सिरहा, २८ साउन। वर्षा सुरु भएसँगै मधेशका नदीहरू उर्लिएर बग्न थालेका छन्। यिनैमध्ये एक हो सिरहा र धनुषाको सीमाना भएर बग्ने कमला नदी, जहाँ अहिले पनि स्थानीय बासिन्दा डुङ्गाको सहारा लिएर दैनिक यात्रा गर्न बाध्य छन्।

वर्षायाम सुरु भएदेखि नदीमा पानीको बहाव उच्च छ। विसंं २०६८ मा सुरु भएको कमला नदीमाथिको पक्की पुल अझै अधुरो छ। तीन वर्षमै निर्माण सम्पन्न गर्ने भनिएको पुल १४ वर्षपछि पनि अलपत्र हुँदा हुलाकी सडक प्रयोग गर्ने नागरिकहरू सास्ती भोग्दै आएका छन्। 

527356634_4176884619230278_139256916015759546_n

सिरहा नगरपालिका ५ का वासुदेव यादव दैनिक गाईगोरुलाई घाँसपात गर्न नदीपारी जाने गर्छन्। हरेक वर्षासँगै डराइडराई नदीपार गर्नुपर्ने उनको दैनिक भोगाई रहेको छ। ‘पानी बढेपछि डुङ्गा चढ्न पनि डर लाग्छ, तर विकल्प छैन’,उनाँले भने, ‘कहिले डुङ्गा पल्टिन्छ कि भन्ने डर हुन्छ, पानीको भेलमा बगिएला कि भन्ने चिन्ता पनि मनभित्रै हुन्छ, तर के गर्नु? खेतबारीमा जानैपर्छ, काम रोकेर बस्न सकिन्न। डराइ–डराई डुङ्गा चढ्छौं, मुटु थामेर नदी पार गर्छौं।’

c827b84f-af5b-4ae7-ac8e-0733f73d6b20

सामान्यतया वर्षायामबाहेकको समय काठको सानो पुल प्रयोग हुने गरेको थियो। तर बर्खासँगै आएको बाढीले काठको पुलसमेत बगाएपछि, अब डुङ्गामात्रै एक विकल्प बनेको छ। नदी पार गर्न हुलाकी सडक प्रयोग गर्ने यात्रुहरूलाई डुङ्गा प्रयोगको प्रति मोटरसाइकल रु सय र प्रति व्यक्ति ५० रुपैयाँ तिर्नुपर्ने बाध्यता छ। 

कमला नदीमा स्थायी पुल अभावको प्रत्यक्ष असर स्वास्थ्य सेवामा समेत पुगेको छ। सिरहा अस्पतालबाट जनकपुर रेफर गरिएका बिरामीहरूलाई घुमाउरो बाटो भएर जानुपर्ने बाध्यता छ। प्रादेशिक अस्पताल सिरहाका मेडिकल सुपरिटेन्डेन्ट डा.सुनिल प्रसाद कुशवाहा भन्छन्, ‘पारीपट्टी नदी सीमाना रहेका धनुषाबासी विरामीका लागि दुरीले छोटो अस्पताल यो भए पनि उनीहरू जनकपुरसम्म जानुपर्ने बाध्यता छ। नदी वारी यताका कोही गंभिर प्रकृतिका विरामीका लागि लामो र घुमाउरो बाटोबाट ढिलागरि लैजाँदा बाटैमा मृत्यु समेत हुन सक्ने सम्भावना रहेको छ।’

मधेशको विकास र यातायात सञ्जालको मेरुदण्ड मानिने हुलाकी सडकको अधुरो कमला पुलका कारण लङ्गडो बनेको छ। सिरहा सदरमुकामदेखि प्रदेश राजधानी जनकपुर पुग्न सामान्य अवस्थामा आधा घण्टाको यात्रा पर्याप्त हुने थियो। तर कमला नदीमा पुल अधुरो रहँदा अहिले यो यात्रा बाधक बनेको छ। विकल्पमा चोहर्वा–ढल्केवर हुँदै महेन्द्र राजमार्ग प्रयोग गर्नुपर्दा सो दूरी झण्डै तीन घण्टाको लामो यात्रा बन्न पुगेको छ, जसले जनजीवनमा थप सास्ती थपेको छ।

सिरहा नगरपालिका ६ का वडाध्यक्ष इन्द्रजित यादवले भने, ‘पुल नहुँदा पैदलयात्रुले बाँसको भ¥याङ चढेर वा डुङ्गाबाट नदी पार गर्नुपर्ने अवस्था छ। राज्यले यहाँका नागरिकमाथि अत्याचार गरेको छ । हरेक वर्षको वर्षायाम यहाँका लागि सास्ती बनेको छ।’ दुई जिल्ला जोड्ने यो महत्वपूर्ण पुल अधुरो हुँदा विकास मात्र होइन, जनजीवन समेत जोखिममा परेको उनको भनाई छ। उनले सरकारलाई प्रश्न गर्दै अगाडी भने,‘बर्खा सकिएपछि पुलको चर्चा सेलाउने, अनि अर्को बर्खामा पुनः दुःख सुरु हुने यो चक्र कति वर्षसम्म चल्ने?’ त्यस्तै, डुङ्गा चढेर नदी पार गर्ने स्थानीयहरू प्रश्न गरिरहेका छन् ‘हामीलाई सुरक्षित यात्रा गर्ने अधिकार कहिले प्राप्त हुन्छ?’