मिर्चैया, १० पुस। मधेश प्रदेशमा पछिल्ला एक सातादेखि बाक्लो हुस्सु र शीतलहरका कारण अत्यधिक चिसो बढेको छ। केही दिनअघि सम्म पारिलो घाम लाग्दै आएको मधेशमा अहिले बाक्लो कुहिरो र निरन्तर झर्ने शितका कारण चिसो बढेको हो।

सिरहा जिल्लामा शीतलहर र चिसो हावाका कारण जनजीवन निकै कष्टकर बन्दै गएपछि नेपाली सेनाले मिर्चैया बजार क्षेत्रको चोक चोकमा दाउरा वितरण गरेको छ। नेपाली सेनाको श्री नन्दाबक्स गण, चोहर्वा ब्यारेकले मानविय सेवा अन्तर्गत शीतलहरबाट प्रभावित स्थानीयहरूलाई राहतस्वरूप दाउरा वितरण गरेको बताएको छ।
बढ्दो चिसोपनले दैनिक जीवन प्रभावित भएको छ। चिसोले सवैभन्दाधेरै गरिब, विपन्न तथा दलित समुदायका नागरिकहरू प्रभावित भएका छन्।
स्थानीयवासीले सेनाको यस मानवीय सहायताप्रति धन्यवाद व्यक्त गर्दै यस्ता सहयोगले कठ्याँग्रिने जाडोमा ठूलो राहत पुगेको बताएका छन्।






















