गत भदौमा नेपालमा युवाको नेतृत्वमा भएको ऐतिहासिक विद्रोहमा ७७ जनाको ज्यान गएपछि प्रधानमन्त्री केपी शर्मा ओली राजीनामा दिन बाध्य भए। त्यसपछि र्‍यापरबाट काठमाडौँका मेयर बनेका बालेन्द्र शाहले सामाजिक सञ्जालबाट आफ्ना लाखौँ फलोअर्सलाई एउटा संक्षिप्त सन्देश दिए।

‘प्रिय जेनजी, तपाईंहरूको हत्याराको राजीनामा आइसकेको छ,’ बालेन भनेर चिनिने शाहले लेखे, ‘अब तपाईंको पुस्ताले नै देशको नेतृत्व गर्नुपर्नेछ। तयार रहनुहोला।’

त्यसको पाँच महिना बित्दा फागुन २१ को चुनावपछि नेपालको भावी प्रधानमन्त्री बन्ने दौडमा उनी सबैभन्दा अगाडि देखिन्छन्। जबकि उनले राजनीतिक करिअरको सुरुवात नै २०७९ मा काठमाडौँको मेयर जितेर गरेका थिए।

नेपालमा कुनै विश्वासिलो सर्वेक्षणहरू छैनन्। तर, चार जना राजनीतिक विश्लेषक र स्थानीय सञ्चारमाध्यमले उनलाई प्रधानमन्त्री पदको सबैभन्दा प्रमुख दाबेदार मानेका छन्। जसले मुलुकका परम्परागत राजनीतिक सम्भ्रान्तहरूलाई किनारा लगाइदिएका छन्।

‘बालेन शाह यति लोकप्रिय छन् कि अहिले काठमाडौँ हिँडेका बसमा ‘बालेनको सहर जाँदैछौँ’ लेखिएको स्टिकर टाँसिएको हुन्छ,’ संवैधानिक कानुनका विज्ञ तथा काठमाडौँ युनिभर्सिटीका प्राध्यापक विपिन अधिकारी भन्छन्।

यदि बालेन सत्तामा आए भने त्यो उनका लागि ठूलो छलाङ हुनेछ। संस्थापनको खोइरो खन्ने र्‍याप संगीतबाट जनमानसको नजरमा परेका उनी त्यही लोकप्रियतालाई उपयोग गरेर सबैभन्दा शक्तिशाली पदमा पुग्नेछन्।

यसले चीन र भारतबीच अवस्थित सानो हिमाली मुलुक नेपालको राजनीतिलाई पनि बदलिदिन सक्छ। जसको राजनीतिमा वर्षौंदेखि केही स्थापित दलहरूको हालीमुहाली छ। त्यसमा ओलीको नेकपा एमाले पनि पर्छ। जो चीनतर्फ ढल्किएको बताइन्छ भने मध्यपन्थी नेपाली कांग्रेस भारतनिकट मानिन्छ।

बालेनको राष्ट्रिय स्वतन्त्र पार्टी पनि नयाँ मध्यपन्थी दल हो। आफ्नो चुनावी घोषणा पत्रमा यो दलले दुई विशाल छिमेकीबीच ‘सन्तुलित परराष्ट्र सम्बन्ध’ राख्ने बताएको छ।

शाह देशभर लोकप्रिय हुनुको एउटा प्रमुख कारण उनले काठमाडौँको मेयरका रूपमा गरेको काम हो। जहाँ उनले फोहोर व्यवस्थापनजस्ता सहरी पूर्वाधार सुधार र स्वास्थ्य सेवाजस्ता सेवाहरूको सुनिश्चिततालाई प्राथमिकता दिएका थिए।

उनले ठेला व्यापारीको सामान जफत र सुकुम्बासी हटाउँदा बलप्रयोग गरेकोमा ह्युमन राइट्स वाचलगायतबाट आलोचना पनि खेपे। आम चुनाव लड्न माघमा राजीनामा दिएका बालेनले अन्तर्वार्ताको अनुरोध गर्दा जवाफ दिएनन्।  

पुरानो पुस्ताका नेताहरूको वर्चस्व रहेको नेपालका अधिकांश राजनीतिक सम्भ्रान्तहरूभन्दा अलग बालेनले मूलधारको सञ्चारमाध्यमबाट टाढै रहने बानी बसाएका छन्। बरु, ३५ लाख फलोअर्स भएको फेसबुकजस्ता सामाजिक सञ्जालबाट उनी युवाहरूसँग सोझै जोडिन्छन्।

पछिल्ला साताहरूमा उनले चुनावी अभियानका क्रममा कालो चस्मा र अलिअलि फुलेको दारीसहितका फोटोहरू पोस्ट गरेका छन्।

‘बालेनलाई खास बनाउने कुरा भनेको उनी सामाजिक सञ्जालमा छोटो सन्देशमार्फत युवाहरूसँग जोडिन्छन्। तर, प्रधानमन्त्री बन्न उनलाई सजिलो छैन,’ विश्लेषक पुरञ्जन आचार्य भन्छन्।

आयुर्वेदिक चिकित्सक पिता र गृहणी आमाका छोरा बालेनमा सानैदेखि कवितातर्फ झुकाव थियो। जुन पछि गएर र्‍यापप्रतिको प्रेममा बदलियो। उनी अमेरिकी र्‍यापरहरू टुपाक साकुर र फिप्टी सेन्टलगायतबाट प्रभावित छन्।

नेपालमा सिभिल इन्जिनियरिङमा स्नातक गरेपछि उनले दक्षिण भारतबाट स्ट्रक्चरल इन्जिनियरिङमा स्नातकोत्तर गरे। त्यसबेलासम्म उनी नेपालमा र्‍यापरका रूपमा स्थापित भइसकेका थिए। 

प्रायः उनका गीतका निसानामा शासक वर्ग हुन्थ्यो। जसले गर्दा २० प्रतिशत जनसंख्या गरिब भएको मुलुकमा उनले थुप्रै मान्छेको मन छुन सफल भए। २०१९ मा रिलिज भएको उनको ‘बलिदान’ गीत युट्युबमा १ करोड २० लाख पटक हेरिएको छ।

स्वतन्त्र उम्मेदवारका रूपमा मेयरमा भिडेका उनले फराकिलो अन्तरले चुनाव जिते।

गत डिसेम्बरमा बालेन रास्वपामा प्रवेश गरे र सो दलबाट प्रधानमन्त्रीको उम्मेदवार बने। घोषणापत्रमा रास्वपाले १ करोड २० लाख रोजगारी सिर्जना गर्ने, रोजगारीका लागि विदेश जानुपर्ने बाध्यता हटाउने वाचा गरेको छ। सो पार्टीले पाँच वर्षभित्र नेपालको प्रतिव्यक्ति आम्दानी १४४७ डलरबाट ३ हजार डलर पुर्‍याउने प्रतिबद्धता पनि जनाएको छ। त्यस्तै मुलुकको जीडीपी दोब्बर गरेर १०० अर्ब डलरको बनाउने बताएको छ। 

विश्लेषकहरूका अनुसार बालेन निर्वाचित भए भने भ्रष्ट र मरणासन्न प्रशासनिक प्रणाली बदल्न सक्छन् कि सक्दैनन् भन्ने कुरा उनले आफ्नो वरिपरि प्रतिभावान् व्यक्तिहरूलाई राख्छन् कि राख्दैनन् भन्नेमा निर्भर रहनेछ।

‘त्यसका लागि एउटा टिम चाहिन्छ, विज्ञ चाहिन्छन्,’ आचार्य भन्छन्, ‘अहिलेको सरकारी प्रणालीमा उनले काम गर्न सक्ने छैनन् र धमिराले खाएको काठजसरी समाप्त हुनेछन्।’

(नेपालखबरबाट)