• प्रमोद मिश्र

चुनावको परिणामले नेपालमा लोकतन्त्रको जरो गाडिइसकेको छ भन्ने विश्वास अझ बलियो गरी स्थापित भएको छ। तर लोकतन्त्रलाई नेपालमा अवतरण गराउने कांग्रेस–कम्युनिस्ट दलहरू पराजित भएका छन्। किनभने २०४६ मा लोकतन्त्र पुनर्बहाली भएदेखि नै दलगत राजनीतिमा हुने अनेकन दुर्गुणहरू यिनीहरूले भित्र्याए। दम्भी भए। मिडिया, बौद्धिक जमात, नागरिक अनि जनताका आवाज सुनेनन्।

जनता विकल्पको खोजीमा थिए र तिनले काठमाडौंका मेयर बालेन्द्र शाह र त्यससँगै राष्ट्रिय स्वतन्त्र पार्टीमा त्यो विकल्प देखे र तिनलाई भारी बहुमतले विजय गराए। निस्सासिँदै गएका देश–विदेशमा बस्ने हामी नेपालीका लागि सास फेर्न अलि सजिलो भएको छ र सँगै नेपाली भविष्यप्रति एउटा झिनो आशा पलाएको छ। 

नेपाली मतदाताले यस चुनावमा प्रस्ट पारेका छन्— बालेन नेतृत्वको रास्वपा सरकारले भ्रष्टाचारको जरो उखेलेर नेपाली जनतालाई सुशासन दिन सक्छ। यसले संविधानमा निहित गणतन्त्र, संघीयता, समावेशिता र धर्म तथा राज्यसत्ताबीचको दूरीलाई अझ बलियो बनाउन सक्छ। यस दल र तिनका नेतामा वैश्विक भूराजनीतिको, छरछिमेकको भूराजनीतिको कूटनीतिक समझ र पकड छ। यस दल र तिनका नेतामा नेपाललाई अगाडि लैजाने भिजन पनि छ, क्षमता र इमानदारिता पनि। र, व्यक्तित्वको गहनता र गहिराइ पनि।

जतिसुकै खारिएका दल र तिनका माझिएका नेताका लागि यी गम्भीर उत्तरदायित्व हुन्। तर रास्वपा जस्तो लोकतन्त्र ल्याउने विरासत नबोकेको दल र तिनका युवावयका अनुभव न्यून नेताको काँधमा यो भारी जिम्मेवारी पर्न गएको छ । के तिनले यी सबै जिम्मेवारी सफलताका साथ धान्न सक्छन् रु यो प्रश्न यतिबेला अहम् बनेको छ। 

नेपाली मतदाताले भनिसके– अबको नेपाल कम्युनिस्ट र कांग्रेसले धान्न सक्दैनन्। केपी ओलीलाई एमाले महाधिवेशन प्रतिनिधिले पुनः अध्यक्ष बनाएर परिवर्तन पक्षधर उषाकिरण तिम्सिना, बिन्दा पाण्डे जस्ता परिवर्तनकामी नेतालाई पाखा पारे। त्यसो गरिनु केपी ओलीका समुदाय, समुदायबीच विष फैलाउने अभिव्यक्ति र नेपाली राजनीतिलाई दूषित पार्ने अनेकन हर्कतलाई प्रोत्साहित गर्नु थियो । तर नेपाली जनताले मताधिकारबाट एमालेलाई दण्डित गरेका छन् । यो भीमकाय पराजय एमालेका लागि भविष्यमा सुध्रिने पाठ र अवसर हुन सक्छ। एमालेका नेता–कार्यकर्ताले यस जबर्जस्त हारलाई कुन रूपमा लिन्छन् र भविष्यमा कसरी सुध्रिन्छन्, यसैमा सो पार्टीको भविष्य कस्तो हुन्छ भन्ने निर्भर गर्छ। 

तर जे भए पनि पञ्चायत र निरंकुश राजतन्त्र फालेर लोकतन्त्र ल्याउन जेल, नेल, भूमिगत जीवन, निर्वासन भोगेका पहिलो पुस्ताका नेता आदरणीय हुन्। दसवर्षे जनयुद्धबाट नयाँ संविधान ल्याई नेपाललाई गणतन्त्र र समावेशिताको बाटोमा ल्याउने नेताप्रति लोकतन्त्रवादीहरू आभारी हुनैपर्छ। तर तिनीहरूले पटक–पटक सत्तामा पुग्ने तिकडम र पुगिसकेपछि आफ्नो असफलता देखाएकाले नेपाली मतदाताले तिनीहरूलाई विश्राम दिएका छन्। व्यक्तिगत रूपमा चुनाव जिते पनि वा हारे पनि तिनीहरूले अब लोकतान्त्रिक उपलब्धिहरूलाई जोगाउन अभिभावकीय भूमिका खेल्नुबाहेक अरू कुनै विकल्प छैन।

संघीयता ल्याउनका लागि मधेशीवादी दल र तिनका नेताको अतुलनीय योगदान भए पनि प्रशासन चलाउँदा उनीहरू पनि कांग्रेस र एमालेकै बाटोमा लागे। सत्ताका लागि सौदाबाजी, परिवारवाद, तँछाडमछाड, फुटजुट, गाउँस्तरसम्म भ्रष्टाचार यिनीहरूको पनि संस्कार बन्यो। चुनावको मुखमा सुध्रिने जतिसुकै नारा दिए पनि, वाचा गरे पनि त्यो पत्यारलाग्दो भएन र मधेशी मतदाताले तिनलाई पत्याएनन्।

वास्तवमा यस चुनावमा नेपालीले छान्नुपर्ने दल दुईमध्ये एक थियो— गगन–विश्वप्रकाश नेतृत्वको सुधारिएको कांग्रेस र बालेन–रवि नेतृत्वको रास्वपा। तर यो छनोट जति बाहिरी भीड वा पुरातन दलप्रतिको वितृष्णाले सजिलो देखिन्थ्यो, केलाउँदा त्यति नै जटिल। 

प्रधानमन्त्रीकै उम्मेदवारका रूपमा नेपालमा गगन थापाको हाराहारीमा कोही पनि अनुभवी नेता देखिँदैन थियो। यिनले विद्यार्थीकालदेखि नै अग्रगामी सोच राख्दै आएका थिए। त्यही अनुरूप गणतन्त्रका लागि संघर्ष गरेका थिए। कांग्रेसभित्र परिवर्तनका लागि निरन्तर सक्रिय थिए। नेपालको सबैभन्दा पुरानो दलमा दशकौंदेखि आबद्ध भएकाले उनलाई दलभित्र र राज्यका विभिन्न अंगमा व्याप्त बेथितिबारे थाहा थियो । सापेक्षिक हिसाबले युवामै दरिने र व्यक्तित्वका हिसाबले पनि नयाँ विषय आत्मसात् गर्ने रुझान र सामर्थ्य उनमा थियो । यो विषय विशेष महाधिवेशनपछिका उनका वक्तव्यहरूले पनि प्रस्ट पारेको थियो । त्यसैले उनमा केही नयाँ गर्ने हुटहुटी पनि थियो भन्ने भान हुन्थ्यो।

विश्वप्रकाश शर्माका साथ र वर्षौंको सहकार्यले गर्दा यिनमा निर्णय गर्दा परामर्श गर्ने बानीसँगै नयाँ कुरा गर्न सक्ने, विगतका गल्तीबाट सिक्ने, सीमान्तकृतका लागि ठोस कदम चाल्ने आँट पनि थियो। कांग्रेसभित्र निरन्तर संघर्ष गर्दै महाधिवेशन गराउन सफल नहुँदा यिनले विशेष महाधिवेशन भए पनि गराएर कांग्रसलाई नयाँ बाटोमा ल्याएका थिए । २३ र २४ भदौको जेन–जी विद्रोहको रापतापमा भए पनि मुलुकभरिका कार्यकर्तालाई परिचालन गरी मुलुककै सबैभन्दा पुरानो दलमा नेतृत्व परिवर्तन गर्ने हिम्मत कुनै राजनेतामा मात्र सम्भव हुन सक्थ्यो। सोझै भन्दा बीपीपछि पार्टी हाँक्ने कोही युगान्तकारी नेता कांग्रेसमा भए हुन्थ्यो भन्ने विश्लेषण हुँदा यिनको नाम अवश्य आउने सम्भावना थियो। उनी कांग्रेसका मदन भण्डारी हुने थिए। 

तर उनको दल कांग्रेस सुधारिएको भनेर अहिले नै भनिहाल्ने स्थिति भने थिएन। यसका दुईवटा कारण थिए। एक, पदलोलुप दोस्रो तहका नेताले सुरुवातमा शेरबहादुर देउवालाई साथ दिँदै महाधिवेशन गर्न दिएनन् । जसले गर्दा देशभरि कार्यकर्ता परिचालन गरी गगन र विश्वप्रकाशले चुनावको मुखमा विशेष महाधिवेशन बोलाउनुपर्‍यो । विशेष महाधिवेशनबाट नेतृत्व परिवर्तन गरिसकेपछि आफ्नो विचार, एजेन्डा, कार्यक्रम देशभरिका जनतामाझ लैजाने, बुझाउने, विश्वास दिलाउने र ती विचार–वाचाहरूलाई थिग्य्राउने पर्याप्त समय भने पाएनन् । ‘तातै खाऊँ, जली मरूँ’ भने जस्तै भयो उनका नीति–कार्यक्रमहरू। केही अनुहार नयाँ भए पनि बाँकी पुरानै भावना बोकेका अनुहार चुनावी मैदानमा आए। गगन–विश्वप्रकाशका विचार उनीहरूलाई संसदीय व्यवस्थामा मान्य नहुने मतदाताले लख काटे। 

गगनको अर्को कमजोर पक्ष भनेको देउवाका साथमा लागेर महाधिवेशन मात्र होइन, विशेष महाधिवेशनको विरोध गर्ने र यो विशेष महाधिवेशन अवैध हो भनेर सर्वोच्चमा मुद्दा हाल्न लगाउने जमातले पनि उनीबाट टिकट लिएर चुनावी मैदानमा उत्रिए । देउवा पक्षधर यी नेताहरूले चुनाव जिते भने पनि उनीहरूले जेन–जीको मर्म अनुसार नै मुलुकमा परिवर्तन ल्याउन गगन–विश्वप्रकाशलाई सघाउँछन् भन्ने विश्वास मतदातामा भएन। यस चुनावमा भएको हारले नेपाली राजनीतिमा गगन–विश्वप्रकाशको अग्निपरीक्षा अब अझ हुनेवाला छ ।

बालेनसमेतको रास्वपा अहिले नेपाली राजनीतिमा हावाहुरी जस्तै भएर आएको छ । अंग्रेजी कवि शेलीको कविता ‘वेस्टविन्ड’ मा भनिए जस्तै सडेगलेका पात बढार्न आएको हावाहुन्डरी जस्तै। यसले नयाँ पालुवा पलाउने आशा आमनेपालीमा जगाएको छ। देशभरि बालेनप्रतिको ‘क्रेज’ले यही संकेत दियो। हुन पनि बालेनको ‘क्रेज’ काठमाडौंको मेयरको चुनावताका पनि यस्तै थियो र त्यतिबेला एक र्‍यापर बीस–पच्चीसका युवालाई चोखिला, चोटिला द्रुत गतिका गीतले लोभ्याउन सफल भएका थिए भने उनको स्ट्रकचरल इन्जिनियरिङको स्नातकोत्तर डिग्रीले उनीप्रति विश्वसनीयता बढाएको थियो। मेयर भइसकेपछि भाषण कम, कामबाट बढी र नाटकीय ढंगले सडक अतिक्रमण रोक्ने, सडकछेउका व्यापारी हटाउने कार्यले उनी बौद्धिक वर्गमा आलोचित भए पनि राजधानीका मध्यम वर्ग र आमराजधानीवासीबीच लोकप्रिय बने।

काठमाडौंलाई ‘वाकेबुल’ (पैदलयोग्य) सहर बनाउने श्रेय पनि उनलाई गयो। उनले गरेका मिडियामा नाटकीय नदेखिने मुलुकभरिका मेधावी विद्यार्थीलाई काठमाडौंका निजी स्कुलमा भर्ना गर्ने काम वा देशभरिका विपन्न बिरामीका लागि काठमाडौं आउँदा एम्बुलेन्सको व्यवस्था आदिले उनको छवि देशभरि नै एउटा कर्मठ व्यक्तिका रूपमा दरियो। यसरी देशभरि नै उनको ‘ब्रान्ड’ जस्तै बन्यो। नेता र दलहरूको भ्रष्टाचार र राज्य संयन्त्रका हरेकजसो अंगमा संक्रमण फैलिसकेको अवस्थाबाट वाक्कदिक्क भएका आमजनतामा उनको स्वच्छ छवि स्थापित भयो। उनीप्रति विश्वास बढ्यो।

तर मध्यरात्रिमा उनको ‘हेन्डल’बाट अन्टसन्ट र अनियन्त्रित पोस्ट सामाजिक सञ्जालमा आउँदा युवाबीच उनीप्रति आकर्षण बढ्यो होला, युवा आक्रोशको अभिव्यक्तिका रूपमा। तर उनीप्रति सकारात्मक सोच राख्ने बौद्धिकमा उनको व्यक्तित्व अलि परिपक्व नभइसकेको देखियो। प्रधानमन्त्रीका रूपमा उनको यो पक्ष कस्तो रहन्छ, हेर्न बाँकी छ।

सामाजिक सञ्जालको पोस्टभन्दा पनि उनको कमजोर पक्ष भने मेयरको चुनावताका घन्किने ‘गरिबको चमेली सुन्दिने कोही छैन’ गीतद्वारा आममानिसको आस्था जित्ने तर कुनै वैकल्पिक व्यवस्था नगरी एउटा स्ट्रकचरल इन्जिनियरिङको दाबी गर्नेले सडकछेउका गरिब व्यापारीलाई निर्मम तरिकाले पुलिस लगाई हटाउने कार्य पाखण्डपूर्ण नभई के हुन सक्छ रु भन्ने धारणा पनि प्रबुद्ध वर्गमा कायमै छ। मुलुकभरिका साधारण काम गरेर खाने आममानिसको सीप र श्रमलाई उनले कसरी व्यवस्थापन गर्छन्, एउटा चुनौतीका रूपमा रहनेछ।

बालेनका यी व्यक्तिगत गुणदोषबाहेक अहिले प्रधानमन्त्रीका रूपमा उनले रास्वपा सभापति रवि लामिछानेसँग घाँटी जोडेर काम गर्नुपर्ने हुन्छ। लामिछानेको पासपोर्ट काण्डका बेलामा उनले मिडियाबारे राखेको अभिव्यक्ति र गृहमन्त्री हुँदा बदलाको भावनाले प्रेरित उनका कामले उनको व्यक्तित्वको खोटोपन र छोटोपनलाई उजागर गरिसकेको छ। सहकारी घोटालामा रविको संलग्नताको मुद्दा अदालतमा विचाराधीन छ र उनीप्रति नेपालको न्याय व्यवस्थाले दूधको दूध, पानीको पानी हुने गरी न्याय गर्न सक्नुपर्छ। उनलाई ट्रम्पको जस्तो सत्तामा आइसकेपछि ‘सात खुन माफ’ हुने जस्तो हुनुहुँदैन। बालेन र रवि स्वयंकै पोल्टामा आमसहकारी बचतकर्ताप्रतिको न्याय मर्न नदिने जिम्मेवारी आइपरेको छ। यिनले यस मामिलालाई कसरी समाधान गर्छन्, त्यो यिनको पहिलो परीक्षा हुनेछ। भविष्यका लागि यसबारे यिनको गलत कदम निकै प्रत्युत्पादक हुने पक्का छ। 

तर बालेन र रविका व्यक्तिगत खोट जे भए पनि बालेनसहितको रास्वपाको चुनावी मनसाय र करारनामा भने उत्कृष्ट किसिमको छ । भ्रष्टाचार निर्मूल पार्ने अठोट, बालेन स्वयंको स्वच्छ छवि, रास्वपामा प्रतिभाशाली, युवावयका व्यक्तिहरूको ‘ल्याटरल’ समावेशिता, चुनावमा प्राइमरीको व्यवस्था र नेपालको संवेदनशील भूराजनीतिक स्थितिलाई बुझ्दै प्रवासी नेपालीको नेपाली नागरिकताको निरन्तरता । यी सबैले रास्वपालाई देशभरि र विश्वभरि नेपालीमाझ नेपालको भविष्य हाँक्ने आकर्षक दल बनाएको छ र मतदाताले भारी जनमत ९म्यान्डेट० दिएर यसलाई अनुमोदन गरेका छन्।

यो दुईतिहाइको बहुमत रवि–बालेनका लागि नेपालमा संघीयता, समावेशिता, धर्मनिरपेक्षता, गणतन्त्र, सुशासनलाई बलियो बनाउँदै विकासका विभिन्न आयामहरू भित्र्याउने सुनौलो अवसर हुन सक्छ। तर यो दुईतिहाइको जनमतले यिनलाई दम्भी र हठी पनि त्यत्तिकै बनाउन सक्छ। बालेन र रवि नेतृत्वको रास्वपालाई यस भारी बहुमत ल्याएकामा बधाईसँगै खबरदारी पनि गर्न त्यत्तिकै आवश्यक छ। यो बहुमत नेपाललाई सबै किसिमले अग्रगामी पथमा लाने सुअवसर बनोस् तर यो दुईतिहाइ यिनका लागि गलपासो चाहिँ नबनोस्। यही शुभकामना छ।प्रमोद मिश्र अमेरिकाको

ड्युक विश्वविद्यालयबाट अंग्रेजी साहित्यमा विद्यावारिधि गरेका प्रमोद मिश्र करिब ३ दशकदेखि अमेरिकामा प्राध्यापनरत छन् ।