सुभाष कायास्थ
जनकपुरधाम, ३० गते। गत ११ दिनदेखि हराई रहेका धनुषाको विदेह नगरपालिका ६ तिनकौरिया बजारका १५ महिने बालक घर नजिकैबाट सकुशल फेला परेका छन्। स्थानीय कमलेश महतोका १५ महिने छोरा सिद्धान्त महतो भदौ १८ गतेदेखि हराईरहेका उनी १२ खिन घरु नजीकै फेला परेका हुन्।
हराएकै दिनबाट प्रहरीले सोही दिनदेखि खोजतलाश शुरु गरेपनि अन्ततः घर नजिकैको केराबारीबाट बालक फेला पर्यो। रहस्यमय ढङ्गले फेला पारेपछि बालक हराएको होइन अपहरणमा परेको भन्ने प्रहरीले ठम्याए।
अपहरण आरोपमा प्रहरीले एक महिलालाई पक्राउ समेत गरेका छन्। जिल्ला प्रहरी कार्यालय धनुषाका सूचना अधिकारी डीएसपी ओमप्रकाश खनालले भने, ‘पहिला हामीलाई सूचना आयो बालक हराएको छ, सोही आधारमा मधेश प्रहरी र जिल्ला प्रहरीको संयुक्त टोलीले परिचालन गरी खोजतलाश थाल्यौ, अन्ततः घर नजिकै फेला परेपछि बालक अपरहणमा परेको रहस्य खुल्यो।’
अपहरण भएका ११ दिनसम्म बालक कहाँ थियो भन्ने प्रश्न डिएसपी खनालले भने, ‘प्रारम्भिक अनुसन्धानको क्रममा ती महिलाले बालकलाई नेपाल भारत घुमाईरहेको थियो। कहिले आफ्नो घरमा राख्ने त कहिले आफ्नो माइतसहित विभिन्न नातेदार कहाँ भारत बिहारको मधुबनी जिल्लाका विभिन्न स्थान राख्ने गर्यो।’
उनले थप्दै भने ‘बालकको खोजीमा प्रहरीले निरन्तर फलोअप तथा अनुसन्धान गरिरहेका थियौं सोमवार दिउँसो करीब साढे तीन बजे अपहरित बालकको घरबाट ३ सय मीटरको दूरीमा रहेको केराबारीमा बालक फेला परेपछि अनुसन्धान गर्दै जाँदा कमला नगरपालिका ९ हथलेट्वाकी करिब ४१ वर्षीया पुनिता देवी पासवानलाई पक्राउ गरियौं।’
बालकलाई छाडेर भागेकी पुनिता देवी पासवानलाई बालक हराएको १५÷२० मिनेटमै भारततर्फ भाग्दै गरेको अवस्थामा विदेह नगरपालिका १ महिनाथपुरस्थित दशगजा क्षेत्रबाट पक्राउ गरियो। उनले के कति कारणले अपहरण गरेको भन्ने कुरा अहिलेसम्म खुल्न सकेको छैन तर उनीविरुद्ध अपहरण, शरीर बन्धक, मानव बेचबिखन तथा ओसारपसारसम्बन्धी कसुरमा अनुसन्धान भइरहेको डिएसपी खनालले जनाएको छ।
(न्युज कारखाना)






















