सिरहा, ११ जेठ। सिरहाको गोलबजार नगरपालिका १२ वेतौनास्थित आधारभुत विद्यालय जयनगर धोक्रेका शिक्षकले एकै समयमा दुई वटा विद्यालयमा पठन–पाठन गरेको खुलेको छ। यस विद्यालयका शिक्षक दिपेन्द्र कुमार साह (डिके सर) र संजय साह अन्य विद्यालयमा पनि पठन पाठनका लागि जाने गरेको खुलेको हो।

mount school

यस विद्यालयका स्थायी शिक्षक डिके सर गोलबजार नगरपालिका ८ स्थित जनता नमुना माध्यमिक विद्यालय चन्द्रलालपुर चोहर्वामा निजी स्रोतमा सञ्चालित अग्रेजी माध्यमको शिक्षण कार्य गरिरहेका छन्। अर्का शिक्षक संजयले भने गोलबजार ८ कै निजी विद्यालय बाल विकास आवासिय माध्यमिक विद्यालयमा पढाउने गरेका छन्। उनी भने ९ बजेपछि विद्यालय छोडेर निजी विद्यायमा पढाउन जाने गरेका छन्। 

जनता नमुना माध्यमिक विद्यालय चन्द्रलालपुरले शैक्षिक शत्र २०८२ बाट अँग्रेजी माध्यमको पनि पढाई सुरु गरेको छ। अहिले विहानी कक्षा सञ्चालनमा रहेपनि साह आफ्नो विद्यालयमा भने आईतबार १० बजेमात्र उपस्थित भएका थिए। उनी विहान जमाविमा पढाई सकेर प्रायः यहि समयमा आफ्नो विद्यालय आउने गरेको विद्यार्थीहरु बताउँछन्। 

विद्यालयका प्रधानाध्यापक शिवशंकर साहले उनी दुवै जना अन्य विद्यालयमा पढाउन जाने गरेको बताए। उनले दुवै जना शिक्षक समयमा नआएको गुनासो हुन थालेको समेत बताए। उनले गुनासो बढेपछि विद्यालयलय व्यवस्थापन समितिले ७ दिने अल्टिमेटम दिएको समेत जनाए।

प्रधानाध्यापक साहले भने, ‘दुवैजना शिक्षकरु विद्यालय समयमा बाहिर पनि पढाउन जानुहुन्छ, पछिल्लो दिनमा उहाँहरुको विषयका गाउँलेहरुबाट गुनासा बढ्न थालेपछि विद्यालय व्यवस्थापन समितिले सात दिनभित्र विद्यालयमा तोकिएको समयमा नियमित उपस्थित हुन चेतावनी दिईसकेका छ। त्यस्तो भएन भने उहाँहरुले वेतलवी विदा वस्नु पर्ने अवस्था पनि आउन सक्छ।’ 

यस विषयमा विद्यालयका अध्यक्ष बेचन पालले पनि उनीहरुको विषयमा गुनासाहरु आउने गरेको बताए। उनले भने, ‘दुई जना शिक्षकहरु विद्यालयकै समयमा बाहिर जानु हुन्छ भन्ने गुनासा आएको थियो। हामीले दुवै जनालाई अव त्यस्तो नगर्न चेतावनी दिईसकेका छौं।’

कुनै पनि सामुदायिक विद्यालयका शिक्षकले विद्यालय सयमयमै अन्यत्र काम गर्नु नियम विपरीत कार्य हो। तर, यहाँका नियामक निकाय भने यस मौन रहँदै आएको शिक्षा प्रेमीहरु बताउँ छन्।

विद्यालय १० बजे आईपुगेका डिके सरलाई  गमक पोष्टले तपाईंको विद्यालय आउने समय यहि होरु भनि प्रश्न गर्दा उनले आफू प्रविधिक कारणले ढिलो भएको बताए। हामीले पुनः तपाई यहि समयमा अन्य विद्यालयमा पनि बढाउनु हुन्छ रेरु भनि प्रश्न दोहर्याउँदा उनले ‘हो, म अन्य विद्यालयमा पनि बढाउँछु। विहान ६ बजेदेखि राति ८ बजेसम्मै पढाउँछुस भन्ने जवाफ फर्काए। 

सोही क्रममा उनले आफूले यस विद्यालयमा दिन नसकेको समयको सट्टा अन्य समयमा बढाउने बाचा गरेको समेत सुनाए। 

अर्का शिक्षक संजय भने हामी पुगेपछि विद्यालयबाट निस्कन सकेनन्। उनले अहिले अन्य विद्यालयमा पढाउन छाडिदिएको जिकिर गरे। 

यस विषयमा बुझ्न गोलबजार नगर शिक्षा युवा तथा खेलकुद शाखाका प्रमुख अनन्त कुमार पौडेलसँ ग सम्पर्क गरे पनि उनी सम्पर्कमा आउन चाहेनन्।