सिरहा, १८ भदौ। अछुत भन्दै सिरहाका एक मलिक(डोम) परीवारमाथि बुधवार विहान कुटपीट भएको छ। सुखिपुर नगरपालिका १० विश्वकर्माचौकस्थित गागन खोला किनारमा बस्ने डोम परिवारमाथि ‘विहान–विहानै अछुतको मुखहेर्नु परेका’े भन्दै कुटपीट गरेको हो।
- मरिक परिवारलाई कुटपीटगर्न दाउरा लिएर जाँदै सहदेव महतो।
गणपैत कलिक(डोम) की श्रीमती समुन्द्रा मलिक र ज्वाई संजय मलिकलाई स्थानीय सहदेव महतो, सुकदेव महतो, श्यामसन्दर महतो, नागेन्द्र महतो लगायतका समूहले कुटपीट गरेको वडा अध्यक्ष देव नारायण यादवले बताए।
सहदेव महतो, सुकदेव महतो, श्यामसन्दर महतो, नागेन्द्र महतोको र मलिक परिवारको घर कसहा दहिपौडी सडक अन्तर्गत विश्वकर्मा चौकमा सडक वारिपारी छ। आफ्नो घर अगाडी डोमको घर भएको भन्दै उनीहरु विस्थापीत गराउने प्रयासमा लागिरहेको गणपैतको भनाई रहेको छ। महतोहरुले जसरी भएपनि यहाँबाट उठाएरै छाड्ने भन्दै पटक पटक धाक धम्की दिने, गाली कलौज गर्दै आएको गणपैतले बताए।
उनले भने, ‘नागेन्द्र महतोले आफ्नै घर अगाडी मदिरा पसल गरेको छ, हामीलाई पसलमा किनमेल गर्न पनि दिंदैन र राती दारु खाएकाहरुलाई सन्काएर हामीलाई गाली गलौज गर्न लगाउँछ। हामी गरिखाने मान्छे, उनीहरुले होहल्ला गर्न थालेपछि डरले घरभित्रै पसरे बस्नु पर्ने हुन्छ। उनीहरुको हामीलाई जसरी भएपनि यहाँबाट विस्थापीत गर्ने योजना छ।’
गएराती सर्प देखिएकाले विहान घर अगाडीको झाडी सफागरिरहेका ज्वाईमाथि एक्कासी हातपात गर्न लागेपछि छुट्याउन गएका समुन्द्रिलाई पनि कुटेको हो।
वडा अध्यक्ष यादवले पनि सहदेव महतोलगायतले यहाँबाट दलित परिवारलाई विस्थापीत गराउन पहिलादेखि नै दुःख दिंदै आएको बताए। घरबाट निस्कने फोहर पानी पाईप लगाएर दलितहरुको घरअगाडी खसाल्ने, घरबाट निस्कने फोहर उनीहरुको घरअगाडी लगेर फाल्ने जस्ता गतिविधि गर्ने गरेको अध्यक्ष यादवले जानकारी दिए। यस विषमा एक साता अघिमात्र इलाका प्रहरी कार्यालय पतारिमा छलफल बोलाएपनि पीडक पक्षमा मानिस उपस्थित नभएको अध्यक्ष यादवले बताए।
उनले भने, ‘सहदेव महतोलगायतले दलित परिवारलाई विस्थापीत गराउने खेलमा लागि रहेको थियो, यो आज त्यसको परिणाम स्वरुपको घटना हो। हामीले पनि देखि रहेको छु। यसको छानविन हुनु पर्छ।’
कुटीटबाट घाइते भएका समुन्द्राको धनगढीमाई नपा ८ कसहास्थित एक निजी स्वास्थ्य संस्थामा उपचार भईरहेको छ। उनको ढाड र गालामा बढी चोट लागेको स्वास्थ्य संस्थाले बताएको छ।
डोम परिवार यहाँ कुनै वस्ति नै नभएका बेला १५ वर्ष अघि गोलबजार नगरपालिका १३ दुर्गापुरबाट बसाई सरेर आएका थिए। विस्तारै वस्ति विकास हुन थालेपछि ५–६ वर्ष पहिलामात्र आएका महतो परिवारले डोमहरुलाई दुःख दिने गरेको छ।
यस अघि पनि उनीहरुको करिव ७ लाखभन्दा बढी मुल्यको करिव एक दर्जन सुँगुरलाई विष लगाएर मारिदिएका थिए।