सिरहा, ४ जेठ। सिरहामा पत्रकार र पत्रकारिताका नाममा गैर व्यावसायिक गतिविधि गर्नेहरूलाई कानूनी कारबाहीको दायरामा ल्याइने भएको छ। नेपाल पत्रकार महासंघ, सिरहा शाखाले आइतबार प्रेस विज्ञप्ती जारी गर्दै त्यस्ता नामधारी पत्रकारलाई कारबाहीको चेतावनी दिएको हो।

पत्रकार भन्दै केही व्यक्तिहरू जिल्लाका विभिन्न सरकारी तथा गैरसरकारी कार्यालय, स्थानीय निकाय, व्यापारिक संस्था, प्रहरी कार्यालय, होटललगायतमा गएर धाकधम्की दिने, पैसाको बार्गेनिङ गर्ने, पत्रकार सम्मेलन गराइदिने भन्दै पीडितहरूसँग रकम असुली गर्ने गरेको गुनासा आएको महासंघले जनाएको छ।

यसले सिंगो पत्रकारिता क्षेत्रकै छविमा आँच पुर्‍याइरहेको र यस्ता कार्य अत्यन्त निन्दनीय र गैरकानुनी भएको भन्दै यस्ताहरूबाट जोगिन सबै पक्षसँग महासंघले आग्रह पनि गरेको छ। यस्तो गतिविधिमा कोही संलग्न रहेको देखिएमा नजिकको प्रहरी वा महासंघलाई जानकारी गराउन पनि महासंघले अपिल गरेको छ।

महासंघले यस्तो गैरकानुनी कार्यमा संलग्न व्यक्तिरूलाई तत्कालै कानूनी दायरामा ल्याउन प्रतिबद्ध रहेको जनाएको छ।

siraha FNJ