सिराहा, ३ जेठ। सिरहा प्रहरीले छुट्टाछुट्टै स्थानबाट ठूलो परिमाणमा प्रतिवन्धित लागु पदार्थ ब्राउन सुगरसहित चार जनालाई नियन्त्रणमा लिएको छ। प्रहरीले सिरहाको लहान र बरियारपट्टीबाट दुई सय ग्रामभन्दा बढी ब्राउनसुगरसहित उनीहरुलाई पक्राउ गरेको हो।
लहान नगरपालिका १२ भोटिया टोलबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ २१ ग्राम, नगद ५१ हजार ४ सय ५० रूपैयाँ र मोबाइल २ थान सहित २ जनालाई शुक्रबार साँझ पक्राउ गरेको हो।
पक्राउ पर्नेहरूमा सोही नगरपालिका २२ लबटोली बस्ने ३२ वर्षीय दिनेश कुमार यादव र उनकै बहिनी २६ वर्षीया किरण कुमारी यादव रहेका छन्।
जिल्ला प्रहरी कार्यालय सिराहा, इलाका प्रहरी कार्यालय लहान र लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय गोलबजारबाट खटिएको प्रहरीले को. ५ प ६९२७ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो।
थप अनुसन्धानको क्रममा प्रहरीले दिनेशको घर तलासी गर्दा खैरो हेरोइन जस्तो देखिने पदार्थ १ सय ८० ग्राम, ५४ लाख १४ हजार २ सय ८५ नेपाली रूपैयाँ, ३५ हजार ७ सय ८० भारतीय रूपैयाँ, मोबाइल ४ थान र डिजिटल तराजु १ थान समेत फेला पारी बरामद गरेको छ ।
यसैगरी, सिराहाकै बरियारपट्टी गाउँपालिका ३ बाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ करिब ७ सय १० मिलिग्राम सहित २ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ।
पक्राउ पर्नेहरूमा औरही गाउँपालिका ३ का २० वर्षीय कृष्ण कुमार यादव र सोही गाउँपालिका २ तुलसीपुरका १९ वर्षीय निरज राय रहेका छन्।
इलाका प्रहरी कार्यालय बरियारपट्टीबाट खटिएको प्रहरीले भारत लदनियाबाट बरियारपट्टीतर्फ आउँदै गरेको प्र.२–०१–००२ प ३०६८ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो।