कान्छा छोरा टंकबहादुर केसी र नातिनी ऋतुसँग आमा पार्वतीको २०४० सालमा लिइएको तस्बिर ।


काठमाडौँ — ‘म धेरैपछि आमा सम्झेर रोएँ नि,’ राष्ट्रिय जनमोर्चा पार्टीका अध्यक्ष चित्रबहादुर केसीले दुई दिनअघि भएका संवादको प्रसंग सम्झँदै थिए, ‘त्यो रात म निदाउनै सकिनँ । जबजब आमाको सम्झना आउँछ, मलाई यस्तै हुन्छ ।’

mount school

कपनस्थित पार्टी कार्यालयभित्र उनको आवास छ । बिसञ्चो भएकी जीवनसाथी पार्वतीसँग केही दिन बिताएर उनी वैशाख १० मा रूपन्देहीबाट काठमाडौं फर्केका थिए । ‘छोड्नै मानेकी थिइनन् । तर पार्टीको कामले आउनैपर्‍यो,’ चित्रबहादुरले पत्नीप्रेम व्यक्त गर्दै भने । आफूलाई रित्याएर माया गर्ने जीवनसाथी सम्झँदा उनलाई लाग्छ, ‘ठ्याक्कै आमाजस्तै ।’

८५ वर्षीय चित्रबहादुर प्रतिनिधिसभाका सांसद हुन् । हुन त उनी उपप्रधानमन्त्रीसमेत भइसके । तर, सत्ताको रापले उनको सोच र जीवनलाई कुनै प्रभाव पारेन । सार्वजनिक यातायात चढेर वा पैदल हिँडेरै उनी संसद् भवन जान्छन् । कुनै महँगा सपना छैनन्, विलासी जीवन पनि बाँच्दैनन् ।

जीवनसाथी पनि आफूजस्तै पाएका छन् । ‘लाग्छ, ऊजस्तो मिहिनेती र बुझ्ने को होला र ? दुरुस्तै आमाको स्वभाव छ,’ चित्रबहादुर श्रद्धापूर्वक भन्छन् । स्वभाव मात्र हैन, सासूबुहारी दुवैको नाम पनि एकै छ, पार्वती केसी । स्मृतिका सिलसिला गाँसिन थालेपछि चित्रबहादुरको आँखामा आमाका गाढा चित्रहरू देखिन थाले । आमा सम्झनासाथ वृद्ध अनुहारमा कहिले बालसुलभ हाँसो भेटिए, त कहिले न्यास्रोले भिजिरहेका आँखा । त्यही हाँसो र आँसुमिश्रित मुद्रामा उनले धाराप्रवाह आमाका कथा सुनाए ।

१९९७ माघ २० । ‘त्यो दिन के भएको थियो ?’ बाल्यकालमा चित्रबहादुरलाई खुब जान्न मन लाग्थ्यो । उनी जन्मेको दिनबारे आमा पार्वती सबिस्तार सुनाउँथिन्, ‘त्यो दिन म माइत गएको थिएँ, तेरी हजुरआमाले मलाई असाध्यै माया गर्नुहुन्थ्यो । साँझ ५ बजे उहाँले मेरा लागि खाना बनाउने तरखर गर्नुभयो । त्यहीबेला मलाई व्यथा लाग्यो ।’

पार्वतीले आमालाई व्यथा लागेको सुनाइनन् । त्यतिबेला माइतमा सुत्केरी गराउने चलन थिएन । व्यथा लागेकै अवस्थामा हतारहतार बागलुङको गलकोटस्थित गल्याङमा रहेको घरतफै कुदिन् । मूलबाटोमा पुग्दा ससुरा पर्ने दुई जना नातेदारसँग भेट भए पनि पार्वतीले आफ्नो प्रसव पीडाबारे सुनाइनन् ।

‘असाध्यै गाह्रो भएपछि आमा खरबारीको बाटो लाग्नुभएछ । घर पुग्नुभन्दा ३ मिनेटको फरकमा तल एउटा बाँसघारी छ । त्यहीं पुगेपछि बच्चा खस्न लागेछ । त्यहाँ आड राखेर आमाले मलाई जन्माउनुभएछ,’ चित्रबहादुर आफू जन्मेको क्षण सुनाउँछन् । हातमा शिशु बोकेर पार्वती घर पुगिन् । घरमा श्रीमान्लाई भेट्न आइपुगेका तिनै नातेदार पिँढीमा बसिरहेका रहेछन् । पार्वतीको हातमा बच्चा देखेपछि जिल खाँदै सोधेछन्, ‘तिमीले कसको बच्चा ल्याएकी ?’ पार्वतीले हाँस्दै भनिछन्, ‘आफ्नै... ।’

माइलो सन्तानका रूपमा चित्रबहादुर जन्मेका थिए । उतिबेला सन्तान जन्माउनभन्दा जोगाउन कठिन थियो । अचानक चित्रबहादुर बिरामी परे । आमाले गरेका ओखतीमूलोले कुनै काम गरेन । छिमेकमा बिहेको बाजा घन्किरहेको थियो । पार्वतीे भने मृत्यु पर्खिरहेको छोरालाई केराको पातमा सुताउँदै टुलुटुलु हेरिरहेकी थिइन् । टिलपिल आँखा पार्दै रातभरि ईश्वर पुकारिरहिन् । नभन्दै अनौठो चमत्कार भयो । चित्रबहादुरले पुनर्जीवन पाए । छोरा बुझ्ने भएपछि आमा भन्थिन्, ‘खै, कसरी कसरी तँ बाँचिस् । अनि बल्ल मेरो मन सन्चो भयो ।’

चित्रबहादुरका बा नरिश्वर शर्माका पाँच श्रीमती । पहिलो श्रीमतीको मृत्यु भएपछि उनले पार्वतीलाई ल्याएका थिए । त्यसपछि चित्रबहादुरले देखुन्जेल बाले तीन वटी आमा ल्याए । ‘आमाले बाविरुद्ध कति संघर्ष गर्नुभयो, पछि मैले पनि गरें,’ चित्रबहादुर सम्झन्छन्, ‘बाका छोराछोरी भने तीन आमाबाट भए । बाँकी आमाले छाडे ।’ उनकी आमाका ८ भाइ छोरा र तीन छोरी भए । अर्को आमाका ६ छोरा र ७ छोरी । आमा पार्वतीले बाका कारण सन्तान हुर्काउन कठोर संघर्ष गर्नुपर्‍यो ।

आमा पार्वतीको कृषिमा लगाव अनि धर्मकर्ममा विशेष रुचि थियो । तर चित्रबहादुर कम्युनिस्ट आन्दोलनमा सक्रिय भएपछि आमामा रूपान्तरण भयो । चित्रबहादुरको घर कम्युनिस्ट नेताहरूको अड्डा हुन थाल्यो । आमा उनीहरूको प्रत्येक बैठक सुन्न थालिन् । आमालाई यतिसम्म प्रभाव पर्‍यो कि, कुनै बेला अण्डा खान नदिने उनी बिस्तारै भान्सामै भैंसीको मासु पनि पकाइदिन थालिन् । चित्रबहादुरले युवावस्थामा म्याक्सिम गोर्कीको उपन्यास ‘आमा’ पढेका थिए । उनले बिस्तारै आफ्नी आमामा पनि उपन्यासको मुख्य पात्र पावेलकी आमाको चित्र पाउन थाले ।

साक्षर मात्र थिए चित्रबहादुर । इन्डियन आर्मीमा भर्ती हुने सपना देखेका थिए । तयारी पनि थियो । तर १७ वर्षको उमेरमा उनको बाटो एकाएक मोडियो । भारत गएर आर्मी हैन, काठमाडौं गएर कम्युनिस्ट बने । ०१४ सालतिर, गलकोट अलग्गै राज्य थियो । त्यहाँका राजा सुवर्णशमशेरका भिनाजु भरतबम मल्ल थिए । पछि डा. केआई सिंह प्रधानमन्त्री भएपछि त्यो राज्य उन्मूलन भयो । राज्य उन्मूलन भएपछि चित्रबहादुरका बा गलकोटे राजाकहाँ दुई वर्ष भान्से बसे । एकदिन गलकोटबाट तत्कालीन राजा महेन्द्रलाई बिन्तीपत्र बिसाउन एक टोली काठमाडौं जाने भए । टोलीमा नरिश्वर पनि थिए ।

A mother converted from a communist son

त्यही बखत चित्रबहादुरको घरमा नुन सकिएको थियो । गहुँसँग नुन साटेर चित्रबहादुर घर फर्किने सल्लाहमा बाउ–छोरा सदरमुकाम हिँडे । नुन भरेर घर जान ठिक्क परेको बेला बाले भने, ‘अब तँ मसँग पोखरा हिँड् ।’ जब उनीहरू पोखरा पुगे । नरिश्वरको मनमा के चलेछ कुन्नि, उनले छोरालाई भने, ‘यहाँसम्म आइपुगिस् । अब हिँड् काठमाडौं जाऊँ, बरु धेरै नबसौंला ।’ पहिलो पटक ६० रुपैयाँमा जहाज चढेर चित्रबहादुर काठमाडौं आए । काठमाडौंको नक्सालमा गलकोटे राजाको घर थियो । गलकोटे राजाका परिवारले नरिश्वरलाई भने, ‘कति छोराहरूलाई गोठालो, खेतालो बनाउँछस् । यसलाई यहीं राखेर पढाऔं ।’

छोराले पढ्न पाउँछ भनेर बाले दरबारमै छाडेर हिँडे । तर चित्रबहादुरले पढ्न कहाँ पाउनु ? बिहानदेखि राति १२ बजेसम्म भाँडा माझ्नुपर्ने । दिउँसो तीन बजेसम्म भोकै । त्यो शोषण र यातनाले चित्रबहादुर गले । अनि रुँदै आमालाई चिठी लेखे, ‘म यहाँ नोकर भएर बसेको छु । यहीं बसें भने बाँच्दिनँ, फर्किन चाहन्छु । जसरी भए पनि बाटो खर्च पठाइदिनुस् ।’ छोराको चिठी पढेपछि आमा खुब रोइन् । ‘छोरा मर्नुभन्दा बरु म बुच्चो बस्छु’ भन्दै उनले कानका गहना झिकेर काठमाडौं जाने मान्छेलाई पठाइदिछन् । त्यो चार तोलाको सुन हात परेपछि चित्रबहादुरको सोच बदलियो । उनले आमालाई पत्र लेखे, ‘आमा, तपाईंले छोरो मर्न लाग्यो भनेर कानको सुन फुकालेर पठाउनुभयो । रैतीहरूले नपढोस् भन्ने राजाको चाहना छ । मलाई पढ्ने विचार आयो ।’ छोराले पढ्ने निर्णय गरेकोमा आमा औधी खुसी भइन् । पछि त घरका अन्न बेचेर जम्मा भएका दुईचार पैसा पनि छोरालाई पठाउन थालिन् ।

आमाका सुन चित्रबहादुरले ३ सय ९८ रुपैयाँमा बेचे । पैसा हात पर्नासाथ गलकोटे राजाको दरबार छाडे । पाँच रुपैयाँमा काठमाडौंमा डेरा लिए । नन्दीकिशोरी पाठशाला हाइस्कुलमा भर्ना भए । ‘त्यहाँ ३ वर्षमा एसएलसी पास गर्ने चलन थियो । त्यसका लागि साक्षर र १६ वर्ष काटेको हुनुपर्थ्यो,’ उनी सम्झिन्छन् । स्कुल पढ्दा उनको प्यूठानको एक युवकसँग भेट भयो । उनी कम्युनिस्ट रहेछन् । उनको व्यवहारबाट आकर्षित भएका चित्रबहादुर उनकै पछि लाग्न थाले । पछि उनैले कम्युनिस्ट पार्टीमा प्रवेश गराए ।

चित्रबहादुर एसएलसी दिएर गाउँ पुगे । गलकोटेहरूले अनर्गल प्रचार गरे, ‘हाम्रा छोराछोरीले १० वर्ष पढेर त म्याट्रिक दिन सक्दैनन्, यो हावा हो ।’ यद्यपि, एसएलसीको परिणाम आएपछि भने उनीहरूको मुख बन्द भयो । उनी सेकेन्ड डिभिजनमा पास भए । गाउँमा उनी अब ‘प्रकाण्ड विद्वान्’ कहलिए, गाउँकै स्कुलमा हेडमास्टर बने ।

चित्रबहादुरको भूमिगत राजनीतिमा आमाले साथ मात्र दिइनन्, सहभागी पनि भइन् । आमसभा छ भने उनी थाहै नदिई अगाडि नै पुग्थिन् । कार्यक्रममा चित्रबहादुर लामा लामा भाषण गर्थे । आमा छोराको घाँटी सुक्छ भनेर दही, दूध ठिक्क पारेर राख्थिन् । अनि चित्रबहादुरलाई पिउन दिँदै भन्थिन्, ‘धेरै नबोल, घाँटी दुख्छ ।’ चित्रबहादुरको घरमा मोहन वैद्य, निर्मल लामा, देव गुरुङ, झलनाथ खनाललगायत नेताहरू पटक–पटक पुगेका छन् । झलनाथका त चित्रबहादुर पथप्रदर्शक नै थिए । भूमिगत राजनीतिमा छोराका साथीहरूलाई छोराजतिकै स्नेह गर्थिन् पार्वती । उनीहरूलाई जुनसुकै बेला पनि पकाएर खुवाउन तयार हुन्थिन् ।

पञ्चायतकालमा वारेन्ट जारी भएपछि लुकीलुकी हिँड्नुपर्ने भयो, चित्रबहादुरलाई । छोरालाई खाना खुवाउँदा बाहिर हरेक पटक जाँच गर्थिन्, आमा । छोरालाई मार्छन् भन्ने ठूलो पिर थियो आमालाई । ०२८ सालतिर हुनुपर्छ, बारीको कामबाट घर फर्कंदा थकित चित्रबहादुर साँझ खाटमा ढल्केका मात्र के थिए, निदाएछन् । रातको १ बजे बाहिर प्रहरीले घर घेरिसकेछन् । ब्युँझँदा उनले बाहिर आमा कराइरहेको सुने, ‘तिमीहरूले के गर्न खोजेको यो ?, रातिराति अर्काको घर आउने ? के गरेको छ मेरो छोराले ? मान्छे मारेको छ ?’ आमा प्रहरीको बाटो छेक्न थालिन् । तर उनको के जोर चल्थ्यो र ? चित्रबहादुरलाई लगिछाडे ।

बागलुङको जेलमा हुँदा एक पटक साइँला भाइ भेट्न पुगे चित्रबहादुरलाई । भाइले आँखाभरि आँसु पार्दै भने, ‘चिन्नै नसक्ने हुनुभएछ ।’ उनलाई षड्यन्त्र गरेर झूटा मुद्दामा फसाइएको थियो । जब बागलुङ सहर रातमा सुनसान हुन्थ्यो, प्रहरीको यातना त्यसपछि सुरु हुन्थ्यो । मरणासन्न हुने गरी कुट्थे । ओठमा चुरोट झोसिदिन्थे । साइँलो भाइलाई आमाले एक घरी मालुङ्गे केरा र चार माना घिउ पठाइदिएकी थिइन् । त्यसबखत अञ्चलाधीशलाई अत्यधिक गर्मी हुने समस्या देखिएछ । वैद्यले मालुङ्गे केरा खान सुझाएछन् । जेलर चित्रबहादुरसँग केरा माग्न आएछन् । चित्रबहादुरले भनेछन्, ‘केरा त के बोक्रो पनि दिन्न । बरु खोलामा बगाउँछु ।’ ९ महिनापछि उनी जेलमुक्त भए ।

चित्रबहादुरले थुप्रै पुस्तक पढे, मार्क्सवादी सिद्धान्त पढे । उनको विचारमा परिवर्तन ल्याउने काम ती पुस्तक र साहित्यले त जरुर गरे होलान्, तर कुनै पुस्तक नपढेकी आमाको अधिकांश गुण तीभन्दा अमूल्य छन् चित्रबहादुरलाई ।

परिवारको आकार ठूलो हुँदै गएपछि भाइ–भाइबीच छुट्टिनुपर्ने भयो । आमाको आग्रह थियो, ‘तँ नछुट्टी माइला । घरमा तेरो पार्टीका साथीहरू आउँछन्, तिनीहरूलाई खुवाउनुपर्छ । माइली एक्लैले सक्दिनँ ।’ भाइहरू आमाको चाहनाविपरीत छुट्टिए ।

आमा कहिले भाइहरूसँग बस्थिन्, कहिले चित्रबहादुरसँग । कहिले एक्लै पनि । आमा एक्लै बस्दा चित्रबहादुरकी जहानले नियमित दूध लगिदिन्थिन् । चार महिनापछि आमाले छोरालाई भनिन्, ‘माइला, त्यो भैंसी पनि बुहारीले ऋण काढेर ल्याएकी हुन् । मैले त्यत्रा दिन दूध खाएँ । त्यसको हिसाब गर ।’ आमाको बोलीले छोराको हृदय बिझ्यो ।

०५२ सालतिर, आमा ७९ वर्षकी भइसकेकी थिइन् । त्यसबखत चित्रबहादुरको परिवार मधेश (रुपन्देही) झर्ने तयारीमा थियो । उनले आमालाई भने, ‘तपाईं मैसित जानुपर्छ ।’ आमाले मन दरिलो बनाएझैं गरी भनिन्, ‘म बस्छु । किन जानु अहिले ? तैंले सधैं त छाडेर हिँडेकै छस् मलाई । गए भनें अलि पछि जाउँला ।’ चित्रबहादुर आमालाई जिद्दी गरिरहे । आमाले थपिन्, ‘म तँ नभई त बाँच्दै बाँच्दिनँ । धान पाकेको छ, त्यो काटेर कसैलाई जिम्मा लगाएर आउँला । बरु अहिले यो पाँच हजार लिएर जा, त्याँ तेरो छाप्रो मात्रै छ, चर्पी बना । अनि म आउँछु ।’ जाने दिन आमाको गह भरिए । मन अमिलो बनाउँदै चित्रबहादुर तराई झरे । आमाको आँखामा आँसु सम्झेर चित्रबहादुरको मन बाटाभरि बिग्रिरह्यो ।

पछि गाउँका मान्छेसँग कुरुक्षेत्र जाने भनेर आमा भारततिर लागिछन् । चित्रबहादुरले आफन्तबाट फोनमा थाहा पाए । ‘म काठमाडौं जान झोला बोकेर हिँड्न लागेको थिएँ । खबर पाएपछि पिर पर्‍यो । झोला फ्याँकेर आमा खोज्न हिँडें,’ चित्रबहादुरले ती दिन सम्झे । कान्छा छोरा, बहिनीज्वाइँ र उनी मिलेर आमा खोज्न थाले । आमालाई सुनौलीबाट भारत जान ठिक्क परेको बेला बसमा भेटाए । छोरा देखेपछि भक्कानिन् थालिछन् । चित्रबहादुरका पनि आँखा धमिला भए । कति समयदेखिको भोको पेट हिँडेकी आमालाई होटलमा खाजा खुवाउन लगे । आमा भने उल्टै छोरालाई खुवाउनतर्फ लागिन् । चित्रबहादुरलाई अहिले सम्झँदा पनि लाग्छ, ‘आफू भोको हुँदा पनि मलाई खुवाउन खोज्ने कस्तो माया ?’

त्यसपछि आमालाई तीर्थयात्रा पुर्‍याएर ल्याउने निर्णय गरेर आमासँगै हस्तिनापुर हिँडे । चित्रबहादुरको मनमा थियो, ‘तीर्थ लगेर आमाको मन खुसी बनाउँछु । अनि मधेशमा आफूसँगै राख्छु ।’ नौतुनाको बीचमा गाडी रोकियो । आमा शौचका लागि ओलिइन् । आमासँगै चित्रबहादुर पनि ओर्लिए । आमा दाहिनेतर्फ गइन् । उनले हेरिरहे । शौच गरेर आमा सडक पार गर्दै थिइन् । त्यहीबेला सुनौलीतर्फबाट हुँइकिँदै आएको ट्रकले आमालाई हान्यो । चित्रबहादुरको टाउकोमा पहाड बज्रिएजस्तो भयो । जमिन भासिएजस्तो भयो । ‘त्यो दृश्य म कसरी सम्झन सकूँ !’ चित्रबहादुर अहिले पनि विचलित हुन्छन् ।

आमालाई आँखैअघि गुमाएपछिका थुप्रै दिन अँध्यारोमै गुज्रिए । तीन महिनासम्म उनी आफ्नै नियन्त्रण बाहिर थिए । तीन महिनासम्म त उनलाई जीवन जीवनजस्तै लागेन । बाँच्नु, बाँच्नुजस्तै लागेन । ‘म कहिल्यै पार्टीमा निष्क्रिय नहुने मान्छे, आमा बितेपछिका ३ महिना त केही गर्न सकिनँ,’ चित्रबहादुर त्यो कठिन समय सम्झन्छन् ।

वामपन्थीहरूसँग संगत बढ्दै गएपछि आमा बिस्तारै भौतिकवादी हुन थालेकी थिइन् । उनले छोरालाई भनेकी थिइन्, ‘म मरेपछि किरिया गर्नु पर्दैन है ।’ उनले आमाले भनेजस्तै गरे ।

३० वर्ष भयो, अहिले पनि आमा सम्झेको दिन उनलाई उदासीले छोप्छ । भोकले छाड्छ, निद्राले छाड्छ । आफू रित्याएर माया गर्ने आमा गुमाएको पनि सपनाजस्तै लाग्छ, चित्रबहादुरलाई ।

chitrabahadurkc-5-2942025042821-1000x0

(कान्तिपुरबाट)