सर्लाही, १६ भदौ। बलरा नगरपालिकाका नगरप्रमुख रामाशंकर प्रसाद कुशवाहाले बलरामा स्थापना गर्ने भनिएको इलाका प्रशासन कार्यालय अन्यत्र सार्ने प्रयासप्रति गम्भिर आपत्ति जनाएको छ। जिल्लाकै गोडैता नगरपालिकामा सार्ने प्रयासप्रति मेयर कुशवाहले आपत्ति जनाएका हुन्।
गत सोमबारको मन्त्रिपरिषद् बैठकले देशभरका २३ जिल्लामा नयाँ इलाका प्रशासन कार्यालय स्थापना गर्ने निर्णय गरेको थियो। उक्त निर्णयअनुसार सर्लाही जिल्लाको बलरा नगरपालिकामा पनि इलाका प्रशासन कार्यालय स्थापना गर्ने निर्णय भएको छ। सरकारले गरेको निर्णय नउल्टाउन चेतावनी दिदैं सवैलाई पायक पर्ने स्थानपनि बलरानै भएको मेयर कुशवाले जारी गरेको ध्यानाकर्षण पत्रमा उल्लेख गरेको छ।
नगरप्रमुख कुशवाहाले आइतबार सार्वजनिक गरेको ध्यानाकर्षण पत्रमा भनेका छन्, ‘बलरामा सीमा प्रहरी चौकी, विद्यालय, बैंक, अस्पताल, सिटिइभिटी क्याम्पस लगायतका संस्था निर्वाध रूपमा सञ्चालित छन्। सुरक्षाको बहानामा बलरालाई अस्वीकार गर्नु गलत हो। असुरक्षित ठानेको ठाउँलाई सुरक्षित बनाउनु नेतृत्व वर्गको दायित्व हो।’
उनले ‘इलाका प्रशासन कार्यालय, बलरा’ भन्नाले साविकको बलरा मात्र नभई हालको ११ वडासहितको सम्पूर्ण बलरा नगरपालिकालाई बुझिनुपर्ने स्पष्ट पारेका छन्। साथै, यस कार्यालयको सेवा क्षेत्रमा बलरा नगरपालिका, रामनगर गाउँपालिका, धनकौल गाउँपालिका, गोडैता नगरपालिका र विष्णु गाउँपालिका पर्ने भएकाले सबैलाई पायक पर्ने स्थान बलरा नै भएको उनले दाबी गरे।
नगरप्रमुख कुशवाहाले यस विषयमा सबै सरोकारवालालाई एउटै टेबुलमा छलफल गरी बलरा नगरपालिकाभित्रकै उपयुक्त स्थान चयन गर्न आग्रह गर्दै भनेका छन्, ‘गोडैताको विकल्प होइन, बलराभित्रकै उपयुक्त स्थानमा कार्यालय स्थापना गरौं। बलरालाई फेरि एकपटक पछाडि धकेल्ने प्रयास न्यायोचित हुँदैन।’
उनले बलराप्रति सकारात्मक दृष्टिकोण राख्ने सबैप्रति आभार प्रकट गर्दै इलाका प्रशासन कार्यालय बलरामै स्थापना गर्न सरकारसँग पुनः जोडदार माग गरेका छन्।