मणिलाल विश्वकर्मा
लहान, ९ मंसिर। दाजु–बहिनी खेल्ने क्रममा करेन्ट लागेर गम्भीर घाइते भएका सिराहाको सखुवानान्कारकट्टी गाउँपालिका ३, पोर्ताहा गाउँका नाबालकका परिवारले उपचारका लागि आर्थिक सहयोगको अपिल गरेको छ।
२ मंसिरमा करेन्ट लागेर गम्भीर घाइते भएका स्थानीय ईश्वरलाल सदाका एक्लो छोरा करिब आठ वर्षका आयुस सदाको उपचारको लागि परिवारजनले सहयोगको अपिल गरेका हुन्।
भारतको हरियाना राज्यको जमुनानगरमा बहिनी आसिकीसँग क्रिकेट खेल्ने क्रममा करेन्ट लागेर घाइते भएका उनलाई स्थानीय अस्पतालमा उपचार गराउन खोजिए पनि आर्थिक अभावमा घर फर्किएको उनले सुनाए।
घर फर्किएको एक सातासम्म रकम अभावमा उपचारका लागि कतै लैजान नसकेको उनको गुनासो छ। गाउँब्लकको मुस्किलले दुई धुर जमिन र त्यसमा बनेको झुपडीबाहेक केही नरहेका उनले छोराको उपचारमा सबैको सहयोगको याचना गरेका हुन्।
आर्थिक अभावमा उपचार गराउन नसकेका उनलाई बुधबार बिहान स्थानीय अभियन्ता उमेश यादव, देवनाथ यादवलगायतका युवाहरूले नौ हजार रुपैयाँ सहयोग गरेका छन्।





















