जनकपुरधाम, ५ असार। धनुषाको मिथिला नगरपालिका १, ढल्केबरमा बाली जोगाउन खेतमा जडान गरिएको विद्युत्ततिय धरापमा पर्दा करेन्ट लागेर एक महिलाको मृत्यु भएको छ। धरापमा बिहीबार बिहान ९ बजे स्थानीय ५० वर्षीया मङ्लीदेवी महतोको करेन्ट लागेर मृत्यु भएको हो।
प्रहरीका अनुसार मङ्गलीदेवी सोही वडाका रामअशिष महतोकी श्रीमती हुन्। घर नजिकै रहेको तरकारी खेतमा काम गर्न जाँदा खेत वरिपरि बारेको तारमा करेन्ट प्रवाह भएको सयमा छुँदा उनको घटनास्थलमै मृत्यु इलाका प्रहरी कार्यालय ढल्केवरले जनाएको छ।
इलाका प्रहरी कार्यालय ढल्केबरका इन्सपेक्टर जटाशङ्कर यादवले घटनास्थलको प्रारम्भिक अनुसन्धानमा स्थानीय रामप्रमोद महतोले जङ्गली जनावरबाट आफ्नो खेतमा लगाइएको तरकारी बाली जोगाउन तारले बारेर बिजुली प्रवाह गरेको पाइएको बताए। खेतको सुरक्षा गर्न बनाइएको विद्युतीय धरापमा परेर महिलाको मृत्यु भएको उनले जानकारी दिए।
शव पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल जनकपुर पठाइएको छ भने घटना सम्बनधमा थप अनुसन्धान भइरहेको इन्सपेक्टर यादवले जानकारी दिए।
स्थानीयका अनुसार यहाँका कतिपय किसानले खेतको तरकारी तथा अन्य बाली जङ्गली जनावरबाट बचाउन तार तानेर विद्युतिय करेन्ट प्रवाह गर्ने गरेका छन्। यसरी जडान भएको धराममा परेर पछिल्लो दिनमा मानवीय क्षति बढेको स्थानीयको भनाइ छ।