• चन्द्रकिशोर

सर्लाही बलराको जब्दी गाउँ जाँदा थाहा भयो, दिनेश सहनी (५६) अब गाउँका अन्तिम हरवाह  (हलो जोत्ने) रहेछन्। मलाई लाग्यो, गाउँमा एउटा पुरानो शब्द अझै बाँकी रहेछ। दिनेशसँग दुई वटा गोरु छन्– एउटा सेतो, अर्को गेरुआ। गोरु हेर्दा लाग्छ– बिहान र बेलुका एउटै डोरीले बाँधिएका छन्। दिनेश गोरुलाई नामले बोलाउँछन् कि बोलाउँदैनन्? मैले सोधिनँ। तर, गोरुले उनको आवाज चिन्छ भन्नेचाहिँ देखियो।

705521264_1588534663277540_4869241638790147670_n

दिनेशका बुबा पनि हरवाह थिए। उनले पनि अरूका खेत जोते। माटोको रङ बदलियो होला, मौसम बदलियो होला। तर, हलोको फालले कोर्ने रेखा उस्तै रह्यो। गरिबी पनि धेरै हदसम्म उस्तै रह्यो। गाउँको कृषि संरचनामा हरवाहको भूमिका साह्रै कठिन तर महत्त्वपूर्ण थियो। तर, त्यसको आर्थिक प्रतिफल सीमित थियो। श्रम पुस्तान्तरण भयो, सम्पत्ति भएन। दिनेशले पनि बुबाबाट हलो जोत्न सिके तर उनले बुबाको नियति दोहोर्‍याएनन्।

गाउँमा ट्र्याक्टर आएको छ। ट्र्याक्टरको आवाज टाढासम्म जान्छ। गोरुको पाइला त्यति टाढा सुनिँदैन। तर कतिपय कुरा आवाजले होइन, उपस्थितिले बाँच्छन्। दिनेशका गोरु अझै खेतमा पुग्छन्। बिहान उनी हलो जोत्छन्। दिउँसो टायर गाडी चलाउँछन्। दुई गोरुले बिहान माटो तान्छन्, दिउँसो जिन्दगी। एउटै पुँजीले दुई वटा रोजगारी सिर्जना गरेको छ। कहिलेकाहीँ लाग्छ, दिनेशले गोरु पालेका होइनन्, गोरुले दिनेशलाई पालिरहेको छ।

सामान्य बुझाइ के छ भने ट्र्याक्टर आएपछि हरवाहको आवश्यकता समाप्त हुन्छ। तर, गाउँको अर्थतन्त्र त्यति सरल हुँदैन। गाउँमा ट्र्याक्टर आएपछि हलो जोत्न सक्ने मानिसको संख्या झन् तीव्र गतिमा घट्यो। युवाहरू वैदेशिक रोजगारीमा गए, मजदुरीका नयाँ अवसर खोजे। हलो जोत्न सक्ने सीप दुर्लभ बन्दै गयो। यही दुर्लभताले दिनेशलाई नयाँ मूल्य दियो।

दिनेश भन्छन्, ‘म पढेको मान्छे होइन। मिहिनेत गर्न जान्दछु।’ उनले यो कुरा यसरी भने, मानौं घामले आफू उज्यालो भएको घोषणा गरेको हो। कुनै गर्व थिएन, कुनै गुनासो पनि थिएन। समयले उनको पेसा पुरानो बनायो तर त्यही पुरानोपनले उनलाई आवश्यक पनि बनाइदियो। मैले सोचिरहें, दिनेशपछि के हुन्छ? यो वाक्य ग्रामीण नेपालका बदलिँदा श्रम सम्बन्धहरूको सानो सारांश हो। सीप हराउँदै जाँदा त्यसको मूल्य बढ्न सक्छ। तर, त्यससँगै एउटा प्रश्न पनि उठ्छ– दिनेशपछि के? उनका छोराहरूले हलो जोत्न सिकेका छैनन्। गाउँका अरू युवा पनि यो पेसातिर फर्कने सम्भावना कम छ। त्यसैले दिनेश केवल एक व्यक्ति होइनन्, एउटा युगका अन्तिम प्रतिनिधि हुन्।

विकासका तथ्यांकले ट्र्याक्टरको संख्या गन्न सक्छन् तर दिनेश सहनीजस्ता मानिसको संख्या गन्न सक्दैनन्। जबकि गाउँको वास्तविक परिवर्तन त्यहीं लेखिएको हुन्छ  जहाँ एउटा पेसा हराउँदै छ, एउटा सीप दुर्लभ बन्दै छ र एउटा मानिस समयको परिवर्तनसँग जुध्दै आफ्नो ठाउँ जोगाइरहेको छ। दिनेश सहनी गाउँका अन्तिम हरवाह मात्रै होइनन्। उनी हामीलाई सम्झाइरहेका छन् कि विकासको कथा मेसिनले मात्रै लेख्दैन। त्यसको अर्को पाटो श्रमिकका हात, गोरुको पाइला र माटोको गन्धले पनि लेख्छ।

सायद ट्र्याक्टर अझ बढ्नेछ। खेत जोतिनेछ। बाली फल्नेछ। तर, गाउँको एउटा दृश्य हराउनेछ– माटो चिर्दै अघि बढ्ने दुई गोरु र गोरु पछाडि हलो समातेको एउटा मानिस। गाउँबाट धेरै कुरा हराउँदा हामीलाई थाहा हुँदैन। तर, कहिलेकाहीँ एउटा मानिस बाँकी रहँदा थाहा हुन्छ– एउटा समय अझै पूरा हराएको छैन। दिनेश सहनी त्यही बाँकी रहेका समय हुन्।

गाउँमा परिवर्तन नाप्ने आफ्नै तरिका हुन्छ। सहरका मानिसले त्यसलाई जीडीपी, उत्पादन वृद्धि, उत्पादकत्व र विकास दरका तथ्यांकमा खोज्छन्। तर, गाउँलेले परिवर्तनलाई आवाजबाट चिन्छ। कहिल्यै बिहान–बेलुका घण्टीको टनटन सुनिन्थ्यो, आज डिजेल इन्जिनको घरघराहट सुनिन्छ। प्रश्न यो होइन कि बैलगाडीदेखि ट्र्याक्टरसम्म पुग्नु प्रगति हो कि होइन? प्रश्न हो– यो यात्रामा को अघि बढ्यो र को पछाडि छुट्यो?

कृषिमा बैलगाडीदेखि ट्र्याक्टरतर्फको संक्रमण केवल प्राविधिक परिवर्तन होइन। यो अर्थशास्त्र, राजनीति, समाजशास्त्र र सत्ता सम्बन्धको गहिरो कथा हो। खेतमा चल्ने ट्र्याक्टरले केवल माटो जोत्दैन, ग्रामीण समाजको संरचना पनि जोतिदिन्छ। बैल किसानको सम्पत्ति पनि थियो, साथी पनि। बैल मर्दा किसान शोक गर्थ्यो। ट्र्याक्टर बिग्रँदा किसान मिस्त्री खोज्छ। सम्बन्धको स्वरूप फेरिएको छ। ट्र्याक्टरले उत्पादन बढायो, खेत छिटो जोत्यो, समय बचायो। यसमा विवाद छैन। तर, हरेक प्राविधिक परिवर्तनले शक्ति र स्रोतको पुनर्वितरण पनि ल्याउँछ।

गाउँमा सबैभन्दा पहिले ट्र्याक्टर कसले किन्यो? प्रायः उसैले, जससँग पहिले नै धेरै जमिन, धेरै पुँजी र धेरै राजनीतिक पहुँच थियो। ट्र्याक्टर खेतमा आउनुअघि सत्ताको आँगनमा आयो। त्यो केवल मेसिन थिएन, प्रतिष्ठाको प्रतीक थियो। जसको घर अगाडि ट्र्याक्टर उभिन्थ्यो, गाउँमा उसको हैसियत फेरिन्थ्यो। बिस्तारै ट्र्याक्टरले खेतको जोताइसँगै ग्रामीण अर्थतन्त्रलाई पनि पुनर्गठन गर्न थाल्यो। साना किसान, जो पहिले बैलको भरमा खेती गर्थे, अब ट्र्याक्टर भाडामा लिन थाले। खेतीको लागत बढ्यो। डिजेल, मर्मत, कर चुक्ता र बैंक ऋणको नयाँ चक्र सुरु भयो। पहिले किसानको सम्बन्ध प्रकृतिसँग थियो। अब उसको सम्बन्ध बजारसँग पनि गाँसियो। यहीँबाट अर्थशास्त्र राजनीति बन्न थाल्छ।

किनभने ट्र्याक्टरले मेसिन मात्रै ल्याउँदैन, ऋण पनि ल्याउँछ। र, ऋणले ब्याज मात्रै ल्याउँदैन, निर्भरता र अनिश्चितता पनि ल्याउँछ। थोरै जमिन भएका किसानका लागि ट्र्याक्टर सुविधा कम, बाध्यता बढी बन्न सक्छ। धेरै गाउँमा कृषियन्त्रको बढ्दो प्रयोगले खेत–मजदुरको माग घटाएको देखिएको छ। जोताइ, ढुवानी र अन्य काममा श्रमको आवश्यकता कम भयो। खेत मजदुरीमा निर्भर भूमिहीन परिवारका लागि यो परिवर्तन सधैं सुखद भएन। प्रविधि तटस्थ हुँदैन। यसको लाभ र हानि बराबरी बाँडिँदैन। त्यसैले विकासको प्रत्येक कथासँग विस्थापनको एउटा लुकेको कथा पनि जोडिएको हुन्छ।

ट्र्याक्टरले बैललाई खेतबाट हटायो। तर, बैल मात्रै हटेनन्। पशुपालनमा आधारित परम्परागत अर्थतन्त्र पनि कमजोर भयो। गोबरको उपलब्धता घट्यो। जैविक मलको चक्र टुट्यो। रासायनिक मलमाथिको निर्भरता बढ्यो। कृषि र पशुपालनबीचको त्यो सहजीवी सम्बन्ध, जसले शताब्दीयौंसम्म ग्रामीण जीवन धानेको थियो, बिस्तारै कमजोर हुँदै गयो। यस परिवर्तनको राजनीतिक पक्ष अझ रोचक छ।

सरकारहरू ट्र्याक्टरलाई विकासको प्रतीक मान्छन्। चुनावी सभामा ट्र्याक्टर वितरणका घोषणा हुन्छन्। कृषि आधुनिकीकरणका नाममा अनुदान बाँडिन्छ। मन्त्रीहरूले ट्र्याक्टरको साँचो हस्तान्तरण गर्दै गरेका तस्बिरहरू सार्वजनिक हुन्छन्। तर, विरलै कसैले सोध्छ– कति साना किसान त्यस्तो अनुदानसम्म पुगे? कति किसान ट्र्याक्टर किन्न ऋणमा डुबे र पछि बेच्न बाध्य भए? विकासको तस्बिरमा मेसिन देखिन्छ, ऋणले थिचिएको किसान देखिँदैन। विकासको लाभ र लागत फरक–फरक वर्गले बेहोरेका कारणले हो– लाभ माथि गयो, लागत तल झर्‍यो। क्टरको कथा पनि यस्तै हो।

खेतीलाई आधुनिक प्रविधि चाहिन्छ। हलो–बैलको युगमा फर्कन सम्भव पनि छैन, आवश्यक पनि छैन। तर, प्रविधि त्यतिबेला मात्रै लोकतान्त्रिक हुन्छ, जब त्यसको लाभ व्यापक रूपमा बाँडिन्छ। अन्यथा त्यसले असमानता अझ गहिरो बनाउँछ। आज गाउँका बाटामा बैलगाडी कम र ट्र्याक्टर बढी देखिन्छन्। धेरैले यसलाई विकासको तस्बिर भन्छन्। तर, ध्यान दिएर हेर्दा यो केवल मेसिनको परिवर्तन होइन– ग्रामीण शक्ति सन्तुलन, श्रम सम्बन्ध, ऋण संरचना, वातावरणीय दिगोपन र सामाजिक न्यायको पनि कथा हो।

कुनै गाउँको विकास त्यहाँ कति ट्र्याक्टर छ भनेर होइन, कति किसान सम्मानपूर्वक खेती गर्न सक्छन्, कति मजदुरले रोजगारी पाउँछन् र कति परिवार ऋणको बोझबिना बाँच्न सक्छन् भनेर मापन गरिनुपर्छ। हलो–गोरुदेखि ट्र्याक्टरसम्मको यात्रा इतिहासका आवश्यकता हुन सक्छन्। तर, यसको मूल्यांकन इन्जिनको ‘हर्सपावर’ ले होइन, मानिसको जीवन स्थितिले गर्नुपर्छ। किनभने खेतमा दौडिरहेका मेसिन सधैं विकासका साक्षी हुँदैनन्। कहिलेकाहीँ तिनले ती आवाज पनि ढाकिदिन्छन्, जो सोधिरहेका हुन्छन्– विकास आखिर कसका लागि?

ट्र्याक्टर राम्रो कि नराम्रो? यो प्रश्न मुख्य होइन। मुख्य प्रश्न हो, ट्र्याक्टर कसको स्वामित्वमा छ? त्यसको लाभ कसले पाउँछ? र, त्यसको लागत कसले बेहोर्छ? कथा ट्र्याक्टरको होइन, कथा त्यो किसानको हो, जसले ट्र्याक्टर किन्यो। त्यो मजदुरको हो, जसको श्रमको आवश्यकता घट्यो। र, त्यो गाउँको हो, जहाँ मेसिनसँगै सत्ताको नक्सा पनि फेरियो। यहीँबाट हलो–बैलदेखि ट्र्याक्टरसम्मको यात्रा केवल कृषि परिवर्तनको कथा रहँदैन– ग्रामीण अर्थराजनीतिक परिवर्तनको कथा बन्छ।

मेरो अनुभवले भन्छ, ट्र्याक्टर र अन्य कृषि मेसिन अपनाउने सम्भावना ती किसानमा बढी हुन्छ, जससँग पहिल्यै आर्थिक स्रोत, ऋणको पहुँच, तालिम तथा संस्थागत सहयोग उपलब्ध हुन्छ। अर्थात् मेसिनहरू प्रायः पहिले नै अपेक्षाकृत सम्पन्न किसानसम्म पुग्छन्। मधेशमा मेसिनीकरणको सबैभन्दा ठूलो चुनौती केवल मेसिन किन्नु होइन, मेसिन सेवासम्म पहुँच हुनु पनि हो। साना किसान प्रायः मेसिनका मालिक हुँदैनन्, उनीहरू भाडामा उपलब्ध हुने सेवामाथि निर्भर हुन्छन्। यसले ग्रामीण क्षेत्रमा नयाँ प्रकारको ‘सेवा प्रदायक वर्ग’ उदय गराएको छ, जसको हातमा आर्थिक शक्ति केन्द्रित हुन थालेको छ। यसरी गाउँमा एउटा नयाँ वर्ग जन्मिएको छ– मेसिनदार। अर्थात् ट्र्याक्टर मालिक, हार्भेस्टर मालिक वा एक्स्काभेटर मालिक १ यो एउटा नयाँ ग्रामीण सत्ता संरचनाको जन्म हो।

पहिले १० जना लाग्ने काम अहिले एउटा ट्र्याक्टरले गर्छ होला । खेत छिटो जोतिन्छ। तर, त्यो दिन खेत नपुगेका नौ जनाको कथा सरकारी तथ्यांकमा कतै लेखिँदैन। मेसिनीकरणले उत्पादनशीलता बढाउँछ तर केही काममा श्रमको माग घटाउँछ। विशेषगरी जोताइ, ढुवानी र कटानीजस्ता क्षेत्रमा मजदुरको आवश्यकता घटायो। अर्कोतर्फ मेसिन मर्मत, सेवा क्षेत्रमा नयाँ रोजगारीका अवसर सिर्जना भयो। अर्को, यो पनि भुइँ यथार्थ हो– ट्र्याक्टर प्राविधिक नवप्रवर्तनको परिणाम थिएन, श्रम संकटको प्रतिक्रिया पनि थियो। कृषि मजदुरको पलायन, कृषिसँग अन्य उद्यमको खोजी तथा कृषि मेसिनीकरणलाई सँगसँगै अध्ययन गर्नुपर्छ।

सायद केही वर्षपछि मेरो गाउँजस्तै नेपालका गाउँघरमा एउटा पनि हलो बाँकी रहने छैन। खेत जोतिनेछ, बाली फल्नेछ, उत्पादनका तथ्यांक अझ माथि जानेछन्, सरकारी प्रतिवेदनले यसलाई कृषि आधुनिकीकरणको सफलता भन्ने छ। तर, त्यतिबेला कसैले पनि यो सम्झिने छैन– तिनका गाउँमा कोही दिनेश सहनी नामका हरवाह थिए, जसले बिहान–दिउँसो गोरु वा राँगोसँग खेत जोते। विकासको इतिहासले प्रायः मेसिनको आगमन लेख्छ तर त्यसले ती मानिसको नाम बिर्सिन्छ, जसले एउटा युगबाट अर्को युगसम्मको पुल बनेर जीवन बिताए। 

दिनेश सहनीहरूको कथा वास्तवमा एउटा हरवाहको कथा मात्रै होइन। यो प्रश्न हो– गाउँ बदलिँदा कसको श्रमको मूल्य बढ्छ रु कसको हराउँछ? कसको आवाज सुनिन्छ?  र, कसको दबिन्छ? ट्र्याक्टरले माटो छिटो जोत्ला तर यी प्रश्नको उत्तर दिँदैन। उत्तर खोज्न अझै खेतको आलीसम्मै पुग्नुपर्छ, जहाँ दुई गोरुको पाइलाको छापसँगै एउटा पुरानो समयको अन्तिम हस्ताक्षर बाँकी छ। त्यो हस्ताक्षर मेटिएपछि हामीले एउटा पेसा मात्रै गुमाएका हुनेछैनौं, ग्रामीण नेपालको सामाजिक स्मृतिको एउटा अध्याय पनि गुमाइसकेका हुनेछौं।