काठमाडौं, २९ फागुन। निर्वाचन आयोगले प्रतिनिधि समाको निर्वाचनमा समानुपातिक मतको आधारमा राजनीतिक दलले पाउने सांसदको सिट सङ्ख्या निर्धारण गरेको छ। समानुपातिक तर्फको मतगणना बुधबार नै सकिएको थियो। तर जिल्लाबाट प्राप्त विवरणलाई अध्ययन गरेर आयोगले बिहीबार सिट बाँडफाँटको टुङ्गो लगाएको हो।
आयोगका अनुसार समानुपातिकतर्फ कुल ११० सिटमध्ये सबैभन्दा धेरै सिट राष्ट्रिय स्वतन्त्र पार्टीले पाएको छ। रास्वपाको भागमा ५७ सिट परेको छ। नेपाली कांग्रेसले २० सिट पाएको छ भने संसदमा तेस्रो ठुलो दल बनेको नेकपा ९एमाले०ले १६ सिट पाएको छ। नेपाली कम्युनिष्ट पार्टीले नौ सिट पाएको आयोगले जनाएको छ।
चार महिनाअघि मात्रै खुलेको श्रम संस्कृति पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीले चार चार सिट पाएको निर्वाचन आयोगले जनाएको छ। निर्वाचनमा कुल सदर मतसङ्ख्याको आधारमा प्रचलित निर्वाचन कानुन बमोजिम तोकिएको थ्रेसहोल्ड (तीन प्रतिशत) पार गरेका कारण छ राजनीतिक दललाई मात्रै समानुपातिकतर्फको सिट सङ्ख्या निर्धारण गरिएको आयोगका प्रवक्ता तथा सहसचिव नारायण भट्टराईले बताए।
समानुपातिकतर्फको सिट सङ्ख्या निर्धारण भएसँगै रास्वपा अब प्रतिनिधि सभामा १८२ सदस्यका साथ सबैभन्दा ठुलो दल बनेको छ। रास्वपाले प्रत्यक्षतर्फ १२५ सिट जितेको थियो।
प्रत्यक्ष र समानुपातिक सांसदको समेत गणना गर्दा नेपाली कांग्रेस र नेकपा (एमाले) संसदमा व्रmमशः दोस्रो र तेस्रो ठुलो दल बनेका छन्। नेपाली कम्युनिष्ट पार्टी चौथो ठुलो दल बनेको छ भने श्रम संस्कृति पार्टी पाँचौ र राष्ट्रिय प्रजातन्त्र पार्टी छैठौं ठुलो दल बनेको छ।
समानुपातिक निर्वाचन निर्देशिका, २०८२ अनुसार आयोगले यि दललाई तीन दिनभित्र समानुपातिक उम्मेदवारको नाम छनोट गरेर पठाउन राजनीतिक दललाई पत्राचार गरिएको प्रवक्ता भट्टराईले बताए। अब राजनीतिक दलले विभिन्न क्लष्टरको आधारमा समानुपातिक उम्मेदवार छनोट गरेर आयोगमा पठाउने छ भने आयोगले समानुपातिक निर्वाचन प्रणाली अनुसार मिलेको छ कि छैन भन्ने विषयमा अध्ययन गरेर उम्मेदवारलाई निर्वाचित भएको प्रमाणपत्र प्रदान गर्ने छ।
प्रत्यक्षमा ५.४५ प्रतिशत, समानुपातिकमा ३.९५ प्रतिशत मत बदर
यही फागुन २१ गते सम्पन्न भएको प्रतिनिधि सभा सदस्य निर्वाचनमा कुल एक करोड ८९ लाख तिन हजार ६८९ मतदाता थिए। जसमध्ये प्रत्यक्षतर्फ एक करोड ११ लाख ६८ हजार ३२ मतदान भएको थियो।
कुल मतदानमध्ये एक करोड पाँच लाख ५९ हजार १७ मत सदर भएको थियो। यो कुल मतदानको ९४।५५ प्रतिशत हो।
आयोगका अनुसार समानुपातिक निर्वाचन प्रणालीतर्फ एक करोड १२ लाख ८० हजार ६१७ मतदान भएको थियो। यसमध्ये एक करोड आठ लाख ३५ हजार २५ मत सदर भएको छ। यो समानुपातिकतर्फ भएको मतदानको ९६.०५ प्रतिशत हो।
(गोरखापत्रबाट)






















