जनकपुरधाम, ३ चैत। मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले युवा पलायनप्रति गम्भीर चिन्ता व्यक्त गरेका छन्। मधेस प्रदेश सरकारको नेतृत्व सम्हालेको एक सय दिन पूरा भएको अवसरमा मंगलबार जनकपुरधाममा आयोजित पत्रकार सम्मेलनमा मुख्यमन्त्री यादवले युवाहरू विदेश पलायनप्रति चिन्ता व्यक्त गरेका हुन्। उनले युवाहरूलाई स्वदेशमै रोक्ने ठोस उपायबारे भने केही स्पष्ट योजना सार्वजनिक गरेनन्। तर, यस विषयप्रति आफू चिन्तित रहेको बताए।

उनले एक सय दिनमध्ये करिब ५० दिन आचारसंहितामै बितेको उल्लेख गर्दै बाँकी अवधिमा प्रदेश सरकारको उपस्थितिको अनुभूति गराउने प्रयास गरिएको बताए।

साथै, जेनजी आन्दोलनका क्रममा जलेका भवनका कारण प्रदेशको गृह मन्त्रालयमै आफ्नो कार्यालय सञ्चालन गरी कामकाज अघि बढाइएको जानकारी दिए।

स्वास्थ्य क्षेत्रतर्फ प्रगति उल्लेख गर्दै उनले जनकपुरधाम प्रादेशिक अस्पतालमा सुधार गरिएको दाबी गरे। बिरामीको चाप बढ्दा टिकट (पूर्जा) काट्न समस्या भइरहेको अवस्थालाई सहज बनाउन घरबाटै अनलाइन माध्यमबाट पूर्जा काट्ने व्यवस्था लागू गरिएको उनले बताए। साथै, परीक्षण शुल्क भुक्तानी र रिपोर्टसमेत अनलाइन उपलब्ध गराइएको जानकारी दिए।

शिक्षा क्षेत्रमा प्रत्येक निर्वाचन क्षेत्रमा एक नमुना विद्यालय विकास गर्ने योजना सुरु गरिएको उनले बताए। पहिलो चरणमा १५ वटा सामुदायिक विद्यालयमा काम अघि बढिसकेको छ भने प्रत्येक विद्यालयका लागि कम्तीमा ५० लाख रुपैयाँ लगानी भइरहेको जानकारी दिए।

‘१०० दिन, ५१ काम’ भन्ने नारासहित आयोजित उक्त कार्यक्रममा उनले जानकी मन्दिरलाई विश्व सम्पदा सूचीमा सूचीकृत गराउन पहल थालिएको पनि बताए।

(रातोपार्टीबाट)