साङ्केतिक फोटो।

सिन्धुली, ७ पुस। सिन्धुलीको कमलामाई नगरपालिका ६ धुराफाँटको एकमा भएको आगलागीमा परी एक महिलाको मृत्यु भएको छ। एक जना घाइते भएका छन्। आईतबार अपसान्ह आगलागी हुँदा घरभित्रै रहेकी स्थानीय दुर्गामान बम्जनकी ३२ वर्षीया बुहारी सुशीला बम्जनको आगलागीमा परी घटनास्थलमै मृत्यु भएको सिन्धुली प्रहरीले जनाएको छ। 

आगो अत्यन्त तीव्र भएकाले उनलाई बाहिर निकाल्न नपाउँदै घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रमुख लालध्वज सुवेदीले जानकारी दिए।

धुराफाँट निवासी ६२ वर्षीय दुर्गामान बम्जनको साढे २ तले पक्की घरको बीच तल्लामा रहेको भान्सा कोठाभित्र अचानक आगलागी भएको थियो। भान्सामा प्रयोग भइरहेको मट्टितेल वा पेट्रोलबाट आगो सल्किएको प्रारम्भिक अनुमान गरिएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जानएको छ। आगलागीमा ससुरा दुर्गामान बम्जन घाइते भएका छन्। 

दुर्गामानको दाहिने हात, खुट्टा र ढाडमा जलाएको छ। घाइते बम्जनको अवस्था मध्यम रहेको र उनी बोल्न सक्ने अवस्थामा रहेको जनाउँदै जिल्ला अस्पताल सिन्धुलीमा प्राथमिक उपचार पश्चात् थप उपचारका लागि काठमाडौ रिफर गरिएको सिन्धुली अस्पतालले जनाएको छ।

प्रहरीका अनुसार भान्सामा प्रयोग गरिने ज्वलनशील पदार्थ (मट्टितेल वा पेट्रोल) असावधानीपूर्ण प्रयोगका कारण आगलागी भएको हुन सक्ने आशंका गरिएको छ। ‘साँघुरो भान्सा कोठा र त्यहाँ रहेको ज्वलनशील सामग्रीले आगो फैलिन सहयोग गरेको देखिन्छ’, प्रहरी प्रमुख सुवेदीले जानकारी दिए।

घटनासम्बन्धी थप विवरण आउन बाँकी रहेको र अनुसन्धानको निष्कर्षपछि आगलागीको कारण सार्वजनिक गरिने जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ।