सिरहा, २१ साउन। सिरहाका एक निजी विद्यालयका संस्थापकले विद्यार्थीलाई निर्घात कुटपीट गरेको घटना सार्वजनिक भएको छ। नरहा गाउँपालका ३ चोहर्वास्थित सिरहा पब्लिक स्कूलका संस्थापक रामप्रकाश यादवले विद्यालयमा दुईदिनअघि भर्ना भएका सिरहा नगरपालिका २२ का रामवृक्ष यादवका १४ वर्षिय छोरा अतिनेश कुमार यादवमाथि कुटपीट गरेका हुन्। 

shreejana school

उनी आईतबार मात्र यस विद्यालयमा कक्षा ९ मा भर्ना भई विद्यालयकै होस्टेलमा बसेका थिए। सोमबार बेलुका रिङ्गमा समयमा नआएको भन्दै उनीमाथि लाठी, जुत्ता, मुक्काले निर्घात रुपमा कुटपीट गरेको अतिनेशका बुवा रामवृक्ष यादवले बताए। उनले भने, ‘अनितेश शौचालय गएकाले रिङ्गमा आउन केहि ढिला भएछ। त्यतिकैमा संस्थापक यादवले लाठी हानेपछि भुईमा ढलेछ, ढलेलगतै जुत्ताले घाँटीमा टेकेर सरीरका विभिन्न भागमा अन्धाधुन्द लाठी बर्साएछ।’

कुटपीटबाट बेहोस भएपछि संस्थापक यादवले अनितेशका भिनाजु गोलबजार १० का कैलाश यादवलाई बोलाएर आफै बेहोस भएको भन्दै उपचारका लागि पठाएका थिए। बेहोस अवस्थामै तीन जनाले बोकेर चोहर्वास्थित निजी स्वास्थ्य संस्थामा प्राथमिक उपचार पछि राती १० बजे थप उपचारको लागि प्रादेशिक अस्पताल सिरहा पुर्याएका थिए। घटनाबारे आफूले ९ बजेतिरमात्र जानकारी पाएको अनितेशका बुवा रामवृक्ष यादवले जानकारी दिए। 

उनले घटना थाहापाउनसाथ आफू छोराको अवस्था हेर्न अस्पताल पुगेपछि अस्पतालले थप उपचारको लागि अन्यत्र लान सल्लाह दिएको बताए। उनको घाँटीमा गम्भिर चोट लागेका कारण सुनिएको छ। अत्यधिक पेन हुनेगरेकाले र सुनिएकाले थप उपचारको लागि अहिले विराटनगरस्थित न्यूरो अस्पतालमा राखिएको छ।

अहिले सम्पूर्ण जाँच सम्पन्न भईनसकेकाले भित्रि अवस्थाबारे केही भन्न नसकिने यादवले बताए। 

आफूले जिल्ला प्रहरी कार्यालय सिरहामा उजुरी दिएपनि कुनै प्रकृया अगाडी नबढाएको गुनासो गरेका छन्। प्रहरीले भने उजुरी परेको जनाउँदै घटनाबारे थप अनुसन्धान भईरहेको जनाएको छ। 

यस सम्वन्धमा थप जानकारीकालागि विद्यालयका संस्थापक यादवसँग सम्पर्क गर्दा उनले पहिला फोन उठाएनन्। दोहर्याएर फोन गर्दा उनले तत्काल मोवाईल अफ गरे। 

यो विद्यालयमा बेला बेलामा यस्ता घटना हुने गरेको अभिभावकहरु नै बताउँछन्।