सिरहा, ५ जेठ। सिराहा प्रहरीले छुट्टाछुट्टै ठाउँबाट प्रतिबन्धित लागुऔषध खैरो हेरोइन र स्रोत नखुलेको ७० लाखभन्दाबढी रकमसहित पाँचजनालाई पक्राउ गरेको छ। प्रहरीले लागुऔषध कारोबारमा संलग्न दाजुबहिनी र अन्य दुई गरी चारजना र स्रोत नखुलेको रकमसहित एक गरी पाँचजनालाई पक्राउ गरेको हो।
जिल्ला प्रहरी कार्यालय सिराहाले आइतबार पत्रकार सम्मेलनमार्फत शनिबार साँझ लहान नगरपालिका १२, भोटिया टोल चोकबाट पक्राउ गरिएका लहान २२ का करिब ३२ वर्षीय दिनेशकुमार यादव, उनकी बहिनी करिब २६ वर्षीया किरणकुमारी यादव, बरियारपट्टी गाउँपालिका ३ बाट पक्राउ गरिएका दुईजना र सिराहा नगरपालिका २ बाट स्रोत नखुलेको रकमसहित पक्राउ गरिएका एक गरी पाँचजनालाई लागुऔषध, नगदसहित सार्वजनिक गरेको हो।
लागुऔषध नियन्त्रण ब्युरो गोलबजार र लहान प्रहरीको संयुक्त टोलीले शनिबार साँझ को ५ प ६९२७ नम्बरको मोटरसाइकल चढेर आएका दाजुबहिनीलाई चेकजाँच गर्दा दाजुको साथबाट प्लास्टिकसहित २२ ग्राम ९० मिलिग्राम खैरो हेरोइन, नगद ५१ हजार चार सय ५० रुपैयाँ र दुई थान मोबाइल बरामद गरेको जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक अनन्तराम शर्माले जानकारी दिए।
उनका अनुसार दाजुबहिनीले दिएको बयानको आधारमा लहान–२२ लवटोलीस्थित एक घरमा खानतलासी गर्दा बिक्री वितरणका लागि लुकाएर राखेको प्लास्टिकसहित एक सय ८६ ग्राम खैरो हेरोइन, नगद ५४ लाख १४ हजार दुई सय ८५ रुपैयाँ र भारतीय मुद्रा ३५ हजार सात सय ८० रुपैयाँ, लागुऔषध जोख्ने डिजिटल तराजु र थप चार थान मोबाइल बरामद भएको थियो।
सिराहा प्रहरीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक वीरेन्द्रकुमार पासवानले उनीहरूलाई लागुऔषध कारोबारअन्तर्गत मुद्दामा थप अनुसन्धान गर्न शनिबारदेखि नै सिराहा जिल्ला अदालतबाट सात दिनको म्याद थप गरिएको बताए।
बहिनीसहित पक्राउ परेका दिनेश लागुऔषध कारोबारका पटके अपराधी रहेको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार उनी १२ साउन ०८० मा ४.४ मिलिग्राम खैरो हिरोइनसहित पक्राउ परेका थिए। उनी २४ असोज ०८० मा पुर्पक्षका लागि कारागार चलान भएका थिए। अदालतले त्यही वर्षको ५ माघको फैसलाबमोजिम उनी ६ महिना कैद भुक्तान गरी छुटेका थिए।
यस्तै, इलाका प्रहरी कार्यालय बरियारपट्टीबाट खटिएको प्रहरीले बरियारपट्टी गाउँपालिका–३, चमार टोलमा शनिबार दिउँसो चेकजाँचको क्रममा भारतको लदनिया बजार क्षेत्रबाट प्र। २–०१–००२ प ३०६८ नम्बरको मोटरसाइकल चढेर नेपालतर्फ आएका दुई युवकलाई सात सय १० मिलिग्राम खैरो हेरोइनसहित पक्राउ गरेको छ । प्रहरीका अनुसार पक्राउ पर्नेमा औरही गाउँपालिका–३ का करिब २० वर्षीय कृष्णकुमार यादव र औरही–२ तुलसीपुर घर रहेका करिब १९ वर्षीय निरज राय छन्।
त्यसैगरी लहान नगरपालिका १७ का करिब ४५ वर्षीय सञ्जय कारकलाई शनिबार स्रोत नखुलेको १६ लाख रुपैयाँभन्दा बढी रकमसहित पक्राउ गरेको छ। उनलाई सिराहा नगरपालिका २ महावीर चोकदेखि पश्चिम कमला नदीतर्फ जाने बाटोबाट पक्राउ गरिएको हो।
प्रहरीका अनुसार शंका चेकजाँच गर्दा कारकलाई कम्मरमा बाँधेको हरियो कपडा, दुवै तिघ्रा र घुँडाभन्दा मुनि लगाएको ब्यान्डेजमुनि स्रोत नखुलेको १६ लाख ३८ हजार तीन सय ७० रुपैयाँ, भारतीय मुद्रा दुई सय ३० रुपैयाँ र एक थान मोबाइलसहित पक्राउ गरिएको हो।