सिरहाको गोलबजार नगरपालिका ८ मा जारी सिलाई कटाई तालिमबारे स्थानीयसँगको छलफलमा रातो घेरामा यहि पालिकाको वडा नम्वर १३ स्थित स्वास्थ्य चौकीमा कार्यरत दिपेन्द्र महतो।

सिरहा, ८ चैत। गोलबजार नगरपालिकाका धेरै विकास निर्माणका योजनाहरु जनप्रतिनिधी र कर्मचारीको मिलेमत्तोमा निश्चित व्यवसायी तथा कार्यकर्ताले गर्दै आएको जगजाहेरै छ। हुँदा–हुँदा अव कर्मचारी आफै पनि योजना सञ्चालनमा सक्रिय भएको पाइएको छ। 

90582379-7428-45dc-9b92-cbfc4dcc73b4

गोलबजार नगरपालिका वडा नम्वर ८ मा अहिले स्वास्थ्यका एक कर्मचारीले एक महिने ‘सिलाई कटाई शिप विकास तालिम’ चलाई रहेका छन्। वडा स्तरीय ४ लाख रुपैयाँको योजना श्री नेपाल जागृति विकास केन्द्र, गोलबजार १३ लाई कोटेशन प्रक्रियाबाट जिम्मा दिइएको छ। यस संस्थाका हर्ताकर्ता हुन्, गोलबजार नपा १३ स्थित स्वास्थ्य चौकीमा कार्यरत स्वास्थ्यकर्मी दिपेन्द्र कुमार महतो।  

वडा कार्यालयमा महिलाहरु तालिमकालागि भेला भएपछि स्थानीय युवाहरुले सोधी खोजी सुरु गरेका थिए। तालिम स्थलमा योजनाको सूचनासहितको व्यानार नदेखेपछि खोजी गर्दैजाँदा कर्मचारीले नै योजना सञ्चालन गरेको खुलेको हो। तालिममा सहभागीलाई नास्ता पानीसमेत नदिएपछि योजनाको विषयमा जान्न चाहेर बोलाएको छलफलमा स्वास्थ्य कर्मचारी महतो पुगेका थिए। 

छलफलमा कर्मचारी महतोले कार्यक्रमबारे बेलिविस्तार लाउन थालेपछि स्थानीय तपाई कर्मचारी हैन भनेर सोधेपछि उनले कार्यक्रम गरेको खुलेको हो। कर्मचारीले नै कार्यक्रम गरेको सुनेपछि स्थानीय आक्रोशित भएका थिए। त्यसपछि महतोले ‘म पनि यो संस्थाको सदस्य हुँ, त्यसैले आयको हुँ’, भने।

छलफल पछि स्थानीय शिवकुमार यादवले ‘योजनाहरु पनि कर्मचारीले चलाउनु भ्रष्टाचारको नाङ्गो उदाहरण हो, नगरपालिकाको नेतृत्वले यस विषयमा गम्भिर र निश्पक्ष छानबिन गर्नु पर्छ। आउँदा दिनमा कर्मचारीले ठेकेदारी गर्ने व्यवस्था अन्त्य गर्नु पर्छ।’

अर्का स्थानीय शेखर यादवका अनुसार कागजमा संस्था देखिए पनि वास्तविक रूपमा कर्मचारी महतोले नै कार्यक्रम चलाइरहेको देखिएको छ। छलफलमा कर्मचारी आएर आफै कार्यक्रमको ठेकेदार रहेको बताएपछि हामी चकित भयौं। कर्मचारी नै ठेकेदार भएपछि पारदर्शिता र शुशासनको अपेक्षा गर्नुको औचित्य छैन। 

‘जुनसुकै संस्थामा कर्मचारी तन्त्र हावी भयो भने त्यो संस्था कहिल्यै अगाडि बढ्न सक्दैन’ भन्ने भनाइ सिरहाको गोलबजार नगरपालिकामा चरितार्थ भएको भन्दै स्थानीयले गुनासो गरेका छन्।

सिलाइ–कटाइ तालिम सञ्चालनका लागि वडाले ४ लाख रुपैयाँ बजेट विनियोजन गरेको थियो। नगरले कोटेश्न मार्फत काम गरिरहेको वडा अध्यक्ष देवनारायण मतोले बताए। उनले भने, ‘मैले नगरलाई पत्र लेखेर तालिम चलाईदिन भनेको थिएँ। उहाँहरुले संस्थालाई जिम्मा दिएर पठाउनु भएको रहेछ। तलिम भईरहेको छ। मलाई संस्था कसको हो भन्ने जानकारी छैन। तर, स्वास्थयका कर्मचारी दिपेन्द्र कुमार महतो पनि आउने गरेको छ।’

तालिम चैत्र २ गतेदेखि सञ्चालनमा आएपनी योजनाको सुचना पार्टी नदेखिएपछी स्थानियले सोधीखोजी गरेका थिए।

छलफलमा ३ लाख ८० हजार रुपैयाँमा योजना स्वीकार गरेको संस्थाका दिपेन्द्र महतोले बताएको स्थानीयले बताए। उनीहरुले कार्यक्रमको प्रकृर्तिले भने १ लाख रुपैयाँ मै कार्यक्रम सम्पन्न हुन देखिएको बताए। 

स्थानीयले जनप्रतिनिधी र कर्मचारीकै मिलेमत्तोमा संस्थालाई कार्यक्रमको जिम्मा लगाएर अनियमितता गर्ने मनसाय देखिएको सुनाए। 

यस सम्वन्ममा स्वास्थ्य शाखाका प्रमुख शरोज कुमार कर्णले दिपेन्द्र स्वास्थ्यका कर्मचारी भएको बताए। उनले आफूले पनि योजना सञ्चालनमा सक्रिय भएको सुनेको बताउँदै प्रमाण पुगे कार्वाही गर्ने बताए। 

यस सम्वन्धमा थप जान्न प्रमुख प्रशासकीय अधिकृत अनन्त पौडेलसँग सम्पर्क गरेपनि उनको फोन स्वीच अफ दियो।