मणिलाल विश्वकर्मा

लहान, १ पुस। सार्वजनिक शिक्षा सुदृढीकरण अभियानअन्तर्गत सिराहाको लहान नगरपालिकाले नगर क्षेत्रमा पर्ने सामुदायिक विद्यालयको कक्षाकोठा व्यवस्थापनका लागि भौतिक सामग्री वितरण गरेको छ।  नगर क्षेत्रमा पर्ने आठ माध्यमिक तह र २७ आधारभूत तहका गरी ३५ सामुदायिक विद्यालयलाई पालिकाले मंगलबार बिहान ३३० थान नयाँ डेस्क बेन्चसहित विद्यालय प्रशासनलाई थप जवाफदेही र पारदर्शी बनाउन गुनासोपेटिका वितरण गरेको हो। 

नगरपालिकाको सभाकक्षपरिसरमा आयोजित संक्षिप्त समारोहबिच नगरप्रमुख महेशप्रसाद चौधरीले सामुदायिक विद्यालयका प्रधानाध्यापकहरूलाई उक्त सामग्री हस्तान्तरण गर्दै त्यसले कक्षाकोठाको व्यवस्थापन र शिक्षण क्रियाकलाप गर्न सहज हुने अपेक्षा गरे। ‘सामुदायिक विद्यालयको स्तरोन्नतिका लागि भौतिक पूर्वाधार निर्माण, सामग्री हस्तान्तरणसहित सार्वजनिक शिक्षा सुदृढीकरणका लागि नगरपालिका योजनाबद्ध रूपले काम गर्दै छ,’ उनले भने, ‘त्यसका लागि आगामी माघको पहिलो सातादेखि विद्यार्थीहरूलाई कापी तथा कलमसमेत वितरण गर्दैै छौँ।’ 

त्यसबाहेक प्रविधिमैत्री पठनपाठनका लागि ३६ वटा स्मार्ट बोर्ड टेन्डरमार्फत खरिद गरी वितरण गरिने प्रक्रियामा रहेको जनाइएको छ। आर्थिक वर्ष ०८१८२ को वार्षिक बजेटअन्तर्गत २० लाख रुपैयाँ टेन्डरमार्फत बनाइएको डेस्कबेन्च र नगर शिक्षा शाखाले बनाएको गुनासोपेटिका वितरण गरिएको उनले बताए। ‘नगरको समग्र विकासका लागि नगरपालिकाले शिक्षालाई मुख्य प्राथमिकतामा राखेको छ,’ उनले भने, ‘सामुदायिक विद्यालयको सुधारका लागि नगरले दलित, विपन्न तथा आमविद्यार्थीको सहज पहुँच सुनिश्चित गर्दै विद्यालयको भौतिक संरचना, शैक्षिक सामग्री र प्रविधिमा निरन्तर लगानी गरिरहेको छ।’

‘पढ्दै कमाउँदै कार्यक्रम’ 
विद्यार्थीहरूलाई माध्यमिक तहमै कुनै आयआर्जन गर्ने सिप सिकाएर आफ्नो पठनपाठनमा आर्थिक रूपले सघाउन पुर्‍याउन चालू शैक्षिक सत्रदेखि नै एउटा सामुदायिक विद्यालयबाट पढ्दै कमाउँदै कार्यक्रम थालनी गर्न लागिएको उनले बताए। ‘लहानको मध्यभागमा पर्ने जिल्लाकै पुरानोमध्येको पशुपति आदर्श माविमा कार्यक्रम लागू गर्दै छौँ,’ उनले भने, ‘त्यसका लागि विद्यालयलाई २० लाख रुपैयाँ अनुदान दिइनेछ ।’ उक्त माविको जग्गा पनि पर्याप्त रहेकाले फूलखेती वा बिरुवा उत्पादनका लागि विद्यालय प्रशासनको सिफारिस र विद्यार्थीहरूको रुचिअनुसार कार्यक्रम सञ्चालन गरिने उनले बताए। 

नगरपालिकाका शिक्षा शाखा प्रमुख अमिरी यादवले आगामी आर्थिक वर्षमा बाल कक्षालाई लक्षित गरी छुट्टै डेस्कबेन्च बनाएर वितरण गरिने बताए। नगरले दलित तथा मुसहर विद्यार्थीलाई लक्षित गर्दै निःशुल्क ट्युसन कक्षा सञ्चालनको तयारीस्वरूप निर्देशिका बनाएर शिक्षक छनोटको प्रक्रिया थालिएको उनले बताए। 
नगर क्षेत्रमा कक्षा १२ सम्मका सात, कक्षा १० सम्म १५, आठ कक्षासम्मका आठ र ३१ वटा आधारभूत तहका गरी ६१ वटा सामुदायिक विद्यालयहरू रहेको शिक्षा शाखाले जनाएको छ।