रामनारायण ठाकुर
मिर्चैया, २४ बैशाख। सिरहाको मिर्चैयास्थित एक हार्ड वेयर पसलमा आगलागी हुँदा लाखौं रुपैयाँको क्षति भएको छ। मिर्चैया नगरपालिका ६ कटारी चौकदेखि केही पूर्व रहेको जय भवानी ट्रेडर्स हार्डवेयर पसलमा मङ्गलबार राति भीषण आगलागी हुँदा २५ लाखभन्दा बढी मूल्यको धनमाल जलेर नष्ट भएको हो।
विद्युतको तार सर्ट भएर आगो आगलागी भएको हुन सक्ने इलाका प्रहरी कार्यालय मिर्चैयाले जनाएको छ। आगलागीबाट उपकरणहरुसहित २५ लाख मूल्यबराबरको क्षति भएको पसलका सञ्चालक रञ्जित कुमार साहलाई उद्धरित गर्दै प्रहरीले जानकारी दिए। प्रहरीले भने, ‘हामी आगलागीबाट क्षति भएको विवरण संकलन गर्दैछौं, तर, सञ्चालक साहलेभने २५ लाखको क्षति भएको बताएको छ।’
आगलागीका कारण पसलमा रहेका अधिकांश सामग्री काम नलाग्ने भएको सञ्चालकसाहले बताए।
स्थानीय बासिन्दा र प्रत्यक्षदर्शीहरूका अनुसार मिर्चैयामा दैनिकजसो विद्युत् छिनछिनमै जाने र आउने गर्दा भोल्टेजमा उतारचढाव भएर तारमा स्पार्क भई आगलागी भएको हुनसक्ने बताउँछन्।
मिर्चैया नगरपालिकाको बारूण यन्त्र, स्थानीय बासी तथा सुरक्षाकर्मीहरूको सक्रियतामा आगो नियन्त्रणमा लिइएको थियो।