अनबरसन एथिराजन

दक्षिण एशिया सम्पादक, बीबीसी विश्व सेवा

परमाणुअस्त्र भएका दुई देश भारत र पाकिस्तानबीच तनाव नाटकीय रूपमा चुलिएको छ।

दुई हप्ताअघि पहलगाममा भएको घातक हमलापछि भारतले कुनै न कुनै प्रकारको सैन्य कारबाही गर्ने अनुमान गरिएको थियो। तर भारतले पाकिस्तानी भूमिभित्र गरेको ठूलो आकारको क्षेप्यास्त्र आक्रमणका कारण धेरै मानिस चकित परेका छन्।

भारतले आफूले निसाना बनाएका केही स्थानहरूको सम्बन्ध चरमपन्थी लडाकुहरूसँग भएको भन्दै पाकिस्तानी सैन्य स्थलहरूलाई लक्ष्य नबनाएको दाबी गरेको छ।

पाकिस्तानले प्रतिकार गर्ने उद्घोष गरेको छ। उसको जबाफको प्रकृति र निसाना हेरेर दिल्लीले त्यसपछि गर्ने कारबाही निर्धारित हुने छ।

दुवै देश आफू तनाव मत्थर पार्न सक्षम रहेको ठान्छन्। तर अहिले तनाव निकै चुलिएको छ अनि सैन्य द्वन्द्वले कस्तो दिशा लिन्छ भन्ने भन्न निकै कठिन छ।

विगतमा संयुक्त राज्य अमेरिका र अरू देशले भारत र पाकिस्तानलाई शान्त बनाउन भूमिका निर्वाह गरेका थिए।

अहिले विश्वमा विद्यमान अन्य विषयवस्तुतिर ट्रम्प प्रशासनको ध्यान केन्द्रित भएकाले भारत र पाकिस्तानबीचको तनाव मत्थर पार्न वाशिङ्टन कहिले अघि सर्छ भन्ने हेर्न बाँकी नै छ।

भारत र पाकिस्तान दुवै देशका नेताहरू आफ्ना जनतालाई आफूले निर्णायक कारबाही गरेको र विजय हात पारेको देखाउन चाहन्छन्।

उनीहरूले ठूलो जुवा खेलेका छन्।