मणिलाल विश्वकर्मा

लहान, ८ चौत। सप्तरीको सुरुंगा नगरपालिका ३, लक्ष्मीपुरमा एक १४ वर्षीया असहाय दलित बालिका एक सातादेखि बेपत्ता भएपछि आफन्तले प्रहरीमा उजुरी दिएका छन्। सात महिनाकी गर्भवती रहेकी भनिएकी ती बालिकालाई स्थानीय महेश्वर यादवले बेपत्ता बनाएको आरोप छ। ती बालिकाका बाबुआमाको निधन भइसकेको छ। बालिकाकी भाउजूले उजुरी दिएकी हुन्।

आफन्तका अनुसार उनी विगत १० वर्षदेखि स्थानीय महेश्वर यादवको घरमा घरेलु कामदारका रूपमा बस्दै आएकी थिइन्। हाल उनी सात महिनाकी गर्भवती रहेको खुलेपछि ३० फागुनयता गाउँबाटै सम्पर्कविहीन बनाइएको आरोप छ। यो प्रकरणमा घरधनी महेश्वर यादव, उनका करिब २१ वर्षीय छोरा कुन्दन यादव, वडा सदस्य बद्री यादव र स्थानीय धर्मदेव यादवसहित चारजनामाथि अनुसन्धान गरी कानुनी कारबाही गर्न माग गर्दै गत बुधबार प्रहरीमा उजुरी दर्ता भएको हो। आफन्तका अनुसार गर्भावस्थाबारे जानकारी बाहिरिएपछि घरधनी पक्षको पहलमा गोप्य छलफल भएको थियो। त्यसक्रममा बालिकालाई अन्यत्र लगेर गर्भपतन गराइएको वा लुकाइएको हुन सक्ने आशंका स्थानीयले गरेका छन्। घरधनीले आफ्ना छोरालाई समेत अन्यत्र पठाएकाले लामो समयदेखि प्रलोभन वा दबाबमा यौन शोषण भएको हुन सक्ने अनुमान गरिएको छ । स्थानीय एक आफन्तले भने, ‘गर्भ सात महिना पुगेको थाहा पाएपछि घटना दबाउने प्रयास भएको देखिन्छ । अहिले मुख्य प्रश्न बालिका कहाँ छिन् भन्ने हो।’

आरोपित महेश्वर यादवसँग बुझ्न बिहीबार उनको घर पुग्दा उनी भेटिएनन्। घरमा रहेका आफन्तले उनको अवस्थाबारे आफूहरूलाई जानकारी नभएको बताएका छन्। वडासदस्यको मोबाइल पनि स्विचअफ गरिएको छ। 

घटनाप्रति स्थानीय जनप्रतिनिधिले पनि निष्पक्ष अनुसन्धानको माग गरेका छन्। सुरुंगा ३ का वडाध्यक्ष किरणकुमार पोखरेलले दोषी जोसुकै भए पनि कानुनी दायरामा ल्याउनुपर्ने बताए। ‘निर्दोष फस्नु हुँदैन, दोषी उम्किनु हुँदैन। वडा कार्यालय अनुसन्धानमा सहयोग गर्न तयार छ,’ उनले भने। सुरुंगा १ का वडाध्यक्ष छत्रबहादुर राउतले पनि बालिकाको अवस्था तत्काल सार्वजनिक गर्न माग गरे । ‘बालिका कहाँ छिन् भन्ने पत्ता लागेन भने म प्रहरी कार्यालयअगाडि धर्नामा बस्छु,’ उनले भने।

प्रहरी भन्छ : अनुसन्धानकै क्रममा छ
जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता डम्बरबहादुर पुरीले घटनालाई गम्भीर रूपमा लिएर खोजी तथा अनुसन्धान सुरु गरिएको बताए। ‘बालिकालाई उनकी दिदीले लिएर गएको भन्ने सूचना छ।  

मातहतका युनिटले घटनाबारे बुझिरहेका छन्। प्रहरी टोली परिचालन गरिएको छ,’ पुरीले भने, ‘बालिकाका दुई दिदी पनि सम्पर्कमा छैनन्, उनीहरू सम्पर्कमा आएपछि बालिकाको अवस्था स्पष्ट हुन्छ । बालिका फेला परेपछि स्वास्थ्य परीक्षणमार्फत गर्भावस्था पुष्टि गरिने उनले बताए। त्यसपछि यौन शोषण वा जबर्जस्तीका कोणबाट थप अनुसन्धान अघि बढाइनेछ। घटनाको अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय कडरबोनामा उजुरी परेको थियो। तर, क्षेत्राधिकारअनुसार इलाका प्रहरी कार्यालय भेडिया रहेकाले त्यतै पठाइएको पुरीले बताए। इलाका प्रहरी कार्यालय भेडियाका प्रमुख, प्रहरी निरीक्षक पूर्णकुमार राईले मिडियासँग बोल्ने क्षेत्राधिकार जिल्ला प्रहरी प्रवक्ताको मात्र रहेको भन्दै पन्छिए।