सिरहा, ३ असार। सिरहा प्रहरीले काठ सहितका दुई वटा मिनि टिफर नियन्त्रणमा लिएको छ। इलाका प्रहरी कार्यालय मिर्चैयाले अवैध रूपमा काठ तस्करी गर्दै गरेको आसङ्कामा मिर्चैया कटारी सडकअन्तर्गत मिर्चैया नगरपालिका ७ फुलबरियाबाट सोमबार राति करिव १० बजे नियन्त्रणमा लिएको हो।
कटारी तर्फबाट मिर्चैया काठ लिएर आउँदै गरेको भन्ने गोप्य सूचनाका आधारमा त्यहाँ पुगेका प्रहरीले काठसहित म. प्र. ०३–००१ च. ७१४४ र आको एक गाडी र चालक नियन्त्रणमा लिएको इलाका प्रहरीले मिर्चैयाका इन्सपेक्टर सन्तोष कुमार बुढाथोकीले जानकारी दिए।
उनका अनुसार आफूहरुले वनलाई काठसहित नियन्त्रणमा लिएको गाडी वन कार्यालयलाई बुझाउने प्रकृयामा रहेको बताए। तर, नियन्त्रणमा लिउको काठ १२ घण्टा वितिसक्दा पनि वन कार्यालयलाई बुझाउने औपचारीक प्रकृया सुरु हुन सकेको छैन।
काठमा लगाएको शिल तोडिएका कारण वन कर्मचारीले शिल तोडिएकै अवस्थाको मुचुल्का बनाएमात्र बुझ्ने अडान लिएकाले प्रकृया लम्बिन गएको एक वन कर्मचारीले बताए।
नियन्त्रणमा लिएको काठ गोलबजार नगरपालिका ४ मा संचालिय गुप्ता सः मिल फर्निचर उद्योगका संचालक श्याम गुप्ता (करिया)को रहेको प्रहरीले जनाएको छ।
सव डिभिजन वन कार्यालय मिर्चैयाकी अधिकृत आकृती तामाङले भने राति गाडी नियन्त्रणमा लिएको अनौपचारीक रुपमा जानकारी भएपनि प्रहरीबाट विहान १० बजेसम्म कुनै औपचारीक जानकारी नआएको बताए। उनले भने, ‘हामीले पनि काठ प्रहरीले समातेको भन्ने अनौपचारीक रुपमा जानकारी पाएका छौं। तर, प्रहरीले अहिलेसम्म औपचारीक रुपमा कुनै सूचना आएको छैन।’
प्रहरी र वन कार्यालयबीच समन्वय अभावले अनुसन्धानमा ढिलाइ भईरहेको छ।
काठ उदयपुरबाट खरिद गरेर ल्याएको भनेपनि काठमा टाँचा नहुनुले तस्करी गरेर ल्याएको हुन सक्ने प्रहरीको भनाई छ। चेकजाँचको क्रममा पनि उक्त गाडी भाग्न खोजेकाले झन यसको पुष्टि गरेको एक स्थानीय प्रत्यक्ष दर्शिले बताए।
प्रहरीलाई काठ कहाँबाट कसले खरिद गरेर ल्याएको हो? भन्ने प्रश्नमा अनुसन्धान भईरहेको भन्दै बताउन चाहेनन्। तर, काठ धनी श्याम साह भने राती नै प्रहरी कार्यालय पुगेका थिए।