्झौता निलम्बन गर्नुका साथै भारतले पाकिस्तानबाट सबै किसिमको आयातमाथि पूर्ण रूपमा रोक लगाएको छ।
त्यस्तै, 'डाइरेक्टरेट जेनरल अफ शिपिङ'ले पाकिस्तानका जहाजहरूलाई भारतका बन्दरगाहमा प्रवेश गर्न नदिने आदेश दिएको छ।
वैदेशिक व्यापारसम्बन्धी महानिर्देशनालय (डीजीएफटी)ले पनि मे २ तारिखमा सूचना जारी गर्दै भनेको छ, "पाकिस्तानबाट हुने सबै प्रकारका प्रत्यक्ष, अप्रत्यक्ष आयातमा तत्काल लागु हुने गरी अर्को आदेश नआउन्जेललाई प्रतिबन्ध लगाउने निर्णय गरिएको छ।"
यस्ता कदमको जबाफमा पाकिस्तानले पनि भारतविरुद्ध कैयौँ कदम उठाएको छ।
पाकिस्तानले भारतको स्वामित्व भएको वा उसका तर्फबाट सञ्चालित सबै विमान सेवालाई आफ्नो हवाई क्षेत्रमा प्रवेश निषेध गरिदिएको छ।
त्यस्तै वाघा सीमा पनि बन्द गरिएको छ।
पाकिस्तानले सिख तीर्थयात्रीबाहेक सार्क भिसा छुट कार्यक्रमअन्तर्गतका सबै भारतीय नागरिकलाई दिइएको भिसा निलम्बन गरिदिएको छ र त्यसलाई रद्द भएको मान्नुपर्ने बताएको छ।
(बीबीसीनेपालीसेवाबाट)