रौतहट, ८ भदौ। रौतहटको गौरमा सुटकेशमा प्याक गरेर फालिएके अवस्थामा एक महिलाको शव फेला परेको छ। गौर नगरपालिका ९ मुडवलवा गेट नजिकै सडक किनारमा शनिवार राति बेवारिसे अवस्थामा सुटकेश भित्र महिलाको शव भेटिएको हो।
जिल्ला प्रहरी कार्यालय रौतहटका सूचना अधिकारी डीएसपी राजन कार्कीसहितको टोलीले आज बिहान सो सुटकेस खोलेर हेर्दा अन्दाजी ३० वर्षीया एक महिलाको शव भेटिएको हो।
सुटकेसभित्र कोचेर राखेको अवस्थामा शव फेला परेको डीएसपी कार्कीले बताए। महिलाको पहिचान खुलेको छैन।
प्रहरीले मुचुल्कापछि शवलाई प्रादेशिक अस्पताल गौरमा पठाएको छ। घटनाका बारेमा थप अनुसन्धान गर्न प्रहरीले घटनास्थल नजिकै रहेको एक विद्यालयको सीसीटीभी जाँच गरिरहेको छ। घटनाको अनुसन्धान जारी रहेको जिल्ला प्रहरी कार्यालय रौतहटका डिएसपी कार्कीले बताए।
यो साता मात्रै रौतहटमा तीन जनाको शव फेला परिसकेको छ। नेपाल लज भित्र मृत अवस्थामा भेटिएका सप्तरीका उपेन्द्र भगत, गौर ५ मा छुरा प्रहारबाट मारिएका सहाबुदिन मिया पछि शनिवार अज्ञात महिलाको शव भेटिएको हो।