काठमाडौं, २५ साउन। एमाले पोलिटब्युरो सदस्य गोकुलप्रसाद बाँस्कोटाले अपराधिक तत्वहरुले मुलुकको राजनीति कब्जा गरेको टिप्पणी गरेका छन्। उनले भारतीय पूर्व प्रधानमन्त्री अटल बिहारी बाजपेयीको अभिव्यक्ति स्मरण गर्दै अपराधिक तत्वहरु कसरी नेता बन्छन् भन्नेबारे खुलाएका हुन्।
‘एक समय आयो–अपराधिक तत्वहरु आफनो सुरक्षाको लागि नेताका छहारीमा आए, अर्को समय आयो–नेताकै लागि तिनीहरु नेताकै हर्ताकर्ता भए, र फेरि अर्को समय आयो–तिनैले राजनितीमा कब्जा जमाए अनि आफै नेता भए’, बाँस्कोटाले भनेका छन्, ‘यो गाईजात्रे झटारो हैन, भारतका पूर्व प्रम अटल विहारी बाजपेयीले लोकसभामा दिएको अभिव्यक्ति हो।’
सीमित शब्दमा कटाक्ष गर्न सिपालु बाँस्कोटाले कोप्रति उक्त स्टाटस लेखेका हुन्, त्यो भने खुलाएका छैनन्। तर एमालेकै कार्यकर्तापंक्तिले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र विवादस्पद मेडिकल व्यवसायी दुर्गा प्रसाईंलक्षित स्टाटस भनेर प्रचार गरेका छन्।
पूर्वमन्त्री बाँस्कोटाको स्टाटसमा उनी स्वयम् पनि नजानिँदो किसिमले शिकार भएका छन्। प्राप्त प्रतिक्रियालाई हेर्दा धेरैेले ‘सबैभन्दा बढी अपराधी र गुण्डा पाल्ने त एमाले नै हो।’
एमालेकै कार्यकर्ता रहेका डिआर ढकालको स्वीकारोक्ती छ, ‘गुण्डाको पालनपोषण र रक्षा गर्ने एमाले नै त हो, हाम्रोमा मै छ बढी।’
त्यस्तै, मकवानपुरे ठिटोको प्रतिक्रिया छ, ‘तपाईंहरु पनि त त्यही (गुण्डा) क्याटागोरी व्यक्तिहरु हो, होइन र?’
शेरजी राणाले भने भारतीय पूर्व प्रधानमन्त्रीको अभिव्यक्ति सम्झिनुभन्दा आफ्नै पार्टीलाई सम्झिन बाँस्कोटालाई सल्लाह दिएका छन्। ‘भारतको उदाहरण किन चाहियो?’, उनले लेखेका छन्, ‘अहिले एमालेको असली पहिचान नै बनेको छ त!’
(जन आस्थाबाट)