काठबाडौं, १६ साउन। फेसबुकलाई नयाँ साथी बनाउने र चिनजान बढाउने राम्रो प्लेटफर्मका रूपमा लिइन्छ । यो खासमा वास्तविक जीवनका साथीभाइसँग कुरा गर्न सजिलो होस् भनेर बनाइएको हो । त्यसैले धेरै मानिसहरू आफ्ना साथी र परिवारसँग जोडिन फेसबुक चलाउँछन् ।

516939538_1305659338233850_8893756082021894389_n

तर, कहिलेकाहीँ मानिसहरूले यसको गलत फाइदा उठाउँछन् । तपाईंले फेसबुकमा कुरा गरिरहेको मान्छे, तपाईंले सोचेको जस्तो वास्तविक नहुन सक्छ । आजकल अनलाइनमा नक्कली मान्छे धेरै हुने हुँदा हामी एकदमै होसियार हुनुपर्छ ।

नक्कली अकाउन्ट बनाउनेले इन्टरनेटबाट डाउनलोड गरेको वा एआईले बनाएका फोटो राखेर तपाईंलाई ठग्न सक्छन् । उनीहरूले ठग्नका लागि दिनदिनै नयाँ-नयाँ तरिका अपनाउने भएकाले सचेत हुन जरुरी छ । यहाँ फेसबुकमा नक्कली प्रोफाइल कसरी चिन्ने भनेर केही सजिला तरिका दिइएको छ:

मानिसहरू किन नक्कली फेसबुक प्रोफाइल बनाउँछन् ?

फेसबुकमा आफ्नो वास्तविक पहिचान प्रयोग गर्दा धेरै फाइदा छन् । यदि तपाईंले आफ्नो वास्तविक नाम, तस्बिर राख्नुभएको छ भने तपाईंका साथीले तपाईंलाई सजिलै फेला पार्न सक्छन् । त्यस्तै यदि तपाईं व्यापार गर्नुहुन्छ भने पनि तपाईंले वास्तविक परिचय राख्दा विश्वसनीयता बढ्छ । त्यसोभए मानिसहरू किन नक्कली फेसबुक आईडी बनाउँछन् त ?

यसको एउटा मुख्य कारण हो काल्पनिक वा अरू कसैको पहिचान बनाएर प्रस्तुत हुनु । उदाहरणका लागि बर्दियामा बस्ने कुनै एक विद्यार्थीले आफूलाई काठमाडौँ बस्ने पाइलटको रूपमा प्रस्तुत गर्न सक्छ । यसो गरेर उसले फेसबुकमा केटी साथी बनाउने वा केटीले केटा साथी बनाउन सक्ने सम्भावना बढाउन सक्छ ।

ठगहरूले मानिसहरूलाई धोका दिन/झुक्याउन उनीहरूका परिवारका सदस्यको नक्कली आईडी प्रयोग गर्छन् र गोप्य जानकारी चोर्छन् । त्यस्तै उनीहरूले चर्चित व्यक्ति वा प्रतिष्ठित संस्थाको नाममा नक्कली फेसबुक अकाउन्ट वा पेज बनाएर मानिसबाट ठुलो रकम असुल्ने काम पनि गर्छन् । एकपटक कसैले फेसबुकमा नक्कली पहिचान बनाएर मानिसलाई विश्वास दिलाउन सफल भयो भने त्यसबाट हुनसक्ने क्षतिको कुनै सीमा हुँदैन । त्यसोभए नक्कली फेसबुक आईडी वा पेज कसरी चिन्ने त ?

नक्कली फेसबुक आईडी पहिचान गर्ने तरिका

पहिलो नजरमा नक्कली र सक्कली फेसबुक आईडीमा खासै फरक देखिँदैन । तर, साना-साना कुरामा ध्यान दिँदा यसलाई सजिलै छुट्याउन सकिन्छ । यहाँ नक्कली आईडी पहिचान गर्ने केही तरिका दिइएको छ:

१) नक्कली वा चोरिएका फोटोको प्रयोग

नक्कली आईडीमा उनीहरूको दैनिक जीवनबारे धेरै कुरा हुँदैन किनकि उनीहरूले त्यो जीवन बाँचिरहेका हुँदैनन् । बरु आफूलाई सक्रिय देखाउन उनीहरू धेरै फोटो प्रयोग गर्छन् । उनीहरूले पोस्ट गर्ने फोटोको प्रकृतिलाई विश्लेषण गरेर शंका गर्न सकिन्छ । आफूले दाबी गरेजस्तो जीवन नबाँचेकाले उनीहरूले प्रायः अरू कसैको फोटो चोरेर प्रयोग गर्छन् । विशेषगरी अनलाइन डेटिङमा ठगी गर्नेले यस्तो नक्कली प्रोफाइल बढी प्रयोग गर्छन् ।

यदि तपाईंलाई कुनै खाता नक्कली हो भन्ने शंका लागेमा तपाईंले गुगलमा ‘रिभर्स इमेज सर्च’ (Reverse Image Search) गर्न सक्नुहुन्छ । यसका लागि सबैभन्दा पहिले तस्बिर डाउनलोड गरी गुगल इमेजमा अपलोड गरेर सर्च गर्नुहोस् । यदि तपाईंले त्यही तस्बिर पहिले नै कतै पोस्ट भएको पाउनुभयो भने तपाईंले कुरा गरिरहनुभएको अकाउन्ट नक्कली हुनसक्छ ।

नक्कली फेसबुक अकाउन्टनक्कली फेसबुक अकाउन्टकतिपयले एआई प्रयोग गरी आकर्षक फोटो देखाएर झुक्याउन सक्छन् । त्यसका लागि उसले अपलोड गर्ने सबै फोटोलाई तुलना गरेर एकरूपता छ कि छैन भन्ने जाँच गर्नुपर्छ । यदि तपाईंलाई कुनै फोटो एआईले बनाएको हो कि होइन भन्ने बुझ्नु पर्‍यो भने यहाँ, यहाँ, यहाँ र यहाँ क्लिक गरी फोटो जाँच गर्न सक्नुहुन्छ ।

तपाईंलाई फेसबुकमा कसैको फ्रेन्ड रिक्वेस्ट पठाएको छ र त्यो सक्कली हो कि होइन भन्ने पुष्टि गर्नुपर्‍यो भने कमेन्ट हेर्न सक्नुहुन्छ । उदाहरणका लागि कुनै केटीको आईडी छ र त्यसमा सबै केटाहरूको मात्र कमेन्ट छ भने पनि त्यस्तो आईडीलाई शंका गर्न सकिन्छ । फेसबुकमा प्रायः आफन्त, नातेदार, छिमेकी एड हुने भएकाले मिश्रित कमेन्ट आउनु स्वभाविक हो । तर, सबै एकनासका आएका छन्, एउटै किसिमका आईडीबाट आएका छन् भने ती आईडीलाई शंका गर्न सकिन्छ ।

२) अस्वभाविक टाइमलाइन

तपाईंले कसैको प्रोफाइल खोल्दा त्यहाँ उसले अपलोड गर्ने फोटो, भिडिओ, स्टाटस आदि देखिन्छन् । त्यसैलाई टाइमलाइन भनिन्छ । धेरैजसो नक्कली फेसबुक आईडी पुराना वा ह्याक गरिएका हुन्छन् । पुराना फेसबुक अकाउन्टको एउटा ठुलै कालोबजार छ । यदि कसैले नयाँ फेसबुक अकाउन्टबाट अरूको नक्कल गर्न खोज्यो भने त्यो सजिलै पत्ता लाग्छ । त्यसैले खराब नियत भएका व्यक्तिहरूले पुराना अकाउन्ट किन्छन् । यदि कसैले तपाईंको आईडी किन्छु भन्यो भने ‘के नै छ र त्यस्तो’ भन्ने ठानी आईडी नबेच्नुहोला । त्यसो गर्दा उक्त व्यक्तिले तपाईंको आईडी प्रयोग गरेर तपाईंकै नजिकका मान्छे ठग्न सक्छ । वा, तपाईंबारे तपाईंका आफन्तमाझ भ्रम फैलाइदिन सक्छ ।

यस्ता पुराना आईडीको टाइमलाइनमा प्रायः एकरूपता हुँदैन । यदि तपाईंले कुनै शंकास्पद प्रोफाइलको टाइमलाइनमा गएर पुराना पोस्ट हेर्नुभयो भने त्यहाँ अस्वभाविक पोस्ट देख्न सक्नुहुन्छ । केही व्यक्तिले सबै पुराना पोस्टहरू हटाएर नयाँ सुरुवात गर्छन् । त्यसैले खाली ‘वाल’ भएको अकाउन्टबाट सावधान रहनुपर्छ । कहिलेकाहीँ लामो समयसम्म कुनै पोस्ट नभएको र त्यसपछि अचानक दैनिक पोस्ट हुन थालेको देखिन्छ । त्यो पनि एउटा खतराको सङ्केत हो ।

३) सहयोग माग्दै गरिने अनौठा कुराकानी

यदि तपाईंको नजिकको साथी वा परिवारको सदस्यले प्रयोग गर्ने जस्तो लाग्ने अकाउन्टबाट अचानक अनौठो तरिकाले जानकारी वा मद्दत मागिन्छ भने सावधान रहनुहोस् । तपाईं कसैसँग जतिसुकै लामो समयदेखि फेसबुक साथी भए पनि आर्थिक सहयोग वा गोप्य जानकारी माग्ने कुनै पनि शंकास्पद कुरामा विश्वास नगर्नुहोस् ।

तपाईंको नजिकको मान्छेले राम्रो कुरा गर्‍यो वा आफूलाई आवश्यकता महसुस गरायो भने तपाईं आर्थिक सहयोग गर्न पछि हट्नु हुन्न । ठगले यसैको फाइदा उठाएर तपाईंको आफन्त बनी तपाईंलाई नै ठग्न सक्छ । 

‘म पसलमा आएको थिएँ, मेरो क्यूआर चलेन’, ‘मेरो खाता ब्लक भएर मैले पैसा पठाउन सकिनँ’, ‘अस्पतालमा आएको मेरो खाता चलेन’ जस्ता बाहाना बनाएर तपाईंलाई अरू कसैको खातामा रकम पठाउन लगाएर ठग्न सक्छन् । त्यस्तै ‘म ड्राइभिङ लाइसेसन्सको फर्म भर्न आएको थिएँ, मेरो नम्बरमा ओटीपी आएन’ भन्दै फेसबुकमा तपाईंको आफन्त बनी ओटीपी माग्ने गरेका घटना पनि देखिन्छन् । यस्ता घटनाबाट पनि सचेत हुनुपर्छ ।

नेपालमा मौलाएको अर्को ठगीको घटना हो ‘विदेशी’ बन्ने । ‘म जर्मनीको पाइलट हुँ, नेपाल आउने बित्तिकै तपाईंसँग बिहे गर्छु’, ‘अहिले बेलायतमा छु, नेपाल आउने योजना छ, आउनासाथ तपाईंलाई सहयोग गर्छु, उपहार ल्याइदिन्छु’ भन्दै अनेक कथा बुनेर झुक्याउने गिरोह पनि उत्तिकै सक्रिय छ । यी सबै नक्कली अकाउन्टबाट हुने गर्छन् । 

४) कम मेसेज गर्ने वा कुराकानीबाट भाग्ने

धेरै नक्कली अकाउन्टलाई तपाईंको विषयमा धेरै जानकारी हुँदैन । कोही तपाईंको आफन्त नै दाबी गर्दै बोल्न आयो वा केही सहयोग माग्यो भने उसलाई आफ्ना थप जानकारी सोधेर पुष्टि गर्नुहोस् । उदाहरणका लागि तपाईंको कुनै साथीको अकाउन्टबाट तपाईंलाई सहयोगको याचना आयो । तर, उसले रकम अरू कुनै खातामा पठाउन भनेको छ । यस्तोमा तपाईंले उसलाई वास्तविक नम्बरमा फोन गरेर पुष्टि गर्न सक्नुहुन्छ । वा यो समयमा हामी कहाँ गएका थियौं, त्यहाँ भएको रमाइलो वा स्मरणीय क्षण कुन थियो भनेर सोध्न सक्नुहुन्छ । त्यस्तै ति साथीसँग कुनै विशेष पल छन् भने त्यसबारे सोध्न सक्नुहुन्छ । तपाईंको विषयमा थप जानकारी नदिएको खण्डमा त्यस्ता अकाउन्टलाई बेवास्ता गर्नु नै उपयुक्त हुन्छ ।

५) म्युचल फ्रेन्ड नभएका व्यक्तिबाट आउने फ्रेन्ड रिक्वेस्ट

यदि तपाईंलाई म्युचल फ्रेन्ड (तपाईंसँग एड भएको अकाउन्ट त्यस आईडीमा एड छ भने त्यस्तोलाई म्युचल फ्रेन्ड भनिन्छ) नभएका अकाउन्टबाट धेरै फ्रेन्ड रिक्वेस्ट आइरहेको छ भने त्यो तपाईंलाई नै लक्षित गरेर बनाइएको नक्कली अकाउन्ट हुनसक्छ । यस्ता आईडी कुनै विशेष व्यक्तिलाई धोका दिनका लागि बनाइएका हुन्छन् । त्यसैले त्यस्ता आईडी चिन्न अलि गाह्रो हुन्छ । प्रलोभन देखाएको छ, सहयोग गर्छु भनेको छ, बिहेको आश्वासन देखाएको छ भने त्यस्ता आईडीलाई शंका गर्नुपर्छ ।

तपाईंले ‘म्युचल फ्रेन्ड नभएका व्यक्ति’बाट आउने फ्रेन्ड रिक्वेस्टलाई रोक्न सक्नुहुन्छ । यसका लागि फेसबुक एपको सेटिङ्स (Settings) मा जानुहोस् । अनि मानिसहरूले तपाईंलाई कसरी फेला पार्न र सम्पर्क गर्न सक्छन् भन्ने ‘How people can find and contact you’ अप्सन छान्नुहोस् । त्यसपछि ‘Who can send you friend requests ?’ (कसले तपाईंलाई फ्रेन्ड रिक्वेस्ट पठाउन सक्छ ?) मा गएर ‘Friends of friends’ (साथीहरूको साथी) छान्नुहोस् ।

नक्कली आईडीबाट आफूलाई बचाउन के गर्ने ?

आफ्ना साथी र परिवारलाई पनि आँखा चिम्लेर फ्रेन्ड रिक्वेस्ट एसेप्ट गर्नु हुँदैन भन्ने सम्झाउनुहोस् । लाखौं मानिसले कुनै पनि फ्रेन्ड रिक्वेस्टलाई स्वतः एसेप्ट गर्छन् । यसले गर्दा उनीहरू र उनीहरूका सबै साथीलाई फिशिङ लिङ्क र स्क्यामको जोखिममा पार्छ ।

यदि तपाईं कसैलाई चिन्नुहुन्छ कि हुन्न भन्नेमा निश्चित हुनुहुन्न भने उनीहरूलाई मेसेज पठाएर सोध्नुहोस् । यदि उनीहरूले जवाफ दिन सकेनन् वा दिएनन् भने तिनीहरूलाई बेवास्ता गर्नुहोस्  यदि तपाईंलाई त्यो अकाउन्ट तपाईंको साथीको नक्कल गरेर बनाइएको जस्तो लाग्छ भने त्यो साथीलाई पहिलेदेखि भएको फोन नम्बरबाट सम्पर्क गरेर पुष्टि गर्नुहोस्।

(टेक पानाबाट)