जीवछ यादव
लहान, ९ असार। सामुदायिक विद्यालयमा कार्यरत शिक्षकहरूले मासिक रूपमा तलब निकासा गर्न माँग गरेका छन्। समयमा तलब नपाउँदा आर्थिक तथा मानसिक तनाव बढ्दै गएको उनीहरूको गुनासो छ।

श्री राजाजी जनता माध्यमिक विद्यालय, भदैया, लहान १८का शिक्षक इन्द्रदेव चौधरीले भने, ‘अन्य सरकारी कर्मचारीले मासिक तलब पाइरहेका छन्, तर शिक्षकले अझै पनि चौमासिक रूपमा तलब पाउँदा घरव्यवहार चलाउन कठिन भइरहेको छ। बैंकको ऋण तिर्न र किराना पसलको उधारो चुक्ता गर्न समस्या भएको छ। छोराछोरीको विद्यालय शुल्क, घरभाडालगायतका खर्च व्यवस्थापन गर्न नसक्दा शिक्षकहरू तनावमा छन्।’
शिक्षक इन्द्रदेव चौधरीजस्तै समस्या अधिकांश शिक्षकले भोगिरहेको अर्का शिक्षक हरिनाथ यादव बताउँछन्। उनका अनुसार मासिक रूपमा तलब प्राप्त भए शिक्षकहरू मानसिक तनावबाट मुक्त हुने थिए। ‘कक्षा लिइरहेका बेला बैंकबाट किस्ता तिर्ने समयबारे फोन आउँछ। तलब आएपछि तिर्छु भनेर जवाफ दिनुपर्छ। शिक्षकको तलब चार–चार महिनामा निकासा हुने थाहा हुँदाहुँदै पनि बैंकका कर्मचारीहरूले पटक–पटक फोन गरेर दबाब दिने गर्छन्। यसले शिक्षकहरूलाई थप तनावमा पारिरहेको छ,’ उनले बताए।
लहान नगरपालिकाले मासिक तलब निकासा गर्ने निर्णय प्रधानाध्यापकहरूको बैठकबाट गरे पनि हालसम्म कार्यान्वयन नभएको श्री जनता आधारभूत विद्यालयका प्रधानाध्यापक प्रमोदकुमार यादवले बताए।
सिरहा जिल्लाका १७ स्थानीय तहमध्ये नवराजपुर र अर्नमा गाउँपालिकाले भने शिक्षकहरूको मासिक तलब निकासा गरिरहेका छन्। श्री जनता माध्यमिक विद्यालय, ब्रह्मपुरी २, अर्नमाका प्रधानाध्यापक अनिलकुमार साहका अनुसार गाउँपालिकाअन्तर्गतका १३ वटै सामुदायिक विद्यालयका शिक्षकहरूले नियमित रूपमा मासिक तलब पाइरहेका छन्।
उनले भने, ‘यस पालिकामा पाँच वर्षदेखि शिक्षकहरूको तलब प्रत्येक महिनाको २५ गतेभित्र व्यक्तिगत बैंक खातामा जम्मा हुने व्यवस्था छ। प्रधानाध्यापकले महिनाको १५ गतेभित्र हाजिरी प्रमाणित गरेर पठाएपछि तलब निकासा हुन्छ।’
आर्थिक वर्ष २०८÷२८३ को बजेट वक्तव्यमा तत्कालीन अर्थमन्त्री विष्णु पौडेल ले शिक्षकहरूको मासिक तलब निकासा गर्ने व्यवस्था गरिने घोषणा गरेका थिए। तर हालसम्म अधिकांश पालिकामा उक्त व्यवस्था कार्यान्वयन हुन नसकेको विषयमा शिक्षा विकास तथा समन्वय इकाइ सिरहाका प्रमुख तेजबहादुर खनालसँग जिज्ञासा राख्दा उनले बाँकी पालिकाहरूमा पनि मासिक तलब निकासाका लागि पहल गरिने बताए।
उनले भने, ‘सिरहाका दुई पालिकाले मासिक तलब निकासा गर्न सफल भइसकेका छन्। बाँकी १५ पालिकामा पनि यो व्यवस्था लागू गराउन जिल्ला शिक्षा समितिको बैठकमा विषय उठाउनेछु र सम्बन्धित पालिकासँग समन्वय बढाउनेछु।’
स्थायी शिक्षकहरूले चौमासिक तलब–भत्ता प्राप्त गरे पनि लहान नगरपालिकाबाट नियुक्त स्वयंसेवक शिक्षकहरूले सात महिनादेखि तलब नपाएको गुनासो गरेका छन्। लहान नगरपालिकाले ‘एक कक्षा, एक शिक्षक’ कार्यक्रमअन्तर्गत १२५ जना स्वयंसेवक शिक्षक नियुक्त गरेको छ।
शिक्षा विकास तथा समन्वय इकाइ सिरहाका अनुसार जिल्लामा कक्षा १ देखि ५ सम्म करिब एक हजार ५००, कक्षा ६ देखि ८ सम्म ३००, कक्षा ९ र १० मा २७५ तथा कक्षा ११ र १२ मा ८० जना शिक्षक कार्यरत छन्।






















