लहान, १८ भदौ। सरहारी अनुदानको मल लुकाएर कालोबजारी गरेको आरोपमा उदयपुरको कटारीबाट एक जना व्यवसायी पक्राउ परेका छन्। सरकारले किसानलाई वितरण गर्न पठाएको २ सय बोरा  युरिया मल लुकाएर कालोबजारी गरेको भन्दै कटारीस्थित आशुतोष ट्रेडर्स एन्ड जनरल स्टोर्सका सञ्चालक दिलीप चौधरीलाई प्रहरीले पक्राउ गरेको हो।  चौधरीलाई पक्राउ परी अनुसन्धान थालेको उदयपुरका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद लुइँटेलले जानकारी दिए। 

जिल्ला प्रशासन कार्यालय उदयपुरबाट गएको अनुगमन टोलीले चौधरीले सञ्चालन गरेको स्टोर्सबाट गत भदौ १२ गते  २ सय बोरा युरिया मल  बरामद भएको थियो। किसानलाई उपलब्ध गराउन ल्याइएको युरिया मल लुकाएर राखेको फेला पारेपछि जिल्ला प्रशासन कार्यालयले छानबिन समिति बनाएको थियो। 

छानबिन समितिले दिएको प्रतिवेदनका आधारमा प्रहरीले अनुसन्धानका लागि व्यवसायी चौधरीलाई नियन्त्रणमा लिएको प्रजिअ लुइँटेलले नेपाल खबरलाई बताए।

पक्राउ परेका चौधरीमाथि  उदयपुर जिल्ला अदालतबाट ६ दिनको म्याद थप गरेर अनुसन्धान अघि बढाइएको इलाका प्रहरी कार्यालय कटारीले जनाएको छ। 

बरामद भएको युरिया मल नगरपालिकाले वडाहरूमार्फत किसानलाई वितरण गरिसकेको उनले बताए।

shreejana school