सिरहा, ९ पुस। गोलबजार नगरपालिका वडा नम्वर १३ ले ३७ जना गर्भवती महिलालाई पोषण सामग्री वितरण गरेको छ। वडा अध्यक्ष नन्दन कुमार सिंहको अध्यक्षतामा आयोजना गरिएको कार्यक्रममा गर्भवती महिलाहरूलाई पोषण सामग्री प्रदान गरिएको हो।
कार्यक्रममा वडा अध्यक्ष सिंहले गर्भवती महिलाको स्वास्थ्यलाई ध्यानमा राख्दै केही राहत होस् भन्ने उद्देश्यले पोषण सामग्री वितरण गरिएको बताए। उनले गर्भावस्थाको समयमा उचित पोषण अत्यन्तै आवश्यक हुने भएकाले वडाले सामाजिक उत्तरदायित्व अन्तर्गत यो कार्यक्रम सञ्चालन गरेको जानकारी दिए। उनले भने, ‘स्वस्थ आमा भए मात्र स्वस्थ शिशुको जन्म सम्भव हुन्छ, त्यसैले गर्भवती महिलाको पोषण र स्वास्थ्यप्रति सबै सचेत हुन आवश्यक छ।’
कार्यक्रममा सहभागी महिलाहरूले वडाबाट प्राप्त सहयोगप्रति धन्यवाद व्यक्त गर्दै यस्ता कार्यक्रमले आफूहरूलाई हौसला मिलेको बताएका छ्न। वडा कार्यालयले आगामी दिनमा पनि स्वास्थ्य तथा सामाजिक क्षेत्रसँग सम्बन्धित कार्यक्रमलाई निरन्तरता दिने जनाए।
सोही क्रममा उनले यस वडामा रहेको स्वास्थ्य संस्थामा नियमित गर्भ जाँच गराउने महिलाहरु सुत्केरी हुन जिल्लाको जुनसुकै सरकारी अस्पतालसम्म पुर्याउने एम्वुलेन्स भाडा सहयोग गर्दै आएको पनि बताए।






















