सिरहा, २ जेठ। गोलबजार प्रहरीले सिरहा नगरपालिकाका वडा अध्यक्ष हरुले प्रयोग गर्ने दुई थान सरकारी नम्वर प्लेटका मोटरसाइकलसहित एक जनालाई नियन्त्रणमा लिएको केही वेरमै छोडेको छ। सिरहा नगरपालिका ४ र ५ का वडा अध्यक्षले प्रयोग गर्ने स. १ ब ९२४ र स. १ ब ९२५ नम्वरको सरकारी नम्वर प्लेठको दुई थान मोटरसाइकल गोलबजार नगरपालिका ४ दुर्गा मन्दिर नजिक रहेको एक मदिरा पसल अगाडीबाट नियन्त्रणमा लिएको हो।
लामो समयदेखि मोटरसाइकल बेवारीसे अवस्थामा रहेको भन्ने सूचनाको आधारमा पुगेका प्रहरीले सोध खोजगर्दा एक वडा अध्यक्षले प्रहरीसँगै निहुखोज्न थालेपछि उनलाई समेत नियन्त्रणमा लिई प्रहरी भ्यानमा हालेर लगेको एक प्रत्यक्ष दर्शीले जनाए। प्रहरीले पनि प्रहरीसँग झगडा गर्नलागेकाले उनलाई कार्यालयमा ल्याएर सम्झाई बुझाई गरी छोडेको इलाका प्रहरी कार्यालय गोलबजारका इन्सपेक्टर गोविन्दप्रसाद साहले जानकारी दिए।
उनले ति व्यक्तिको परिचय भने खुलान चाहेनन्। पक्राउ परेका ति व्यक्ति सिरहा नगरपालिका ५ का वडा अध्यक्ष जागेश्वर यादव रहेको प्रत्यक्ष दर्शिले जनाएको छ। उनीसँगै रहेका वडा नम्वर ४ का वडा अध्यक्ष मो. शमशाद भने प्रहरीलाई देखेपछि मदिरा पसलबाट ओझेल भएका थिए।
राजनितिक दवावमा केहीसमय पछि दुवै मोटरसाइकल र वडा अध्यक्ष यादवलाई छोडीएको थियो। मदिराले मातेका वडा अध्यक्ष आफैले मोटरसाइकल चलाउने अवस्था नरहेकाले उनका आफन्तलाई मोटरसाइकल जिम्मा दिएको प्रहरीको भनाई छ।
यस विषयमा जिल्ला प्रहरी कार्यालय, सिरहाका प्रमुख एसपी अनन्तराम शर्माले भने, गाडी नियन्त्रणमा लिएकोबाहेक मलाई अरु विवरण जानकारी नभएको बताए। उनले भने, ‘व्यक्ति पक्राउ गरिएको हो वा मैले पनि बुझ्नै पर्छ। तत्काल गाडी नियन्त्रणमा लिएको भन्ने सम्म मैले सूचना पाएको छु।’
उक्त पसलमा मदिरा बेचविखनसँगै अवैध यौनधन्दा हुनेगरेको स्थानीयको आरोप छ।