- सुभाष कर्ण
जनकपुरधाम, ४ चैत। मधेश प्रदेशमा बलात्कार तगा जबरजस्तीकरणी भयावह बन्दै गएको देखिएको छ। एक वर्षकै अवधिमा २ सय २० बलात्कारको घटना भएको छ।
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले जारी गरेको नेपाल मानवअधिकार वर्ष पुस्तक २०२६ को तथ्याङ्क अनुसार वर्ष २०२५ अर्थात २०८१ पुस १७ देखि २०८२ पुस १६ सम्मको अवधिमा २ सय २० वटा बलात्कारको घटना भएको छ।
पुस्तकमा उल्लिखित तथ्याङ्क अनुसार यसबाट सबभन्दा धेरै बालिका प्रभावित भएका छन्। घट्नामा १ सय १ जना १८ वर्षमुनि उमेर समूहका बालिका बलत्कारको शिकार भएकी छिन्। १८ वर्षमाथिका १ सय १९ जना महिला बलात्कृत भएकी छिन्।
तथ्यांक अनुसार बलत्कारको सबभन्दा बढी घटना धनुषा जिल्लामा भएको देखिन्छ । यहाँ एक वर्षमै १२ बालिका र ५८ महिला बलात्कार शिकार भएका छन् । सबभन्दा कम घटना सप्तरी जिल्लामा भएको देखिन्छ। यहाँ बलात्कारका ८ वटा घटना भएका छन् । तर सप्तरीमा एक जना बालिका सामूहिक बलात्कारमा समेत परेको तथ्याङ्कमा उल्लेख छ।
त्यस्तै सिरहामा ३ बालिका सामूहिक बलात्कारबाट पीडित भएका छन्। सिराहमा एक जनाको बलत्कारपछि हत्यासमेत भएको विवरण देखिन्छ । अन्य १२ वटा घट्नामा बालिका र १६ वटा घटनामा महिला पीडित बनेका छन्।
महोत्तरीमा १५ बालिका र १६ महिला गरी ३१, सर्लाहीमा २४ बालिका र ७ महिला ३१, रौतहटमा ३ बालिका र ६ महिला ९, बारामा ९ बालिका र ७ महिला गरी १६ तथा पर्सामा १५ बालिका र ९ महिला गरी २४ वटा बलात्कारका घटना भएको छन्। मधेश प्रदेशका ८ जिल्ला मध्ये सबभन्दा बढि सर्लाहीमा २४ वटा बलत्कारको घटनाबाट बालिका पीडित भएका छन्।
प्रहरीको रेकर्ड अनुसार २ सय २० वटा बलात्कार घटना मध्ये १ सय १ वटा कानूनी दायरामा ल्याइएको छ भने १ सय १९ वटामा अनुसन्धान जारी रहेको वर्ष पुस्तकमा उल्लेख छ । पुस्तक अनुसार बालिकासँग सम्बन्धित ५१ वटा र महिलाका ६८ वटा मुद्दा अहिलेसम्म अनुसन्धानमै रहेको छ।
प्रहरीका अनुसार अहिलेसम्म मात्र ११ वटा मुद्दा अनुसन्धान सम्पन्न टुँगिएको छ। यी बाहेक बलात्कार प्रयासको घटना मधेश प्रदेशमा समेत बढेको देखिन्छन्। प्रहरीका अनुसार मधेश प्रयासमा ७७ वटा वर्ष २०२५ मा भएको हो। बलत्कार मध्ये सिरहामा एक जना बालिकाको बलत्कार पछि हत्या गरिएको र पर्सामा दुईजना बालिका हाडनाता करणीको शिकार समेत भएको प्रहरीको तथ्यांकले देखाउँछ।
उल्लेखित यी घटना प्रहरीमा दर्ता भएको घटना मात्र हुन्। अधिकारकर्मीहरूले सामाजिक मान्यता तथा व्यक्तिगत लाजका कारण प्रहरीमा दर्ता नभएका यस्ता थुप्रै घट्ना हुनसक्ने बताउँछन् ।
किन बढदैछ त घटना?
किन यसरी बलात्कारका घट्ना बढिरहेका छन्? अनुसन्धानकर्ता तथा अभियान्ताहरूका आ–आफ्नै धारणा भए पनि यसमा मुख्य कारक मोबाइलमार्फत संचालन हुने समाजिक सञ्जाल भएको बताएका छन्।
इन्सेकका मधेश प्रदेश प्रमुख राजु पासमान भन्छन् ‘‘प्रदेशमा बलात्कार घटना बढ्नुको प्रमुख कारण नै मोबाइल हो । मोबाइलमा समाजिक सञ्जालमार्फत विभिन्न अश्लिल भिडियोहरूमा युवाहरूको पहुँच पुग्ने गरेको छ। यसले गर्दा अधिकांश बलात्कारका घटनामा १५ वर्षदेखि २५—३० वर्ष उमेर समूहका युवाहरु संलग्न रहेको अहिलेसम्मको तथ्यांकले देखाउंछ । यी बाहेक लागू औषध तथा मदिराको प्रयोग लगायतका कारणहरु हुन्।’
मधेश प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब निरिक्षक (डिआईजी) गोविन्द थपलिया भने यति मात्र कारण नभएको बताउँछन् । उनी भन्छन ‘‘सबभन्दा प्रमुख कारण उमेर नपुग्दै घरबाट भागेर बिहे गर्ने अनि पछि मन नमिलेपछि वा अभिभावकले स्वीकार नगरेपछि त्यसलाई बलात्कार घटनाको रुपमा दर्ता गराउने प्रचलन मधेशतिर बढी देखिन्छ। वास्तविक बलात्कार नै भएको घटना चाहिं धेरै न्यून रहेको अहिलेसम्मको अनुसन्धानले देखाउँछ।’
यद्यपी चाँडो विहे हुनुको प्रमुख कारण मध्ये एक डिजिटल प्लेटमा युवाहरूको झुकाब बढि हुनु भने उनको पनि स्वीकारोक्ति छ । उनी भन्छन् ‘‘ सबै कुराको मूल जडो नै मोबाइल हो । मोबाइलबाट केटाकेटी वा महिला एक अर्कासँग नजिकने, समाजिक सञ्जालमार्फत कुरा गर्ने लगायतले घरबाट भाग्ने, आपसी सहमतिमा संगै बस्ने, पछि अभिभावकले नस्वीकार्ने वा दुवैबीच मन नमिलेपछि समाजबाट बच्न बलात्कारको मुद्दा हाल्ने गरेको बढी देखिन्छ।’
लागू औषध र मदिरा सेवनबाट हुने घटना चाहिं वास्तविक बलात्कारको घटना रहेको अनुसन्धानमा देखिने उनले बताए।
रोकथामका लागि सचेतना आवश्यक
घटना नियन्त्रणका लागि कडा कानूनी कारवाहीभन्दा बढी सचेतना आवश्यक रहेको सरोकारवाला निकायको बुझाइ छ। कारवाही गर्दा सजाय दिन सकिए पनि कसैको मन परिवर्तन गर्न नसकिने भन्दै उनीहरू यसको रोकथामका लागि मानिसहरूको मन नै परिवर्तन हुनुपर्ने बताउँछन्।
डिआईजी थपलिया यसका बारेमा प्रहरीले विभिन्न सचेतनामूलक कार्यक्रम समय समयमा संचालन गर्दै आएको पनि बताउँछन् । तर प्रहरीभन्दा बढी समाजिकस्तरमा बढी यसको प्रयास हुनुपर्ने उनको भनाइ छ।
यस्तै महिला मानवअधिकार रक्षक सञ्जालका मधेश प्रदेश अध्यक्ष महिलाअधिकारकर्मी रेखाले झा पनि डिजिटल माध्यम र सामाजिक सञ्जाल जस्ता प्लेटफर्मको गलत र सही प्रयोगबारे युवाहरूमा सचेतना पुर्याउन अति जरूरी रहेको बताउँदै यस्ता माध्यमबाट प्रवाहित हुने गलत सूचनाकै कारण विकृति फैलिएको बताउँछन् ।
उनी भन्छिन् ‘मधेशमा खासगरी स्कूले बालबालिका तथा युवायुवती मोबाइलको माध्यम प्रयोग गरेर नजिकने पछि सम्पर्क बढेपछि आपसी सहमतिमा यौनजन्य क्रियाकलापमा संलग्न हुने वा भागेर बिहे गर्ने र पछि अभिभावकले स्वीकार नगर्दा वा समाजको डरले बलात्कार मुद्दा दर्ता गराउने लगायतका प्रवृति बढी छ। जसको सूक्ष्म अनुसन्धान जरुरी छ।’
यी बाहेक अभिभावक जिम्मेवार नहुनु, बालबालिकालाई बढी स्वतन्त्रता दिनु पनि यसको कारण रहेको सरोकारवालाको भनाइ छ।
खासगरी ग्रामीण भेगमा छोरीलाई कुन अवस्थामा घर बाहिर पठाउने बारे अभिभावकले लापरवाही गर्दा छरछिमेकबाट पिडीत हुने लगायतका घटनाहरु पनि छन्। घटना न्यूनिकरणका लागि प्रत्येक विद्यालयमा तथा उच्च शिक्षा अध्यन गर्ने युवाहरूबीच सचेतनाका कार्यक्रमहरु संचालन गर्न आवश्यक रहेको सरोकारवालाको बुझाइ छ।
(नेपालखवरबाट)






















