सिरहा, २६ बैशाख। वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय वीरगञ्ज तथा इलाका प्रशासन कार्यालय लहान, सिरहाको अगुवाईमा विहिवार गरिएको संयुक्त बजार अनुगमनका क्रममा अधिकांश पसलको व्यवसाय दर्ता नगरिएको, दर्ता भएका व्यवसायको नवीकरण नभएको, खरिदबिक्रिको बिलबिजक नभएको तथा मूल्यसूची नराखिएको भेटिएको छ।

mount school

अनुगमन टोलीले यस्ता पसलहरुलाई जरिवाना तोकेको छ। जसमा, अनिता जनरल स्टोर्सलाई २० हजार, समाया ट्रेडर्सलाई १५ हजार, श्याम इलेक्ट्रोललाई १० हजार रुपैयाँ र मा इन्टर प्राइजेजलाई ५ हजार रुपैयाँ जरिवाना तोकेको हो। 

त्यस्तै, महावीर वस्त्रालय, बाबा फेन्सी स्टोर्स, नितिस ट्रेडर्स एण्ड सप्लायर्स, विवेक शु सेन्टर, प्रिया जनरल स्टोर्स, ओम किराना, हरे कृष्ण इम्पेरियन र अर्चिड क्याफेलाई पहिलोपटकलाई सामान्य चेतावनीसहित सचेतीकरण गरिएको छ। इलाका प्रशासन कार्यालय लहानका प्रमुख गोकर्ण राज सुयाँँलका अनुसार यी पसलका सञ्चालकहरुलाई तीन दिनभित्र पसलमा मूल्यसूची राख्न र आवश्यक कागजात इलाका प्रशासन कार्यालयमा बुझाउन निर्देशन दिइएको छ। यदि व्यवसायीले अटेर गरे कानून बमोजिम कार्वाही गरिने प्रमुख सुयाँलले बताए। 

यसैगरी वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय पर्सा, वीरगञ्जका प्रतिनिधि मधुरेश प्रसाद साहले पहिलो पटक भएको बजार अनुगमनमा अखाद्य वस्तु बिक्री गर्नेलाई सचेत गराइएको र दोश्रो चरणको अनुगमनदेखि अखाद्य वस्तु बिक्री गर्ने व्यवसायीलाई कानुन बमोजिम कारबाही गरिने स्पष्ट पारे। त्यस्तै, उनले इजाजत पत्र लिएर मात्र सुर्तीजन्य पदार्थ तथा मदिरा विक्री वितरण गर्न व्यवसायीलाई  निर्देशन सुझाव दिए। 

अनुगमन टोलीमा वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय वीरगञ्ज र इलाका प्रशासन कार्यालय लहानका साथमा घरेलु तथा साना उद्योग कार्यालय सिरहा लहान, जिल्ला उद्योग वाणिज्य संघ सिरहा लहान, शसस्त्र प्रहरीका प्रतिनिधि सम्मलित रहेका थिए। 

सरकारले निर्धारण गरेको नीति नियम व्यवसायिले पूर्णरुपमा पालना गर्नुपर्ने भन्दै जिल्ला उद्योग वाणिज्य संघ सिरहा लहानका अध्यक्ष विकास सारडाले आगामी दिनमा व्यवसाय सञ्चालनको लागि व्यवसायिलाई स्थायी लेखा नम्बर दर्ता प्रमाण पत्र, घरेलु तथा साना उद्योग कार्यालयको दर्ता प्रमाणपत्र, नापतौल प्रमाणपत्र, आन्तरिक राजश्व कार्यालयको दर्ता प्रमाणपत्र तथा खरिदबिक्रीको बिल जस्ता कुराहरु साथमा अनिवार्य राख्न र नविकरण गर्न आग्रह गरे।