रौतहट २१ बैशाख। रौतहटमा कारले मोटरसाईकलमा सवार ठक्कर दिँदा मोटरसाईकलमा सवार बाबु छोरीको मृत्यु भएको छ। पूर्व पश्चिम महेन्द्र राजमार्ग अन्तर्गत रौतहटको चन्द्रपुर नगरपालिका ४ लच्का नजिक बा ६ च ३५२६ नम्बरको कारले ना ३ प ९५१२ नम्बरको मोटरसाइकल आज बिहान ठक्कर दिंदा गरुडा नगरपालिका ३ मलाहिटोलका वर्ष ६० को बलिराम सहनि र उनकी ४० वर्षिय छोरी उर्मिला देवी सहनीको ज्यान गएको हो।
हेटौडाबाट चन्द्रपुरतर्फ आउदै गरेको कारले निजगढ तर्फ जादै गरेको ना ३ प ९५१२ नम्बरको मोटरसाइकल ठक्कर दिंदा घाइते बाबु छोरीको उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी रौतहटका सूचना अधिकारी डिएसपी दीपक कुमार रायले जानकारी दिए।
दुर्घटनामा परी बलिराम सहनिको दाहिने खुट्टा, ढाड र अन्डकोषमा चोट लागेर गम्भिर घाइते भएका थिए। स्थानीय अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीको भनाई छ।
त्यस्तै मोटरसाईकलमा पछाडी सवार उर्मिला देवी सहनीको दाहिने हात र ढाडमा गम्भीर चोट लागेको थियो। उर्मिलालाई स्थानिय अस्पतालमा सामान्य उपचारपछि थप उपचारको लागि बारा तर्फ पठाएकोमा उपचारको क्रममा बिहान ९ बजे डक्टरले मृत घोषणा गरेको प्रहरीले जनाएको छ।
ठक्कर दिने कार र चालक हेटौडा उप महानगरपालिका १२ का ४३ वर्षिय कुमार पोख्रेल ईलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरको नियन्त्रणमा रहेको छ। घटनाका सम्वन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।