काठमाडौं, ७ असार। फिफा विश्वकप २०२६ अन्तर्गत भर्खरै सकिएको खेलमा जापानले ट्युनिसियाविरुद्ध सानदार जित निकालेको छ। 

स्टाडियो मोन्टेरीमा भएको खेलमा जापानले ट्युनिसियाविरुद्ध ४–० को जित निकालेको हो। 

705521264_1588534663277540_4869241638790147670_n

जापानले खेलको चौथो, ३१औँ, ६९औँ र ८३औँ मिनेटमा गोल गर्‍यो। समूह ‘एफ’को खेलको चौथो मिनेटमै जापानका दाइची कामाडाले पहिलो गोल गर्दै अग्रता बनाएका थिए। 

दाइची कामाडाले चौथो र आयसे युएदाले ३१औँ र ८३औँ मिनेटमा गोल गरेका हुन्। त्यसैगरी जुनियले ६९औँ मिनेटमा गोल गरे। 

यो जितसँगै जापानको नकआउट चरणमा प्रवेश गर्ने सम्भावना बलियो बनेको छ। दुई खेलबाट जापानको ४ अंक भएको छ। 

सो समूहबाट नेदरल्यान्ड्सको पनि समान ४ अंक छ। ३ अंक रहेको स्विडेन तेस्रो र अंकविहीन अवस्थामा ट्युनीसिया पुछारमा छ। 

जापानले पहिलो खेलमा नेदरल्यान्ड्ससँग २(२ को बराबरी खेलेको थियो।

ट्युनिसिया भने लगातार दोस्रो हारपछि समूह चरणबाटै बाहिरिएको छ। ट्युनिसिया पहिलो खेलमा स्वीडेनसँग ५(१ ले पराजित भएको थियो ।

जापान र ट्युनिसिया २००२ पछि विश्वकपमा पुनः आमनेसामने भएका हुन्।

त्यतिबेला जापानले ट्युनिसियालाई २–० गोलले पराजित गरेको थियो। 

विश्वकप फुटबल अन्तर्गत आज राति नेपाली समयअनुसार पौने १० बजे स्पेन र साउदी अरबले खेल्दैछन्। त्यस्तै मध्यराति पौने १ बजे बेल्जियम र इरान, भोलि बिहान पौने ४ बजे उरुग्वे र केपभर्डे अनि बिहान पौने ७ बजे न्युजिल्यान्ड र इजिप्टले खेल्ने तालिका छ।