जनकपुरधाम, २५ बैशाख। सामाजिक सञ्जालको दुरूपयोग गरी ठगी गरेको अभियोगमा धनुषा प्रहरीले ७ जनालाई पक्राउ गरेको छ। प्रहरीले धनुषाधाम नगरपालिका १ का २३ वर्षीय सुरज साह, क्षिरेश्वरनाथ नगरपालिका २ का २२ वर्षीय श्याम सुन्दर महरा, सोही नगरपालिका १ का २० वर्षीय राम कुमार महरा, सर्लाही बरहथवा नगरपालिका ७ का २२ वर्षीय नितेश कुमार साह, महोत्तरी गौशाला नगरपालिका १ का २२ वर्षीय रोशन साह, २१ वर्षीय सुधिर कुमार महतो र वडा नम्वर २ का १९ वर्षीय अमित साहलाई नियन्त्रणमा लिएका छन्।
इन्स्टाग्राम, टिकटक, फेसबुक लगायतका सामाजिक सञ्जाल मार्फत सर्वसाधारण नागरिकहरूलाई अनलाइन माध्यमबाट विभिन्न किसिमका मोबाइल तथा लत्ताकपडाहरू लगायतका सरसामानहरू सस्तोमा दिने भनि विश्वासमा पारी ठगी गरिरहेको प्रहरीले जनाएको छ। पीडितहरुको उजुरीको आधारमा जिल्ला प्रहरी कार्यालय धनुषाबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो।
उनीहरूले हाल सम्म २१ वटा सामाजिक सञ्जाल एकाउन्ट तथा पेजहरूको प्रयोग गरी ठगी गरेको अनुसन्धानको क्रममा खुलेको प्रहरीको भनाई छ। ‘सामाजिक सञ्जालमा पोष्ट गरिएका सामानहरूको फोटो तथा भिडियोहरूबाट सर्वसाधारण नागरिकले सामानहरू खरिद गर्ने भनि सम्पर्क गर्दा अग्रिम भुक्तानी लिने, सर्वसाधारण नागरिकको नाममा बैंक, वित्तिय संस्था तथा वालेटहरूमा खाता खोल्न लगाई सोही खाताहरूमा अनलाइन माध्यमबाट रकम पठाउन लगाएको प्रारम्भिक अनुसन्धानको क्रममा खुल्न आएको;’ प्रहरीको भनाई रहेको छ।
उनीहरूको साथबाट बरामद मोबाइलमा विभिन्न बैंक वित्तिय संस्था तथा वालेट आईडि समेत गरी १ सय ८७ वटा खाताहरूको विवरण फेला परेको प्रहरीले बताए। प्रहरीका अनुसार खाताहरूबाट हाल सम्म २ करोड ६३ लाख ९३ हजार १ सय ९१ रूपैयाँ ८ पैसा कारोबार भएको अनुसन्धानको क्रममा खुल्न आएको छ।
पक्राउ परेकाहरुविरुद्ध ठगी कसूरमा जिल्ला अदालत धनुषाबाट म्याद थप गरी आवश्यक अनुसन्धान गरिरहेको छ।