सिरहा, ४ असार। नरहा गाउँपालिकाका एक वडा अध्यक्ष आफैले अवैध रुपमा ग्राभेल उत्खनन् गराउँदै आएको पाइएको छ। नरहा गाउँपालिका ३ का वडा अध्यक्ष रुषतम अन्सारीले माफियासँगको मिलेमत्तोमा ग्राभेल उत्खनन् गराउँदै आएका हुन्। 

उनको वडा अन्तर्गत आधादर्जन स्थानबाट माफियासँगको आर्थिक लेनदेनमा ग्राभेल उत्खनन् गराउन गरेको स्थानीय एक व्यसायीले बताए। उनले भने, ‘वडा अध्यक्ष आफै माफियासँग निशुल्क ग्राभेल लिईरहेका छन्। उनले फोकटमा ग्राभेल लिएपछि निर्वाधरुपमा उत्खननको छुट पनि दिनु परिहाल्यो नी।’

वडा अध्यक्ष अन्सारी आफैले पनि वडाको कामको लागि ग्राभेल उत्खनन् गरिएको स्वीकार गरेका छन्। उनले वडाको केही काम बाँकी रहेकाले निकालेको बताए। उनले भने, ‘आफैलाई थोरै ग्राभेलको काम थियो, त्यहि भएर १०–१५ टिफर निकालेको हो। अव पुग्यो। निकाल्न बन्द गरिरहेको छु।’

उनलाई तपाई आफै वडा अध्यक्ष भएर यसरी दर्ता नै नगरी ग्राभेल निकाल्न मिल्छ? भनि प्रश्न गर्दा उनले पुनः दोहर्याए ‘थोरै आवश्यक थियो, मैले माँगे उनले दिन राजी भएपछि मैले ल्याएको हुँ। अव बन्द हुन्छ।’

यस वडाले आर्थिक वर्ष २०८१÷०८२ मा वडा भरीमा माटो, ग्राभेल तथा कृषि सडक निर्माणको लागि १५ लाख रुपैयाँ विनियोजन गरेको छ। विनियोजित योजनाकोलागि काम गर्ने उपभोक्ता समिति नामको लागिमात्र बनाएर काम भने सवै वडा अध्यक्ष आफैले गर्ने गरेको एक स्थानीयले बताए। 

उनले थपे, ‘ग्राभेल ‘फ्रि’ मा पाउने भएपछि नामको लागि समिति बनाएर आफै काम गर्नु हुन्छ। वडा अध्यक्षजी प्रायः काम यसरी नै गरिरहनु भएको छ।  उहाँको धन्दा नै यस्तै छ।’